१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

धनगढी र सत्यवती एकेडेमी फाइनलमा

ट्रफीका साथ धनगढीका कप्तान भुवन कार्की (बायाँ) र सत्यवतीका कप्तान सन्तोष कार्की । तस्बिर : नागरिक

धनगढी स्पोर्ट्स क्लब र सत्यवती एकेडेमी धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) अन्तर्गत आठौं संस्करणको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

फाप्ला क्रिकेट मैदानमा शुक्रबार सम्पन्न सेमिफाइनलमा धनगढी स्पोर्ट्स क्लबले घोडाघोडी क्रिकेट एकेडेमीलाई र सत्यवतीले युथ अफ टीकापुरलाई हराउँदै उपाधि भिडन्त तय गरेका हुन्। यी दुईबीच फाइनल खेल शनिबार हुनेछ। पहिलो सेमिफाइनलमा धनगढी स्पोर्ट्सले घोडाघोडी क्रिकेट एकेडेमीलाई तीन विकेटले हरायो। घोडाघोडीले दिएको ८९ रनको सामान्य लक्ष्य धनगढी स्पोर्ट्सले सात विकेट गुमाउँदै १६.२ ओभरमै पूरा ग¥यो। धनगढी स्पोर्ट्सका लागि आयुष्मान बमले सर्वाधिक २५ रन बनाए। प्रनित थापाले २१ रन तथा सुनील धमलाले १८ रन बनाए।

घोडाघोडीका बलर नरेश सुनार र कृष कार्कीले समान दुई विकेट लिए। हरिस बस्नेत र भूपेश जोशीको नाममा १/१ विकेट रह्यो। यसअघि टस जितेर ब्याटिङ गरेको घोडाघोडी क्रिकेट एकेडेमी १६.१ ओभरमा ८८ रनमै अलआउट भयो। धनगढीका बलरसामु घोडाघोडीका ब्याटर लामो समय टिक्नै सकेनन्। घोडाघोडीको ब्याटिङमा नवयुग बस्नेतले सर्वाधिक २५ रन जोड्दा विपिनविक्रम शाहीले १७ रन, दिनेश रावतले १७ रन तथा सञ्जय बोहराले दिएको १२ रन योगदान पनि पर्याप्त बनेन।  

धनगढी स्पोर्ट्स क्लबको बलिङमा अमरसिंह रौटेलाले सर्वाधिक चार विकेट लिँदै घोडाघाडीको इनिङ धराशयी बनाए। रौटेलाले चार ओभरमा २१ रन खर्चिए। उनी प्लेयर अफ दी म्याचसमेत घोषित भए। दीपक चन्द ठकुरीले तीन विकेट लिँदा भोजराज भट्ट, भुवन कार्की र विकास आग्रीको नाममा १÷१ विकेट रह्यो। दोस्रो सेमिफाइनलमा सत्यवतीले युथ अफ टीकापुरलाई ६ विकेटले हरायो। युथ अफ टीकापुरले दिएको एक सय ११ रनको सामान्य लक्ष्य सत्यवतीले १७.२ ओभरमा मात्र चार विकेट गुमाउँदै पूरा गर्‍यो।

सत्यवतीका ओपनर इमरान शेखले सर्वाधिक ४१ रन बनाए। उनले ४१ बलमा तीन चौका र तीन छक्का प्रहार गरे। सन्दीप रजालीले २३, सन्दीप क्षेत्रीले २१ तथा सन्तोष कार्कीले १२ रन बनाए। युथ अफ टीकापुरका बलर सोलुप चौधरीले दुई तथा गौतम केसी र प्रेम शाहले १÷१ विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको युथ अफ टीकापुरले १९.५ ओभरमा एक सय १० रन बनाएको थियो। टीकापुरको ब्याटिङमा प्रकाश जैसीले सर्वाधिक ३२ रन, सुमित महर्जनले २० तथा प्रदीप ऐरीले १३ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

सत्यवती एकेडेमीको बलिङमा सन्तोष कार्कीले सर्वाधिक तीन विकेट लिए। फिर्दोश अन्सारी र अभिषेक कोइरालाले २÷२ विकेट तथा त्रित दास र रंजित कुमारले १/१ विकेट लिए। लिटल फ्लावर स्पोर्ट्स क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगितामा काठमाडौं, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टोलीको सहभागिता रहेको छ।  

प्रकाशित: ३० मंसिर २०८० ०४:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App