१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

मन्त्री निवासलाई खेलाडी आवास बनाउने प्रस्ताव

पुल्चोकस्थित हरिहर भवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्ने गरी प्रस्ताव गरिने भएको छ।नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले हरिहर भवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको हो।

राखेप कार्यकारी समितिका संयोजक समेत रहेका राखेपका सदस्यसचिव टंकलाल घिसिडको अध्यक्षतामा बसेको बैठकले सो प्रस्ताव गर्ने निर्णय गरेको छ । 

खेलाडीका प्रशिक्षणलाई प्रभावकारी बनाउने उद्देश्यसहित राखेपले सो प्रस्ताव राख्न लागेको जनाएको छ।हरिहर भवनस्थित मन्त्री निवास ललितपुरको भैंसेपाटीमा निर्मित भवनमा स्थानान्तरण पश्चात् उक्त योजना कार्यान्वयनका लागि राखेपले सरकार समक्ष आग्रह गर्ने भएको छ ।  

नेपालमा हुने अन्तर्राष्ट्रिय तथा नेपालले सहभागिता जनाउने विभिन्न प्रतियोगिताहरूका क्रममा खेलाडीको बन्द प्रशिक्षणका लागि होटल तथा बसोवास खर्चवापत राज्यको ठूलो धनराशि खर्च हुने गरेको छ । सो किसिमका बाध्यात्मक अवस्थाको अन्त्य गर्न यो ऐतिहासिक उक्त प्रस्ताव गर्न लागिएको सदस्यसचिव घिसिङले बताए । ‘अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी प्रशिक्षणका लागि राज्यको ठूलो धनराशि खर्च हुने गरेको छ । खेलाडीलाई कम खर्चमा गुणस्तरीय प्रशिक्षण सञ्चालन गर्दै राम्रो नतिजा हासिल गर्न पनि सहयोग पुग्छ । त्यसैले मन्त्री निवासलाई खेलाडी आवासमा विकास गर्न प्रस्ताव गरेका हौं,’सदस्यसचिव घिसिङले भने ।

उनले यसअघिका १९औं एसियाली खेलकुद र १३औं दक्षिण एसियाली खेलकुदमा सहभागी हुने क्रममा आवासमा ठूलो खर्च भएको समेत उल्लेख गरे । ‘१९औं एसियाली खेलकुदको प्रशिक्षणका लागि सात महिनामा १२ करोड ३८ लाख खर्च भयो । १३आंै दक्षिण एसियाली खेलकुदको तयारीका लागि सात महिनाकै अवधिमा ४३ करोड खर्च भएको थियो । यो राज्यका लागि ठूलै भार हो,’घिसिङले भने,‘यसलाई कम गर्न सकिन्छ । त्यसैले हालको मन्त्री निवासलाई खेलाडी आवासका रुपमा विकास गर्न सके राज्य, खेलाडी र समग्र खेल क्षेत्रलाई फाइदा हुन्छ ।’

मन्त्री निवासलाई खेलाडी आवासमा विकास गर्न सके विभिन्न खेलका खेलाडीको बन्द प्रशिक्षणका समय सबैलाई एउटै होटलमा राख्न सकिने पनि घिसिङले बताए । खेलाडी तथा प्रशिक्षकहरूलाई समानस्तरको बसोवास तथा खानपानको व्यवस्थासहित आवासको व्यवस्था गर्न सके नतिजा पनि राम्रो आउने पनि राखेप सदस्यसचिव घिसिङको विश्वास छ ।  

सदस्य–सचिव घिसिङले राखेपको यो प्रस्ताव मन्त्री परिषद्बाट पारित भयो भने खेलप्रेमीका साथै आम जनमानसमा राज्यले खेलाडीलाई उच्च प्राथमिकता दिएको सन्देश जाने र खेलाडी पनि उत्साहित हुने विश्वास व्यक्त गरे।

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले राखेपको कार्यकारी समितिको प्रस्तावलाई तदारुकता साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भएको सदस्य–सचिव घिसिङले जानकारी दिए।

प्रकाशित: १९ पुस २०८० १०:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App