२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

ललितपुरलाई पराजित गर्दै काठमाडौं प्लेअफमा

बलका लागि प्रतिस्पर्धा गर्दै काठमाडौं रेजर्सका कुलदीप कार्की र ललितपुर सिटीका इमोह इजेकिल। तस्बिर : एनएसएल

डेब्युटेन्ट झापा एफसीका लागि बहुप्रतीक्षित भ्याली डर्बीमा काठमाडौं रेजर्सले शनिबार ललितपुर सिटी एफसीमाथि १–० को साँघुरो जितसहित नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा पुगेको छ।

काठमाडौं रेजर्सको हारले डेब्युटेन्ट टोली झापालाई प्लेअफमा स्थान सुरक्षित गराउँथ्यो। झापालाई शनिबार यो खेलसँगै बुटवल लुम्बिनी र वीरगन्ज युनाइटको खेलको पनि पर्खाइ थियो। प्लेअफमा स्थान बनाउन झापाले वीरगन्जको हारसँगै काठमाडौं रेजर्सको पनि हार कामना गरेको थियो। तर, नतिजा झापाको आशाअनुरूप आएन। आन्द्रेस नियाको गोलप्रेरित काठमाठौं रेजर्स सुरुका ६ खेलसम्म अपराजित ललितपुर सिटीमाथि साँघुरो जित निकाल्दै लगातार दोस्रो सिजन प्लेअफमा स्थान बनाउन सफल भयो।

अन्तिम १५ मिनेटभन्दा बढी समय १० खेलाडीमा सीमित काठमाडौं रेजर्स प्लेअफमा पुग्ने चौथो टोली बन्यो। हारका बावजुद ललितपुर सिटी प्लेअफमा स्थान बनाउन सफल भयो। वीरगन्जको हारले ललितपुरलाई पनि फाइदा मिल्यो। 

काठमाडौं रेजर्सको जितसँगै चौथो स्थानको झापा पाँचौं स्थानमा झर्‍यो र डेब्यु सिजनमै प्लेअफ खेल्ने लक्ष्य पूरा हुन सकेन। समान आठ खेलबाट ललितपुर सिटी र झापाको समान १० अंक छ। तर, झापा गोलअन्तरमा पछि पर्दै पाँचौं स्थानमा खुम्चिन बाध्य भयो। यस सिजन झापासहित वीरगन्ज युनाइटेड र स्पोर्टिङ इलाम गरी तीन क्लबले डेब्यु गरेका थिए।

तर, तीनमध्ये झापा र वीरगन्ज लिगको अन्तिम दिन असफल रहे। त्यसअघि शनिबार नै वीरगन्जले बुटवल लुम्बिनीसँग १–० को हार बेहारेपछि प्लेअफबाट वञ्चित भएको हो। काठमाडौं रेजर्स र ललितपुर सिटीको नतिजासँगै जारी दोस्रो सिजन लिग चरणका खेल पनि सकिएका छन्।

अब तेस्रो स्थानको काठमाडौं रेजर्सले आगामी पुस ९ गते इलिमिनेटरमा ललितपुरसँग नै प्रतिस्पर्धा गर्नेछ। सोमबार पहिलो क्वालिफायरमा शीर्ष स्थानको पोखरा थन्डर्सले दोस्रो स्थानको धनगढी एफसीसँग खेल्ने तय छ।  

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न लिगचरणको अन्तिम खेलमा आन्द्रेसको गोल नै काठमाडौंको जितका लागि निर्णायक बन्यो। खेलको सुरुआतदेखि नै दबाब बनाएको काठमाडौं रेजर्सले गोल निकाल्दै च्याम्पियन शैली प्रस्तुत गर्‍यो।

त्यसअघि दोस्रो मिनेटमा नै काठमाडौं रेजर्सका अमित तामाङको क्रस ललितपुरका गोलरक्षक जेफ्री विली मार्सेलले रोके। छैटौं मिनेटमा ललितपुरका निखिल कदमका लागि गोल गर्ने राम्रो अवसर थियो। तर उनले पास दिएपछि अवसर खेर गयो।  

लगत्तै मिनेटमा अर्कोतर्फ काउन्टरमा शोखरूखको प्रहार ओमोलाजा करिमले ब्लक गरे। ललितपुरले २०औं मिनेटमा अवसर सदुपयोग गर्न सकेन। पापा इबो केबेको सुन्दर क्रस दिनेश हेन्जनसम्म नपुग्दै काठमाडौं रेजर्सका अमित तामाङले क्लियर गरिदिए।

ललितपुरले ३६औं मिनेटमा अर्को अवसर बनायो। कप्तान अनन्त तामाङको फ्रिकिक प्रहार बाहिरिँदा काठमाडौं रेजर्सको खतरा टर्‍यो। ४३औं मिनेटमा भने ललितपुरको गोल सिर्जना क्रस बारमा ठोकिन पुग्यो। सोखरुखको फ्रिकिक क्रस बारमा लागेर फर्कियो।

पहिलो हाफमा थप गरिएको पहिलो मिनेटमै शोखरुखको प्रहार अनन्तलाई लागेर बाहिरियो। तर, काठमाडौं रेजर्सले भने कर्नर प्रहारमा गोल गर्दै अग्रता लियो। तोजिडिनोभ कोमिवनको क्रसमा नियाले हेडर गर्दै बललाई जाली चुमाए। त्यससँगै पहिलो हाफमा काठमाडौं रेजर्स १–० ले अगाडि रह्यो।

५६औं मिनेटमा ललितपुरका निखिल कदमको प्रहार किङ्गे ओलिभरको खुट्टामा लाग्दै पोस्टको दिशा लिए पनि काठमाडौं रेजर्सका गोलकिपर अन्जल श्रेष्ठले रोके। ६२औं मिनेटमा इमोन इजिकेलको पासमा केबेको सट पनि अन्जलले बचाए। काठमाडौं रेजर्स ७५औं मिनेटमा १० खेलाडीमा सीमित भयो।

कदमलाई टाउको जुधाउँदै लडाएपछि रेफ्री प्रज्वल क्षत्रीले अमितलाई सोझै रातो कार्ड दिए। त्यसपछि १० खेलाडीमा सीमित काठमाडौं रेजर्सको सात मिनेटपछि लगातार दुई खतरा टर्‍यो। ८४औं मिनेटमा अन्जल बिट भैसकेपछि कुलदीप कार्कीले गोलपोस्ट अगाडिबाट इमोनको पास क्लियर गरेर गोल हुनबाट बचाए।

इन्जुरी समयको पहिलो मिनेटमै सनिस श्रेष्ठको क्रसमा पापाले सिक्स यार्ड बक्सभित्रबाट बललाई जाली चुमाउन सकेनन्। ललितपुर सिटीले अन्तिम समयमा अवसर सिर्जना गरे पनि हार टार्न सकेन र काठमाडौं रेजर्स दोस्रो संस्करणमा पनि प्लेअफमा पुग्यो।  

वीरगन्ज युनाइटेड असफल

वीरगन्ज युनाइटेडले शनिबारको पहिलो खेलमा पुछारको टोली बुटवल लुम्बिनीसँग १–० ले हार बेहोरेसँगै प्लेअफमा पुग्ने अवसर खेर फालेको छ।  

दशरथ रंगशालामा जितले वीरगन्ज युनाइटेडको डेब्यु सिजनमै प्लेअफ यात्रा तय गथ्र्यो। तर, वीरगन्ज फिनिसिङ चुक्यो र अन्तिम समयमा गोल बेहोरेपछि साँघुरो हार बेहोर्न बाध्य भयो। यो नतिजासँग आठ खेल पूरा गरेर १० अंकसहित चौथो स्थानमा रहेको झापाको प्लेअफ सम्भावना जीवन्त थियो।

दोस्रो तथा यो सिजनकै अन्तिम लिग खेलमा काठमाडौं रेजर्सले ललितपुर सिटीविरुद्ध जित निकालेसँगै झापाको लक्ष्य पूरा हुन सकेन। शनिबारको जितपछि बुटवल लुम्बिनी आठ खेलबाट १० अंकसहित पाँचौं स्थानमा उक्लिएको थियो।

काठमाडौं रेजर्सको जितसँगै एक स्थान तल झरेर बुटवल लुम्बिनीले यस सिजनको अन्त्य ग¥यो। यता, हार बेहोरेपछि वीरगन्ज भने आठ खेलबाट आठ अंकसहित सातौं स्थानमा यथावत् छ। इन्जुरी सयममा चन्दन दासको गोलबाट बुटवलले अग्रता लियो। एरिकले पास नियन्त्रणमा लिँदै उनले वीरगन्जका गोलकिपर दीपसँग वान भर्सेस वानमा गोल गरेका हुन्। यससँगै वीरगन्ज पराजित भयो र प्लेअफमा पुग्ने लक्ष्य अधुरै बन्यो।

प्रकाशित: ८ पुस २०८० ००:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App