१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

मेयर रनिङ सिल्डमा त्रियुगाको वर्चश्व

प्रतियोगिता विजेतालाई रनिङ सिल्ड प्रदान गर्दै मेयर बस्नते र अध्यक्ष दनुवार। तस्बिर: नागरिक।

त्रियुगा नगरपालिकाद्वारा आयोजित ‘दोस्रो त्रियुगा अन्तर विद्यालय स्तरीय मेयर रनिङ सिल्ड प्रतियोगिता ०८०’ मा त्रियुगा नमूना मावि गाईघाटले वर्चश्व कायम गरेको छ।

गत बुधबार देखी शनिबारसम्म सञ्चालित प्रतियोगितामा एथ्लेटिक्सतर्फ ८ इभेन्टसहित भलिबलतर्फ पुरुष, महिला दुवै र कबड्डीमा महिलातर्फ जित निकाल्दै त्रियुगाले ३ सय १५ अंक कायम गरी प्रथम स्थान हासिल गर्न सफल भएको हो।

१ सय ५ अंक बटुलेर रामजानकी मावि मोतिगडा दोस्रो भएको छ। रामनाजकीले कबड्डीमा प्रथम, र एथ्लेटिक्समा ४ इभेन्टमा प्रथम र भलिबलतर्फ दुवै टिममा दोस्रो हुँदै उपविजेता बन्न पुगेको आयोजक त्रियुगा नगर खेलकुद विकास समितिका अध्यक्ष विजयसिंह दनुवारले बताए।

उनका अनुसार प्याराडाईज मावि गाईघाट ८३ अंक ल्याएर तेस्रो भएको छ। प्याराडाईजले एथ्लेटिक्समा ५ हजार र १५ सय मिटर दौडमा पहिलो जित निकालेको छ भने अन्यमा मिश्रित जित हासिल गरेको छ।

त्रियुगा नगरपालिका १३ हवाईफिल्डस्थित थरुहट उदयपुर रंगशालामा आयोजित प्रतियोगितामा भलिबलमा महिलातर्फ ११ विद्यालय र पुरुषतर्फ १४ विद्यालयको सहभागिता थियो।

नगरपालिकाका १६ वटै वडाका ० देखि १२ कक्षासम्म सञ्चालित सामुदायिक तथा संस्थागत (निजी) गरी ३२ विद्यालयका छात्रछात्राको सहभागिता रहेको प्रतियोगितामा कराँते, तेक्वान्दो, कबड्डी र एथ्लेटिक्स गरी ५ विद्यामा स्पर्धा गराइएको थियो। जसमा सामुदायिक विद्यालयहरुले वर्चश्व कायम गरेका छन्।

एथ्लेटिक्सतर्फ ५ हजार मिटर, १५ सय, ८ सय, ४ सय मिटर, २ सय र १ समय मिटर दौडमा परुष महिला दुवैतर्फ प्रतिस्पर्धा गराइएको थियो। त्यसैगरी एथ्लेटिक्समै सटफुट, हाईजम्प, लङजम्प, ज्यावलिङथ्रोमा स्पर्धा गराइएको नगरपालिकाकी स्थानीय शिक्षा अधिकारी शिवकुमार राउतले बताइन्। उनका अनुसार १६ वटै वडाका माध्यमिक स्तरमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगितामा कुनै न कुनै पुरस्कार सबैलाई प्राप्त भएको छ।

विभिन्न ५ विद्या भए पनि धेरै वटा इभेन्टका खेल स्पर्धा गराइएकाले सबै विद्यालयले कुनै न कुनै स्थान लिन पाएको उनको भनाई छ। विद्यार्थीहरुलाई अतिरिक्तक्रियाकलाप मार्फत बाहिरी ज्ञान दिलाउने उद्देश्य तथा स्वास्थ्य स्फूर्ति र अनुशासनका लागि खेलकुद अनिवार्य भएको महसुस गर्दै नगरपालिकाले वर्षेनी मेयर रनिङसिल्ड प्रतियोगिता आयोजना गर्दै आएको स्थाशिअ राउतको भनाई छ। उनका अनुसार विजेता विद्यालयले प्रदेशस्तरीय रनिङ सिल्ड प्रतियोगितामा भाग लिन पाउनेछ।

यस वर्षको सिल्ड विजेता त्रियुगा नमूना माविको यो दोस्रो जित हो। गत वर्ष पनि सिल्डसहित बहुबिधामा जितेर प्रथम भएको त्रियुगाले आगामी वर्ष जित निकाले सिल्ड पच गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पाण्डेले बताए। 

अध्यक्षले सामुदायिक विद्यालयहरु कुनै कुरामा कमजोर छैनन् भन्ने कुराको प्रमाणित गरेर देखाउन त्रियुगा मावि सफल भएको बताए। ‘हामीले गत वर्षको रनिङ सिल्ड पनि जितेका थियौँ, यसपालि पनि भारी अन्तरले जित्यौँ’ अध्यक्ष पाण्डेले भने ‘यसले सामुदायिक विद्यालयहरु कुनै कुरामा कमजोर छैनन् भन्ने त्रियुगा नमूना माविले साबित गर्दै आएको छ।’

त्रियुगा माविका प्रधानाध्यापक सुभाष विष्टले एथ्लेटिक्समा ३ महिलासहित ८ जना विद्यार्थी, भलिबलतर्फ महिला पुरुष दुवै टिम र कबड्डीमा महिला टिम प्रथम हुँदै ३ सय १५ अंक प्राप्त गरेर सिल्ड जित्न सफल भएको बताए। 

उनका अनुसार १५ सय मिटरमा यमुना परियार, ४ सय मिटर रिले दौडमा सरोज खत्री, र ४ सय मिटर फाइनलमा सन्तोष राई, ४ सय मिटर महिला रिलेमा चुधमाया बस्नेत र २ सय मिटर फाइनलमा अनिश चौधरी प्रथम भएका छन्। त्यसैगरी हाईजम्पमा सुजन तामाङ र लङजम्पमा अनिश चौधरी प्रथम हुँदा त्रिपलजम्पमा जानुका श्रेष्ठ प्रथम भएकी छिन्।

शनिबार नै आयोजित समापन समारोहमा त्रियुगा नगरप्रमुख बसन्त बस्नेत र उपप्रमुख महेश्वरी राई र खेलकुद विकास समिति अध्यक्ष विजयसिंह दनुवारले विजेता विद्यालय र खेलाडीहरुलाई सिल्ड, पुरस्कार तथा प्रमाणपत्र वितरण गरे। सो क्रममा बोल्दै उनीहरुले त्रियुगा नगरपालिकाले राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका खेलाडी जन्माउने उद्देश्यसहित खेलकुद गतिविधिलाई तीव्रता दिँदै आएको बताए। 

युवाहरूलाई स्वास्थ्य, अनुशासित, गतिशील र सही मार्गनिर्देश गर्ने भएकाले खेलकुद विकासमा नगरपालिका, जनप्रतिनिधि र समिति पदाधिकारी सधैँ लागिरहने प्रतिबद्धता जनाउँदै उनीहरुले रनिङ सिल्डबाहेक थुप्रै खेलकुद गतिविधि गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाए।

प्रकाशित: १६ पुस २०८० ०८:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App