१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

अन्तिम सात मिनेट समालिन सकेन पोखरा

नेपाल सुपर लिग

काठमाडौंविरुद्ध सट प्रहार गर्दै पोखराका आयुष घलान। तस्बिर: एनएसएल

जिततर्फ उन्मुख पोखरा थन्डर्सले अन्तिम समयमा दुई गोल बेहोरेपछि सोमबार काठमाडौं रेजर्ससँग २–१ ले स्तब्ध हुँदै जारी नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनमा शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ।

पोखराले ८२औं मिनेटसम्म लिएको १–० को अग्रता जोगाउन नसक्दा दशरथ रंगशालामा डिफेन्डिङ च्याम्पियन काठमाडौंसँग नाटकीय हार बेहोर्‍यो। जिततर्फ उन्मुख पोखरा अन्तिम सात मिनेट समालिन नसक्दा दुई गोल बेहोर्‍यो र जारी सिजन पहिलो हार पनि सामना गरेको छ। यससँगै काठमाडौंले प्लेअफको दाबेदारी जारी राख्दा पोखरा भने शीर्ष स्थान ओगट्ने अवसर सदुपयोग गर्न असफल रह्यो।

समान पाँच खेलमा काठमाडौं र पोखराको समान आठ अंक भए पनि धेरै गोल गरेका आधारमा डिफेन्डिङ च्याम्पियन काठमाडौं तेस्रो स्थानमा छ। पाँच खेल खेलेको ललितपुर सिटी एफसी ९ अंकसहित शीर्षमा छ।

एक खेल कम खेलेको धनगढी एफसीको आठ अंक भए पनि गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ। काठमाडौं र पोखराले समान दुई जित, दुई बराबरी र एक बराबरीको नतिजा सामना गरेका छन्।

काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले प्लेअफको यात्रा कमजोर बन्न नदिन पनि जित्नैपर्ने खेलमा सफलता मिलेको बताए। ‘पोखराले राम्रै खेलेको हो। उनीहरूले दबाब पनि दिएका थिए। तर, अन्तिम समयमा हाम्रा खेलाडीले गोल गर्दा तीन अंक प्राप्त भयो,’ महर्जनले भने, ‘प्लेअफको होड जारी राख्न पनि आज हामीलाई जित आवश्यक थियो। अन्तिम समयमा गोल गर्दा डिफेन्डिङ च्याम्पियन छाप जोगिएको छ।’

यता पोखराका प्रशिक्षक नवीन न्यौपानेले अन्तिम समयमा डिफेन्स सचेत नरहँदा दुई गोल बेहोर्दै अंक गुमेको बताए। ‘काठमाडौंले अन्तिममा प्रेस गरेर खेल्यो। त्यसमा हाम्रा डिफेन्डरले थेग्न सकेनन् र टोलीले २ गोल बेहोर्न पुग्यो,’ प्रशिक्षक न्यौपानले भने, ‘हामीले अवसर सदुपयोग गर्न नसक्दा पनि समस्या भयो। दुई प्रहार गोललाइनबाट नै क्लियर भयो र पहिलो हार बेहोर्‍यौं।’

खेलअवधिभर पोखराले तुलनात्मक रूपमा काठमाडौंमाथि धेरै अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा हार बेहोर्न पुग्यो।

खेलको पहिलो गोल अवसर १४औं मिनेटमा सिर्जना भयो। पोखराका मोसेस ग्याबा तुमको सट काठमाडौंका कप्तान तथा डिफेन्डर अञ्जनको राईको खुट्टामा डिफ्लेक्ट भएर दोस्रो बारनजिकैबाट बाहिरिन पुग्यो। चार मिनेटपछि नै मोसेसको लामो प्रहार सफल हुन सकेन।

 काठमाडौंले पहिलो अवसर सिर्जना गर्न २९औं मिनेटसम्म कुर्नुपर्‍यो। सोखरुखले करिब २५ यार्डबाट गरेको फ्रिकिक पोखराका गोलकिपर एभेस प्रिसोले उत्कृष्ट बचाउ गरे।

पोखराका मोसेसले ३४औं मिनेटमा गोलकिपर एन्जल श्रेष्ठलाई पार गराएको बल काठमाडौंका डिफेन्डर आन्द्रेस नियाले क्लियर गरिदिए।

लगत्तै कर्नर प्रहारमा मोसेसले हेड गोल गरे पनि राजीव लोप्चनले गोललाइनबाट क्लियर गरे। ३७औं मिनेटमा मोसेसको अर्को हेडर पनि माथिल्लो बारमा लागेर बाहिरिँदा पोखरा पुनः अभागी साबित भयो। काठमाडौंले ४५औं मिनेटमा सहज अवसर खेर फाल्यो। केङ्ग्यु ओलिभर १० यार्डबाट फ्री हेडर गोल गर्न असफल रहे। त्यससँगै पहिलो हाफको खेल गोलरहित बराबरीमा सकियो।

पोखराले खेलको ५८औं मिनेटमा आयुष घलानको गोलबाट अग्रता लियो। स्टफेन पापाको ‘लङ रेन्ज सट’ काठमाडौंका गोलकिपर एन्जल श्रेष्ठले राम्रो नियन्त्रणमा लिन नसक्दा आयुषले नजिकैबाट गोल गरेका हुन्।

काठमाठौंका लागि एनकेङ्ग्यु जुनियरको हेडर दोस्रो बार ठोकिएर बाहिरिन पुग्यो। ७२औं मिनेटमा पोखराका मोसेसले गोल गर्ने सहज अवसर खेर फाले। काउन्टर अट्याकमा आयुषले दिएको पेनाल्टी क्षेत्रमा अनमार्क रहेका मोसेसलाई पास दिए पनि उनले सदुपयोग गर्न सकेनन्।

मोसेसले ७७औं मिनेटमा पनि गोल गर्ने अवसर खेर फाले। ८२औं मिनेटमा मोसेसको अर्को प्रहार गोललाइनबाट पोखराका डिफेन्डर आन्द्रेसले क्लियर गर्दै टोलीको थप संकट टारे। तर, त्यसको एक मिनेटपछि नै पोखराले गोल फर्कायो। पोखरा थन्डर्सका डिफेन्डर सतर्क नरहँदा काठमाडौंका एनकेङग्युले गोल गर्दै बराबरीमा ल्याए।

करिब १८ यार्डमा पोखराका चार डिफेन्डर रहे पनि उनको सहज रूपमा लेफ्ट फुटेट प्रहार गोलमा परिणत भयो।

इन्जुरी समयको पहिलो मिनेटमा पेम्बा लामाको पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोखराका गोलकिपर प्रिसोका लागि खासै चुनौती बनेन।

९३औं मिनेटमा काठमाडौंले काउन्ट अट्याकमा अर्को गोल फर्कायो। तोजिडिनोभ कोमिवनको लामो पास नियन्त्रणमा लिँदै सोखरुख एमले पोखराका गोलकिपर प्रिसो अगाडि बढेको अवस्थामा खाली पोस्टमा गोल गरे। यससँगै अन्तिम १० मिनेटमा खेलले नाटकीय मोड लिँदा दबाबमा रहेको काठमाडौंले पोखरामाथि रोमाञ्चक जित निकाल्यो।  

प्रकाशित: २६ मंसिर २०८० ००:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App