२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

जितबाट झापाको प्लेअफ सम्भावना जीवन्त

एक खेलअगावै प्लेअफमा पुग्ने लक्ष्य राखेको धनगढी एफसीले बुधबार झापा एफसीसँग हार बेहोरेसँगै जारी नेपाल सुपर लिग (एनएसएल) मा अपराजित यात्रालाई सातौं खेलमा पूर्णविराम लगाएको छ।

जितले धनगढीलाई प्लेअफको शीर्ष स्थानको होडमा उभ्याउँथ्यो। तर, अपराजित धनगढीले दशरथ रंगशालामा बुधबार झापासँग २–० ले नतिजा सुम्पिन पुग्यो। यो नतिजासँगै धनगढीको प्लेअफ यात्रामा अन्तिम खेल जित्नै पर्ने समीकरण बन्यो।

यता, पूर्वेली प्रतिद्वन्द्वी स्पोर्टिङ इलामसँग हारबाट डेब्यु सिजनको सुरुआत गरेको झापाले धनगढीविरुद्ध जितसँगै प्लेअफ सम्भावना जीवन्त राखेको छ। समान सात खेलबाट धनगढी १२ अंकसहित दोस्रो स्थानमा यथावत् छ भने झापा १० अंकसहित चौथो स्थानमा उक्लियो। 

अन्तिम खेलमा धनगढीले शीर्षको टोली पोखरा थन्डर्स र झापाले एफसी चितवनविरुद्ध खेल्नेछन्। प्लेअफमा स्थान बनाउन झापासँग भने जितको विकल्प हुने छैन। यता, धनगढीलाई भने बराबरीको नतिजा पनि पर्याप्त बन्नेछ। धनगढीका प्रशिक्षक युगलकिशोर राईले अन्तिम खेल जित्दै प्लेअफ यात्रा गर्ने विश्वास व्यक्त गरे। झापाका प्रशिक्षक ओरिवल सेगुराले पनि अन्तिम खेलमा जित निकाल्ने आशा देखाएका छन्।

चार खेलमा बराबरी गरेको झापाले दुई खेलको नतिजा आफ्नो पक्षमा पारेसँगै डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सलाई पनि चुनौती दिएको छ। झापाको जितपछि पाँचौं स्थानमा झरेको काठमाडौं रेजर्सले बाँकी दुईमध्ये एकमा जित र अर्को खेलमा कम्तीमा बराबरीको नतिजा निकाल्नुपर्नेछ। जित्नैपर्ने खेलमा झापाले पहिलो मिनेटदेखि गत संस्करणको फाइनलिस्ट धनगढीमाथि दबाब बनायो।

पहिलो मिनेटमै झापाका होर्गे सान्चेजले १८ यार्ड बक्सबाट गरेको प्रयास विफल हुन पुग्यो। तेस्रो मिनेटमा धनगढीका अहमद हिजाजीको प्रहार अकासिँदा झापाको खतरा टर्‍यो। छैटौं मिनेटमा लेफ्ट साइडमा झापाका आवास लामिछानेले क्लियर गर्न नसकेको बललाई अभिषेक गुरुङले नियन्त्रणमा लिँदै प्रहार गरे पनि झापाका गोलकिपर स्टेफन सुपिचले खतरा टारे। २०औं मिनेटमा गोलकिपर सुपिचले पुनः टोलीको खतरा टारे। रामचन्द्र वाजीले मध्यभागबाट दिएको पास हिजाजीको पेनाल्टील बक्सबाट सशक्त सट सुपिचले मुस्किलले बचाए।

दुई मिनेटमा नै धनगढीका कमल श्रेष्ठको फ्रिकिक पनि सुपिचले मुस्किलले जोगाए। २४औं मिनेटमा झापाले अर्को सुन्दर अवसर सदुपयोग गर्न सकेन। राइट साइडबाट लक्ष्मण रुचालको क्रस सान्चेजले नियन्त्रणमा राख्न नसक्दा झापाले अवसर खेर फाल्यो। झापाका समान्डर ओचिलोभले २९औं मिनेटमा गरेको सशक्त फ्रिकिक पहिलो बार हुँदै बाहिरिन पुग्यो।

झापाको अर्को उत्कृष्ट अवसरमा धनगढीका गोलकिपर मोहमद ताहाले पन्च गर्दै टोलीको संकट टारे। ४१औं मिनेटमा सान्चेजले पेनाल्टी बक्समा डिफेन्डर देवेन्द्र तामाङलाई बिट गर्दै गरेको सशक्त सट ताहाले उत्कृष्ट बचाउ गरेका हुन्।

त्यससँगै पहिलो हाफ गोलरहित बराबरीमा सकियो। झापाले ५४औं मिनेटमा गोल गर्दै अग्रता लियो। छिरिङ लामाले लेफ्ट साइडबाट गरेको क्रसलाई झापाका कप्तान अञ्जन विष्टले हेडरमार्फत गोल गरे। धनगढीको ७०औं मिनेटमा फोडे फोफनाको हेडरबाट खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन।

मिलन राईको क्रसमा फोडेको हेडर झापाका गोलकिपर सुपिचले बाहिर पठाइदिए। झापाले ७७औं मिनेटमा अर्को गोल थप्दै अग्रता दोब्बर पार्‍यो। समिराज थोकरले सान्चेजको पासमा वान टच गर्दै गोल गरेका हुन्।

त्यसको दुई मिनेटपछि नै धीरज थतालीले रातो कार्ड बेहोरेपछि झापा १० खेलाडीमा सीमित भयो। साइमन लिम्बुमाथि खराब ट्याकल गरेपछि उनले रातो कार्ड सामना गरे। इन्जुरी समयको पहिलो मिनेटमा देवेन्द्रको फ्रिकिकले पोस्टको दिशा लिन सकेन।

त्यसपछि थप गोल हुन नसकेपछि झापाले अपराजित धनगढीमाथि २-० को रबाफिलो जित निकाल्यो। यो नतिजासँगै जारी दोस्रो सिजन सबै टोलीले हार सामना गरे। धनगढीका प्रशिक्षक युगलकिशोर राईले आफ्नो टोलीले झापालाई गम्भीरतापूर्वक नलिँदा हार बेहोरेको बताए।

प्रकाशित: ५ पुस २०८० ००:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App