२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ललितपुर सिटी फाइनलमा

ललितपुरका गोलकिपर जेफ्रि विलिमार्सल बल पन्च गर्ने प्रयास गर्दै। तस्बिर : एनएसएल

करिब ९० मिनेट एक खेलाडीबिना खेलेको ललितपुर सिटी बिहीबार पोखरा थन्डर्समाथि २-१ को जित निकाल्दै नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनको फाइनलमा पुगेको छ।

दशरथ रंगशालामा भएको दोस्रो क्वालिफायरमा खेलको ३४औं मिनेटमा ललितपुर सिटीका मिडफिल्डर निखिल कदमले रातो कार्ड बेहोरे। त्यसपछि ललितपुर सिटीले निर्धारित र अतिरिक्त समय गरी करिब ९० मिनेट नै एक खेलाडीबिना खेल्यो।

तर, १७ वर्षे कुशल देउवाको निर्णायक गोल प्रेरणामा ललितपुर सिटीले अतिरिक्त समयमार्पmत पोखरा थन्डर्समाथि साहसिक जित निकाल्दै उपाधि भिडन्त तय गर्‍यो। अब ललितपुर सिटीले शनिबार धनगढी एफसीसँग उपाधि भिडन्त तय गर्नेछ।

सुरुदेखि नै पोखरा थन्डर्सले आशातीत प्रदर्शन गर्न सकेन र लगातार दोस्रो पटक १२० मिनेट खेल्दै नतिजा सुम्पियो। लिगको शीर्ष स्थानमा रहँदै प्लेअफ खेलेको पोखरा थन्डर्स पहिलो क्वालिफायरमा पनि धनगढी एफसीसँग १२० मिनेटसम्म खेल्दा पेनाल्टी सुटआउटमा ४-३ को हार बेहोर्दै फाइनलमा पुग्न चुकेको थियो।

तीन पटकको अग्रता जोगाउन नसक्दा धनगढीसँग स्तब्ध पोखरा थन्डर्सले दोस्रो अवसर पनि खेर फाल्यो। हारपछि पोखरा थन्डर्सका प्रशिक्षक नवीन न्यौपानेले जारी सिजनकै खराब प्रदर्शन गर्दा हार बेहोर्नुपरेको धारणा राखे।

‘फाइनल पुग्नुपर्छ भन्ने खेलाडीमा भावना नै देखिएन। कुनै समयमा पनि हामीले आफ्नो खेल खेल्न सकेनौं। यस सिजनकै खराब प्रदर्शन गर्‍यौं,’ प्रशिक्षक न्यौपानले भने, ‘दिएका जिम्मेवारीअनुरूप कसैले पनि खेलेनन्। आज ललितपुर सिटी जितको हकदार थियो।’

यता, ललितपुर सिटीका प्रशिक्षक इयान गिलानले आफ्ना खेलाडीले धेरै मिहिनेत गरेको उल्लेख गर्दै युवा खेलाडीले पनि उत्तिकै साथ दिएपछि जित सम्भव भएको बताए। ललितपुर सिटीको जितमा इमोन इजिकेल र कुशल देउबाले गोल गरे। स्टेफन कोजो पापाको गोलबाट पोखरा थन्डर्स खेलमा फर्किए पनि त्यसलाई सदुपयोग गर्न सकेन।

त्यसअघि खेलको चौथो मिनेटमा नै पोखरा थन्डर्सले फ्रिकिकमार्पmत अवसर बनायो। तर, सुरजज्यू ठकुरीको फ्रिकिक बललाई मोसेस ग्याबा तुमले पोस्टको दिशा दिन सकेनन्। आठौं मिनेटमा ललितपुर सिटीका निखिल कमदको सट पोखरा थन्डर्सका गोलकिपर प्रिसोले सहजै नियन्त्रणमा लिए। १४औं मिनेटमा लतिलपुर सिटीका दिनेश हेन्जनले आदित्य शाक्यसँग वान टु वान पास खेल्दै पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार गोलकिपर प्रिसो सफल हुन दिएनन्।

पोखरा थन्डर्सका सुरजको कर्नर बललाई मोसेसले सही दिशामा राख्न सकेनन्। ३३औं मिनेटमा निखिलले दोस्रो पहेँलो कार्ड सामना गरेपछि ललितपुर सिटी एक खेलाडीबिना नै खेल्न बाध्य भयो। पोखरा थन्डर्सका आयुष घलानमाथि खराब ट्याकल गरेपछि निखिलले १० मिनेटको अन्तरमा दोस्रो पहेँलो कार्ड सामना गरेका हुन्।

यद्यपि, ४५औं मिनेटमा ललितपुर सिटीले इजिकेलको गोलबाट अग्रता लियो। पापा केबेले आफ्नो पेनाल्टी बक्सनजिकबाट दिएको पास नियन्त्रणमा लिँदै इजिकेलले पोखराका डिफेन्डर दिनेश राजवंशी र फ्रान्कलिन टेल्लाको बीचबाट गोल गरेका हुन्।

त्यससँगै पहिलो हाफमा ललितपुर सिटी १-० ले अगाडि रह्यो। ५२औं मिनेटमा पोखरा थन्डर्सका जोए आइडुको लामो प्रहार ललितपुर सिटीका गोलकिपर जेफ्री विलीका लागि चुनौती बनेन। दुई मिनेटपछि नै बक्सबाहिरबाट पोखराका आयुषको सट पोस्टको दिशामा रहन सकेन।

पोखराका कप्तान दिनेशले ६२औं मिनेटमा पहिलो कर्नर च्याप्दै गरेको फ्रिकिक जेफ्रीले नियन्त्रणमा लिए। तर, ७१औं मिनेटमा स्टेफनको गोलबाट पोखरा खेलमा फर्कियो। आइडुले दिएको पासलाई पापाको हेडर पोलमा ठोकिएर गोलमा परिणत भयो।

ललितपुर सिटीका कप्तान अनन्त तामाङले ८७औं मिनेटमा गरेको हेडर पोस्टको दिशा लिन सकेन। इन्जुरी समयमा ललितपुर सिटीका नीरज चौधरीले गोल गर्ने सुन्दर अवसर खेर फाले र निर्धारित समयमा १-१ को बराबरीपछि खेल अतिरिक्त समयतर्पm धकेलियो।

तर, ९९औं मिनेटमा १७ वर्षे मिडफिल्डर कुशलको गोलबाट ललितपुर सिटीले अग्रता लियो। ओमोलजा करिमले करिब मध्यभागबाट गरेको फ्रिकिकमा कप्तान अनन्तको हेडर बल पोखराका नरेन्द्र चौधरीले क्लियर नगरेपछि कुशलले वान टच गोल गरेका हुन्।

१०६औं मिनेटमा पोखरा थन्डर्सका फ्रान्कलिन सहज गोल गर्न चुके। ललितपुरका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई अनमार्क टेल्लाले करिब ९ यार्डबाट गरेको सट अकासियो। अतिरिक्त समयको पहिलो हाफमा ललितपुर सिटी २-१ ले अगाडि रह्यो।

दोस्रो हाफमा पनि पोखरा थन्डर्सले गोल फर्काउन सकेन र फाइनल पुग्ने लक्ष्य यस पटक पनि अधुरै रह्यो। अन्तिम समय पोखरा थन्डर्सले लगातार आक्रमण बुने पनि सफल भएन।

प्रकाशित: १३ पुस २०८० ००:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App