१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नेत्रहीन महिला ट्वान्टी–२० : नेपालले ४–१ ले गुमायो शृंखला

शृंखलाको उपविजेता टोली नेपाल ट्रफीका साथ ।तस्बिर: नेत्रहीन क्रिकेट संघ नेपाल

 नेपालले भारतसँग नेत्रहीन महिला ट्वान्टी–२० क्रिकेट शृंखला ४–१ ले गुमाएको छ।भारतको मुम्बईस्थित पुलिस जिमखानामा शुक्रबार सम्पन्न पाँचौं खेलमा आठ विकेटले हार बेहोरेपछि नेपालले घरेलु टोलीविरुद्धको शृंखला ४–१ ले गुमाएको हो।

नेपालले प्रस्तुत गरेको एक सय ५४ रनको लक्ष्य भारतले १७.५ ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो। नेपालले २२ अतिरिक्त रन दिएपछि भारतलाई केही सहज पनि भयो। यससँगै नेपालले चार खेलको नतिजा सुम्पिन पुग्यो। नेपालले सहजै शृंखला गुमाए पनि दुई विधाको प्लेयर अफ दी सिरिजको सफलता नेपाली खेलाडीले पाए। ‘बी टु’ क्याटागोरीमा मनकेशी चौधरी र ‘बी थ्री’ मा विनीता पुन प्लेयर अफ दी सिरिज घोषित भए।

‘बी वान’ क्याटागोरीमा भारतकी सिमु दास प्लेयर अफ दी सिरिज भइन्। सिमुले पाँचौं खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। उनकै ५२ रनको अविजित इनिङ प्रेरणामा भारतले १३ बलअगावै लक्ष्य पूरा ग¥यो। ३२ बल खेलेकी सिमुको इनिङमा कुनै पनि बाउन्ड्री थिएन। सिमु प्लेयर अफ दी म्याचसमेत भइन्। ओपनरद्वय फुला सारेन १३ रनमा रनआउट हुँदा राभान्नीले २८ रनको योगदान दिइन्। वसन्ती हान्स्दा २३ रनमा रनआउट भइन्। तर, गंगा कदमले अविजित १६ रन जोड्दै सिमु दासलाई साथ दिइन्। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५३ रनको योगफल खडा गर्‍यो।

ओपनर विनीता पुनले ५३ रन र कप्तान गीता पौडेलले ४० रनको इनिङ खेल्दै नेपालको राम्रो योगफल बनाए पनि पर्याप्त रहेन। विनीताले ३५ बलमा पाँच चौका हिर्काइन्। ३९ बल खेलेकी गीताले भने कुनै बाउन्ड्री प्रहार गर्न सकिनन्। नेपालले पहिलो ओभरको समाप्तिमा नै ओपनर सृजना परियारलाई एक रनमा नै गुमाएको थियो। तर, त्यसपछि विनीताले इनिङ समालिन्। मनकेशी १४ रनमा आउट हुँदा निशा डंगौराले २४ रनको योगदान दिइन्। त्यसबाहेक अन्य ब्याटर भने लामो समय क्रिजमा टिक्न सकेनन्। नेपालले १३ अतिरिक्त रन पाएको थियो।  

प्रकाशित: ३० मंसिर २०८० ०४:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App