१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

चितवनलाई जिताउँदै विशालले लिए संन्यास

चितवनबाट दोस्रो गोल भएपछि खुसी मनाउँदै विशाल श्रेष्ठ। तस्बिर सौजन्य : विशाल पन्त

गोलकिपर विशाल श्रेष्ठले अन्तर्राष्ट्रिय करियरबाट संन्यास घोषणा गरेको दिन उनको टोली एफसी चितवनले शुक्रबार झापा एफसीमाथि २–० को जित निकाल्दै नेपाल सुपर लिग(एनएसएल) को दोस्रो सिजनको यात्रा टुङ्ग्याएको छ।

विशालको प्रदर्शन प्रेरित चितवनले प्लेअफमा स्थान बनाउन जित्न संघर्षरत झापामाथि जित निकाल्यो। चितवनको जितमा कप्तान विशाल म्यान अफ दी म्याच चयन भए। उनी लगातार दोस्रो खेलमा म्यान अफ दी म्याच घोषित भएका हुन्। शुक्रबार उनले झापाका कप्तान अञ्जन विष्टको पेनाल्टी प्रहार बचाएका थिए। त्यसबाहेक उनले धेरै आक्रमणमा उत्कृष्ट बचाउ गर्दा झापाको खेलमा फर्किन प्रयास नै असफल भयो।यो सिजन विशालको यो दोस्रो क्लिन सिट हो। यसअघि स्पोर्टिङ इलामसँगको खेलमा पनि उनले गोल बेहोरेका थिएनन्।

शुक्रबार पनि विशालले सोही लय दोहो¥याउँदा एफसी चितवन लगातार दोस्रो सिजन पुछारमा रहेर यात्रा टुङ्ग्याउनबाट बच्यो। गत संस्करणमा चितवनले पुछारमा रहेर खेलको अन्त्य गरेको थियो। विशालले आफ्नो टोलीलाई लगातार दोस्रो सिजन पुछारमा रहनबाट जोगाउन पाउँदा खुसी लागेको बताए। ‘हामी शीर्ष चारका लागि योग्य टोली नै थियौं। तर, उतारचढाव रहँदा लक्ष्य पूरा हुन सकेन। यस पटक पनि पुछार रहने चिन्ता थियो। यद्यपि, यो जितले माथि उक्लिएका छौं,’ १० वर्षसम्म राष्ट्रिय टोलीमा सेवा गरेका विशालले भने, ‘त्यसैले यो जितबाट धेरै खुसी छु।’

नयाँ गोलकिपर आउने वातावरण सिर्जना गर्न पनि आफूले ठाउँ खाली गर्नुपर्ने महसुस भएर संन्यास लिएको उनको भनाइ थियो। झापाले प्लेअफमा स्थान बनाउन जित्नैपर्ने समीकरण थियो। तर, प्लेअफ सम्भावनाबाट बाहिरिसकेको चितवनले दशरथ रंगशालामा झापाको लक्ष्य पूरा हुन दिएन। डेब्यु सिजनमै दोस्रो चरणमा पुग्ने झापाको लक्ष्यमा अब नाटकीय नतिजा आउनुपर्नेछ। यो हारका बावजुद झापा आठ खेलबाट १० अंकसहित चौथो स्थानमा यथावत् छ।

अब झापाको प्लेअफ सम्भावना पुनर्जीवित हुन शनिबार काठमाडौं रेजर्सले ललितपुर सिटीसँग र वीरगन्ज युनाइटेडले बुटवल लुम्बिनीसँग हार बेहोर्नुपर्नेछ। यी दुई नतिजामा बराबरी नै भए पनि झापालाई प्लेअफ पुग्न पर्याप्त हुनेछ। शुक्रबार झापाविरुद्ध चितवनको दुवै गोल रफिक अमिनुले गरेका हुन्। झापाका कप्तान अञ्जनले पेनाल्टी गोलबाट खेलमा फर्किने अवसर सदुपयोग गर्न सकेनन्। चितवनका गोलकिपर विशालले एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै झापाका आक्रमण विफल बनाएका हुन्। यो नतिजासँगै चितवन ९ अंकसहित काठमाडौं रेजर्सलाई गोलअन्तरले पछि पार्दै पाँचौं स्थानमा उक्लियो। त्यसअघि खेलको सातौं मिनेटमा रफिक अमिनुको गोलबाट एफसी चितवनले अग्रता लियो।

विमल घर्तीमगरको कर्नर बललाई एबमुबारिक युसिफको हेडर पासमा अमिनुले हेडमार्पmत नै गोल गरेका हुन्। १४औं मिनेटमा चितवनका विक्रम धिमालको हेडरले सही दिशा लिन सकेन। विमलकै कर्नरमा उनको हेडर बार माथिबाट बाहिरियो। तीन मिनेटपछि नै विमलको बाइसाइकल किक झापाका गोलकिपर स्टेफन क्युपिकले मुस्किलले बचाए। त्यसपछि पहिलो हाफमा झापा १–० ले पछाडि रह्यो। झापाले दोस्रो हाफको सुरुमै आक्रमण बुने पनि सफल भएन। समिराज थोकरले पेनाल्टी बक्सभित्रबाट गरेको सट माथिल्लो बारबाट अकासियो।

झापाका कप्तान अञ्जनले ५९औं मिनेटमा गरेको लामो प्रहार पनि सफल भएन। तीन मिनेटपछि नै झापाका समान्डर ओचिलोभको सशक्त फ्रिकिक चितवनका गोलकिपर विशाल श्रेष्ठले पन्च गर्दै विफल बनाए। सोही रिबाउन्ड बललाई विशाल बस्नेतले हेड गर्दै जाली चुमाए पनि रेफ्रीले अफसाइड निर्णय दिए। झापाका हरि कार्कीले ७२औं मिनेट गरेको सशक्त प्रहारमा पनि विशाल नै बाधक बने। तर, चितवनले ७७औं काउन्टर अट्याकमा अमिनुको गोलबाट अग्रता दोब्बर बनायो। झापाका गोलकिपर क्युपिकले गरेको सटमा चितवन खेलाडीको हेडर क्लियर नियन्त्रणमा लिँदै अमिनुले एकल प्रयासमा गोल गरेका हुन्।

झापाले ८१औं मिनेटमा पेनाल्टी अवसर खेर फाल्दा खेलमा फर्किने अवसर गुमायो। कप्तान अञ्जनको पेनाल्टी गोलकिपर विशालले उत्कृष्ट बचाउ गर्दै चितवनको अग्रता २–० मै कायम राखे। छिरिङ गुरुङले पेनाल्टी बक्समा अञ्जनलाई लडाएपछि झापाले पेनाल्टी पाए पनि सदुपयोग गर्न सकेन। नवयुग श्रेष्ठले ८५औं मिनेटमा वान भर्सेस वानमा गोल गर्न चुकेपछि चितवन अग्रता बढाउने अवसर सफल भएन। इन्जुरी समयको पहिलो मिनेटमा कप्तान अञ्जनको सट आफ्नै सहकर्मी समिराजको खुट्टामा ठोकिन पुग्यो। त्यसपछि केही प्रयास भए पनि झापा चितवनसँग स्तब्ध भयो।

धनगढीको अवसर खेर

धनगढी एफसीले शुक्रबार शीर्ष स्थानको पोखरा थन्डर्ससँग १–१ को बराबरी खेलेपछि जारी नेपाल सुपर लिग (एनएसएल) पहिलो क्वालिफायरमा पुग्ने अवसर खेर फालेको छ।

दशरथ रंगशालामा एक गोलको अग्रता जोगाउन नसक्दा धनगढीले पोखरा थन्डर्ससँग अंक बाड्यो। धनगढीका मिलन राईले गोल गर्दा पोखरा मोसेस ग्याबा तुमको गोलबाट खेलमा फर्किएको हो। यो नतिजासँगै पोखरा थन्डर्सले शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायर खेल्ने भएको छ। बराबरीपछि धनगढीले आफ्नो वरीयताका लागि अन्य टोलीको नतिजामा भर पर्नुपर्नेछ। समान आठ खेल सकिँदा पोखरा थन्डर्स १५ अंकसहित शीर्ष रहँदा धनगढी १३ अंकसहित दोस्रो स्थानमा छ।

धनगढीले दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायर खेल्न शनिबारका दुई खेलका नतिजा कुर्नुपर्नेछ। ललितपुर सिटीले शनिबार काठमाडौं रेजर्सविरुद्ध जित निकाल्दा  धनगढीभन्दा अघिल्लो स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्नेछ।

 

प्रकाशित: ७ पुस २०८० ०१:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App