१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

चितवन र इलामको बराबरीले प्लेअफ होडका टोलीलाई फाइदा

बल पन्च गर्दै स्पोर्टिङ इलामका समित श्रेष्ठ। तस्बिर: एनएसएल

प्लेअफ सम्भावनामा बलियो दाबेदारी प्रस्तुत गर्न जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको एफसी चितवनले शनिबार नेपाल सुपर लिग (एनएसएल) को आफ्नो सातौं खेलमा स्पोर्टिङ इलामसँग गोलरहित बराबरीको नतिजा सामना गरेको छ।

प्लेअफ सम्भावनामा कडा चुनौती दिन दुवै टोलीलाई जित्नैपर्ने आवश्यकता थियो। तर, ९ टोलीले प्रतिस्पर्धा गरेको यस सिजनमा एक खेल बाँकी छँदा चितवन र स्पोर्टिङ इलाम दुवै अंक बाँड्न पुगे। यो नतिजा दुवैका लागि सहज बनेन।

यो बराबरीपछि चितवन सात खेलबाट ६ अंक बटुल्दै सातौं स्थानमा छ भने समान खेलबाट स्पोर्टिङ इलाम पाँच अंकसहित पुछारमा छ।

गणितीय रूपमा एफसी चितवनको प्लेअफ सम्भावना देखिएको छ। तर, चितवनले प्लेअफमा स्थान बनाउन आफूभन्दा माथि रहेका एफसी बुटवल, झापा एफसी र काठमाडौं रेजर्सको हारको कल्पना गर्नुपर्नेछ, जुन नतिजा आउन कठिन नै रहन्छ।

काठमाडौंले तीन खेल, झापा र बुटवलले दुई खेल खेल्न बाँकी रहेकाले एफसी चितवनको प्लेअफ सम्भावना कठिन हुनेछ। त्यसैले चितवन र स्पोर्टिङ इलामबीचको नतिजाले प्लेअफको होडमा रहेका सबै टोलीलाई खुसी मिलेको छ।

चितवनले अन्तिम खेलमा झापा एफसीविरुद्ध प्रतिस्पर्धा गर्नेछ। चितवनले स्पोर्टिङ इलामविरुद्ध दुई परिवर्तन गरेको थियो।

विदेशी डिफेन्डर मार्को इभानोभिचको स्थानमा विक्रम धिमाल र नवयुग श्रेष्ठको स्थानमा रोशन रानामगर पहिलो रोजाइमा परेका थिए।

इलामले भने निलम्बनमा रहेका कप्तान तथा गोलकिपर विकेश कुथुको स्थानमा समित श्रेष्ठ, ओमार थिओम र आशिष चापागाईको स्थानमा सौरभ लिम्बू र नवीन लामालाई सुरुआती टोलीमा राखेको थियो।

तर, केही परिवर्तन गरे पनि दुवै टोली जित निकाल्न भने असफल रहे। खेलमा केही आक्रमण बने पनि गोल हुन सकेन। त्यसअघि दोस्रो मिनेटमा नै चितवनका रफिक अमिनुको प्रहार इलामका गोलकिपर समितले सहजै रोके। छैटौं मिनेटमा चितवनका छिरिङ गुरुङको क्रस पनि उनका सहकर्मीले भेटाउन सकेनन्।

१२औं मिनेटमा इलामका फोडे क्यामाराको क्रस पनि सदुपयोग हुन सकेन। चितवनका टोरिक जेब्रिनले २६औं मिनेटमा पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार पोस्टको केही माथिबाट बाहिरियो। ३०औं मिनेटमा इलामका नवीन लामाको प्रहार पनि पोस्टमाथिबाट बाहिरियो।

४५औं मिनेटमा चितवनले राम्रो अवसर खेर फाल्यो। अफ्रिई अक्वाहको बक्सबाहिरबाट लिएको प्रहार रोशनको खुट्टामा लागेर अनमार्क अमिनुले नियन्त्रणमा लिए। तर, अमिनुको सट इलामका गोलकिपर समितको शरीरमा लाग्दा गोल हुन सकेन। दोस्रो हाफको लामो समयसम्म खासै राम्रो आक्रमण हुन सकेन।

७८औं मिनेटमा विमल घर्तीमगरले पेनाल्टी क्षेत्रबाट गोल गर्ने अवसर खेर फाले। अमिनुको पासमा उनको सट माथिल्लो बार माथिबाट बाहिरिन पुग्यो। स्पोर्टिङ इलामका दीपेश घलेले ८१औं मिनेटमा फ्रि हेडरमा गोल गर्न सकेनन्।

त्यसको पाँच मिनेटपछि नै चितवनका नवयुग श्रेष्ठको क्रस इलामका गोलकिपर समितले फुत्काए पनि कुनै चुनौती भएन। इन्जुरी समयमा अमिनुले लेफ्ट साइडमा गरेको क्रस विमल घर्तीमगर वान टच गोल गर्न असफल रहे। अन्तिम समयमा चितवनका टोरिकको फ्रिकिक दोस्रो बार हुँदै बाहिरिएपछि खेल गोलरहित बराबरीमा टुङ्गिन पुग्यो।

शीर्षको होडमा पोखरा

त्यसअघिको पहिलो खेलमा पोखरा थन्डर्सले वीरगन्ज युनाइटडेविरुद्ध २-१ को जित निकालेको थियो। जितसँगै ६ खेलबाट पोखराले ११ अंक जोड्दै शीर्ष स्थानको दाबेदारी प्रस्तुत गरेको छ। यता, वीरगन्जको हारले भने प्लेअफ सम्भावना कठिन बनेको छ।

समान खेलमा वीरगन्ज पाँच अंक जोड्दै आठौं स्थानमा छ। वीरगन्जको दुई खेल बाँकी रहेकाले प्लेअफमा स्थान बनाउन अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्नेछ।

खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै पोखराका मुख्य प्रशिक्षक नवीन न्यौपानेले महत्वपूर्ण खेलमा जित निकाल्न पाउँदा टोलीलाई केही राहत मिलेको प्रतिक्रिया दिए।

‘आजको खेल निकै महत्वपूर्ण थियो। आज हारेको भए प्लेअफमा स्थान बनाउन गाह्रो हुन्थ्यो। पाएका अवसरमा गोल भए।

अबका दिन सहज हुनेछन्,’ प्रशिक्षक न्यौपानेले भने। वीरगन्जका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले रक्षापंक्तिमा समस्या हुँदा पराजित हुन पुगेको प्रतिक्रिया दिए।

‘समग्र खेलभर रक्षापंक्तिमा समस्या देखियो। दोस्रो गोलमा रक्षापंक्ति र गोलकिपरको तालमेल नमिल्दा गोल ब्यहोर्‍यौं। अब हाम्रो स्थिति यस्तो छ कि अन्य टोलीको नतिजामा भर पर्नुपर्नेछ,’ श्रेष्ठले भने।

पोखराले आफ्नो अन्तिम दुई खेलमा बुटवल लुम्बिनी र धनगढी एफसीसँग प्रतिस्पर्धा गर्नेछ। वीरगन्जले भने काठमाडौं रेजर्स फुटबल क्लब र बुटवलसँग खेल्नेछ।

प्रकाशित: १ पुस २०८० ०१:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App