१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

पेनाल्टी सुटआउटबाट धनगढी फाइनलमा

नेपाल सुपर लिग

अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गरेपछि धनगढीका लेबनानी स्ट्राइकर अहमद हिजाजी (दायाँबाट तेस्रो)। तस्बिर: एनएसएल

तीन पटकसम्म पछि परेको स्थिति उल्ट्याउँदै धनगढी एफसी सोमबार पेनाल्टी सुटआउटमा पोखरा थन्डर्सलाई ४–३ ले स्तब्ध बनाउँदै लगातार दोस्रो सिजन नेपाल सुपर लिग(एनएसएल) को फाइनलमा स्थान बनाउन सफल भएको छ।

रोमाञ्चक पहिलो क्वालिफायरमा सोमबार दशरथ रंगशालामा पोखरा थन्डर्सले निर्धारित, अतिरिक्त समय र पेनाल्टी सुटआउट गरी तीन पटकसम्म अग्रता लिए पनि जोगाउन सकेन। धनगढीले उत्कृष्ट पुनरागमन गर्दै लगातार दोस्रोपल्ट उपाधि भिडन्त तय गर्‍यो।

पोखरा थन्डर्सले लिगमा शीर्ष स्थान बनाउँदै पहिलो क्वालिफायर खेल्दा मार्की आयुष घलान र विदेशी खेलाडी मोसेस ग्याबा तुमको प्रदर्शन यादगार रहँदै आएको छ।

तर, पेनाल्टी सुटआउटमा दुवै असफल हुँदा पोखरा थन्डर्सको सोमबार फाइनल पुग्ने लक्ष्य पूरा हुन सकेन। निर्धारित समयमा १–१ को बराबरी भयो।

अतिरिक्त समयमा पनि दुवैतर्पmबाट समान एक गोल थपिँदै खेल पेनाल्टी सुटआउटमा धकेलियो। पेनाल्टी सुटआउटमा धनगढी र पोखरा थन्डर्स दुवैका खेलाडीले पहिलो दुई प्रहारमा सफलता पाए।

धनगढीका रिचर्ड अग्येमेङ र फोडे फोफाना गोल गरे। यता, पोखरा थन्डर्सका कप्तान दिनेश राजवंशी र अन्जल महर्जनले पनि सफलता पाए। तर, तेस्रो पेनाल्टी हान्न आएका लेबनानी स्ट्राइकर अहमद हिजाजीको सट भने पोखरा थन्डर्सका गोलकिपर प्रिसोले रोके।

अतिरिक्त समयको अन्तिम मिनेटमा हिजाजीकै गोलबाट धनगढीले खेललाई पेनाल्टी सुटआउटतर्फ धकेलेका हो।

त्यसपछि सुरजज्यू ठकुरीले गोल गरे। त्यससँगै पोखरा थन्डर्सले तेस्रो पटक अग्रता लियो। धनगढीको चौथो पेनाल्टीमा आशिष चौधरी सफल भए। पोखराको चौथो पेनाल्टी मोसेसको प्रहार धनगढीका गोलकिपर मोहम्मद ताहाले रोक्दै आफ्नो टोलीको सम्भावना जीवन्त राखे।

धनगढीको पाँचौं प्रहारमा कप्तान देवेन्द्र तामाङले सफलता पाए। त्यससँगै पोखरा थन्डर्सलाई जितका लागि आयुषको सफलताको प्रतीक्षा थियो। तर, उनको फितलो प्रहार ताहाले सहजै नियन्त्रणमा लिए र धनगढीलाई फाइनल यात्रा तय गराए। उनी म्यान अफ दी म्याच पनि चयन भए।

हारपछि पोखरा थन्डर्सका प्रशिक्षक नवीन न्यौपानेले पाएका अवसर सदुपयोग गर्न नसक्नु र ससाना गल्तीका कारण हार सामना गर्नुपरेको बताए।

‘अग्रता जोगाउन सकेनौं। ससाना गल्ती पनि भयो र अवसरमा पनि गोल गर्न नसक्दा हार बेहोर्नुपर्‍यो। मेरा खेलाडीले अन्तिम समयमा धैर्यता राख्न पनि सकेनन्,’ प्रशिक्षक नवीनले भने,‘पटकपटक अग्रता जोगिन नसक्दा हामी अभागी पनि देखियौं। स्तरीय खेलाडीले पेनाल्टीमा गोल गर्न सकेनन्।’

प्रशिक्षक नवीनले रिकभरको अपर्याप्त समयका कारण अबको खेल केही कठिन हुने पनि बताए।

यता, धनगढीका प्रशिक्षक युगलकिशोर राईले भने यो प्रतिस्पर्धालाई अहिलेसम्मकै उत्कृष्ट खेलका रूपमा बयान गरे। ‘यो सिजनकै उत्कृष्ट खेल भन्छु। दुवै टोलीलाई खेल्न कठिन थियो। फुटबलमा कमब्याक गर्न गाह्रो हुन्छ।

तर, हाम्रा खेलाडीले अन्तिमसम्म मिहिनेत गरेर जित दिलाए,’ युगलकिशोरले भने, ‘गत सिजन नै टिम व्यवस्थापकले उपाधि जित्ने लक्ष्य राख्नुभएको थियो। यस पटक त्यो प्रयास गर्छौं।’

त्यसअघि पोखरा थन्डर्सले खेलको पाँचौं मिनेटमा नै आयुषकै गोलबाट अग्रता लिएका हो। मोसेसले लेफ्ट साइडबाट दिएको क्रस बललाई धनगढीका आशिषले क्लियर गर्न नसक्दा आयुषले वान टच गोल गरेका थिए।

तीन मिनेटपछि नै पोखरा थन्डर्सको उत्कृष्ट अवसरमा धनगढीका गोलकिपर मोहम्मद ताहाले उत्कृष्ट बचाउ गरे। आयुषकै काउन्टर अट्याक मुभमा दीपेश आलेमगरको सट ताहाले रोकेका हुन्। स्टेफन कोजो पापाले १९औं मिनेटमा पोखरा थन्डर्सको अग्रता दोब्बर बनाउने अवसर गुमाए।

धनगढीको २४औं मिनेटमा खेलमा फर्कने प्रयास असफल रह्यो। गोलकिपर प्रिसो बिट भैसकेको अवस्थामा धनगढीका हिजाजीको हेडर पोखरा थन्डर्सका डिफेन्डर नरेन्द्र चौधरीले रोकिदिए। पोखराका जोए आइडुले ३१औं मिनेटमा गरेको फ्रिकिक धनगढीका गोलकिपर ताहाले मुस्किलले बचाए।

पहिलो हाफमा थप गोल हुन सकेन र पोखरा थन्डर्सले १–० को अग्रता लियो। ४७औं मिनेटमा कमल श्रेष्ठको कर्नर प्रहारमा अग्येमेङको पहिलो सट माथिल्लो बारमा लागेर फर्कियो। लगत्तै अफिज ओलावालेको फितलो हेडर पोखराका गोलकिपर प्रिसोले सहजै नियन्त्रणमा लिए। तर, ५४औं मिनेटमा भने धनगढीले गोल गर्‍यो।

कमलले राइट साइडबाट दिएको बललाई धनगढीका कप्तान देवेन्द्रले हेडर गर्दै आफ्नो टोलीलाई खेलमा फर्काए। त्यसअघि हिजाजीले करिब २० यार्डबाट गरेको सट डिफ्लेक्ट भए पनि गोलकिपर प्रिसोले उत्कृष्ट बचाउ गरे।

५५औं मिनेटमा नै पोखरा थन्डर्सका मोसेसले पेनाल्टीक्षेत्रबाट गरेको उत्कृष्ट टच धनगढीका गोलकिपर ताहाले उत्कृष्ट बचाउ गरे। पाँच मिनेटपछि अनमार्क हिजाजी नजिकैबाट हेडर गोल गर्न असफल भएपछि धनगढीले अग्रता लिन पाएन। पोखराले ७१औं मिनेटमा पनि अवसर खेर फाल्यो।

फ्रान्कलिन टेल्ला करिब ९ यार्डबाट गोल गर्न असफल भए। ८१औं मिनेटमा धनगढीले पनि अवसर सदुपयोग गर्न सकेन।

ओलावालेले नजिकैबाट गरेको सट गोलकिपर प्रिसोले रोक्दै टोलीको संकट टारे। दुई मिनेटपछि नै पोखरा थन्डर्सका मोसेसले दोस्रो बार च्याप्दै गरेको हेडर धनगढीका गोलकिपर ताहाले डाइभिङ गर्दै संकट टारे।

दुवै तर्फबाट थप गोल हुन सकेन र १–१ भएपछि खेल अतिरिक्त समयतर्पm धकेलियो। अतिरिक्त समयको १०३औं मिनेटमा पोखरा थन्डर्सले पापाको हेडर गोलबाट २–१ को अग्रता लियो।

फ्रान्कलिन टेल्लाको हेडर बललाई पापाले जाली चुमाएका हुन्। अतिरिक्त समयको पहिलो हाफमा पोखरा २–१ ले अगाडि रह्यो। तर, अतिरिक्त समयको १२०औं मिनेटमा हिजाजीको लोभलाग्दो गोलबाट धनगढीले २–२ को बराबरी गर्‍यो।

मध्यभागबाट रामचन्द्र वाजीले दिएको लामो पासलाई पोखराका टेल्लाले हेडरबाट क्लियर गर्न खोजेको बललाई पेनाल्टी बक्समा नियन्त्रणमा लिँदै हिजाजीले दोस्रो प्रयासमा गोल गरेका हुन्।

उनको पहिलो सट पोखराका कप्तान दिनेशको रोके। तर, रिबाउन्डमा हिजाजीले सशक्त सटमार्फत गोल गरे। त्यसपछि खेल पेनाल्टी सुटआउटतर्पm धकेलियो र धनगढीले बाजी पनि मार्‍यो।  

प्रकाशित: १० पुस २०८० ०२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App