१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

कोसी र एपिएफलाई तेस्रो सफलता

मधेसविरुद्ध अर्धसतक बनाएपछि कोसीकी कप्तान रुबिना क्षेत्री। तस्बिर : क्यान

सबनम राईको उत्कृष्ट बलिङप्रेरित कोसीले आइतबार मधेस प्रदेशमाथि ६० रनको रबाफिलो जितसहित जारी प्रधानमन्त्री कप महिला ट्वान्टी- २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रो सफलता निकालेको छ।

राउन्ड रोबिन लिगका आधारमा भएको प्रतियोगितामा कोसीको अपराजित यात्रा कायम राख्न सबनम र कप्तान रुबिना क्षेत्रीले अलराउन्ड प्रदर्शन गरे। कोसीले दिएको एक सय ३० रनको लक्ष्य पछ्याएको मधेसले निर्धारित ओभर नै खेल्दै ९ विकेटको क्षतिमा ६९ रन मात्र जोड्न सक्यो।

मधेसलाई सस्तैमा रोक्न सबनमले चार ओभरमा एक मेडनसहित दुई विकेट लिँदा ८ रन मात्र खर्चिइन्। कप्तान रुबिनाले समान ओभरमा एक विकेट लिँदै २३ रन बेहोर्दै अलराउन्ड प्रदर्शन गरिन्। मधेसका लागि साना प्रवीनले अविजित २७ रन र आरती महतोले १८ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

कसिलो बलिङसामु मधेस चल्नै नसकेपछि कोसीले तेस्रो जित निकालेको हो। कोसीका एलिसा खडियाले दुई र संगीता राईले एक विकेट लिँदै किफायती बलिङ गरे। आइतबार नै सम्पन्न अर्को खेलमा सशस्त्र प्रहरी बलको एपिएफले तेस्रो जित निकाल्दा लुम्बिनी प्रदेशलाई ९० रनले हरायो। 

एपिएफले दिएको एक सय ५२ रनको लक्ष्य लुम्बिनीले निर्धारित २० ओभर नै खेले पनि ९ विकेटको क्षतिमा ६१ रन मात्र जोड्न सक्यो। पहिलोपटक राउन्ड रोबिनका आधारमा भएको प्रतियोगितामा आठ टोलीले एकआपसमा प्रतिस्पर्धा गर्नेछन्।  

कविता जोशीको यादगार प्रदर्शन प्रेरणामा सुदूरपश्चिम प्रदेशले प्रतियोगितामा दोस्रो जित निकालेको छ। अर्धशतक प्रेरणासँगै कविताले बलिङमा पनि साथ दिएपछि सुदूरपश्चिमले कीर्तिपुरमा कर्णाली प्रदेशमाथि ८१ रनको सफलता निकाल्दै जारी प्रतियोगितामा दोस्रो जित आत्मसात् गर्‍यो। कविताले ७८ रनका साथै दुई विकेट लिइन्।

यता, सोही दिन नै मूलपानीमा बाग्मतीले गण्डकी प्रदेशमाथि चार विकेटको जित निकाल्यो। यससँगै समान तीन खेलबाट दुवैले पहिलो जित आत्मसात् गरेका हुन्। समान खेलबाट कर्णाली तीनै खेलको नतिजा सुम्पिँदा गण्डकीले भने एक खेल जितेको छ।

एक सय ५१ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेटको क्षतिमा ७० रन मात्र बनाउन सक्यो। कर्णालीका लागि तिर्सना विश्वकर्माले २८ तथा अञ्जु गुरुङ र रश्मि खड्काले समान १० रन बनाए। सुदूरपश्चिमकी जानकी थापाले तीन विकेट तथा कविता जोशीले दुई र मनीषा चौधरीले एक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ५१ रनको योगफल बनाएको थियो। सुदूरपश्चिमकी कविताले ५० बलमा १० चौका र एक छक्का हिर्काउँदै आक्रामक ब्याटिङ गरिन्।

रेवती धामीले अविजित २२ रन जोड्दा सम्झना खड्काले ११ रन र कप्तान ऋतु कनोजियाले १० रन बनाए। पाँचौं विकेटका लागि कविता र रेवतीले अविजित ८४ रनको साझेदारी गरे। कर्णालीका लागि अञ्जु गुरुङले दुई तथा यमुना थारू र रश्मि खड्काले समान एक विकेट लिए।

मूलपानी क्रिकेट मैदानमा गण्डकीले प्रस्तुत गरेको एक सय १३ रनको लक्ष्य बाग्मतीले १८.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो। बाग्मतीकी यशोदा विष्टले अविजित ३९ रन तथा हेलिशा गुरुङले २० र सोनी पाख्रिनले १७ रन बनाए। गण्डकीका लागि सृष्टि जैसीले दुई तथा आकृति तिवारीले एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले २० ओभरमा चार विकेट गुमाउँदै एक सय १२ रनको योगफल बनायो। गण्डकीका लागि अञ्जली विश्वकर्माले ३२, सुमन खतिवडाले अविजित २८, सिमान केसीले २८ र सृजना पौडेलले ११ रन बनाए।

बाग्मतीका लागि करिश्मा गुरुङ, मनीषा उपाध्याय र कप्तान अस्मिना कर्माचार्यले समान एक विकेट लिए। मूलपानी क्रिकेट मैदानमा गण्डकीले प्रस्तुत गरेको एक सय १३ रनको लक्ष्य बाग्मतीले १८.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो।

प्रकाशित: ९ पुस २०८० ००:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App