१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

यु–१९ एसिया कप:सुखद भएन नेपालको सुरुआत

दुई टेस्ट राष्ट्रलाई हराउँदै सेमिफाइनल यात्राको लक्ष्यसहित यु–१९ एसिया कपको यात्रा गरेको नेपालले शुक्रबार पाकिस्तानसँग सात विकेटको हार सामना गरेको छ।

खराब ब्याटिङ सामना गरेपछि नेपालको युवा टोलीले एसिया कपको आफ्नो पहिलो खेलमै हार सामना गर्नुपरेको हो। समूह ‘ए’ मा आठ पटकको च्याम्पियन भारतसहित पाकिस्तान र अफगानिस्तान रहे पनि नेपालले सेमिफाइनलमा पुग्ने लक्ष्य राखेको छ।

तर, खराब ब्याटिङ गरेपछि नेपालको सुरुआत सुखद हुन सकेन। संयुक्त अरब इमिरेट्स (युएई) को आइसिसी एकेडेमीमा खराब ब्याटिङ गर्दै नेपालले प्रस्तुत गरेको एक सय ५३ रनको सामान्य लक्ष्य पाकिस्तानले २६.२ ओभरमा मात्र तीन विकेटको क्षतिमा भेट्टायो।

नेपाली राष्ट्रिय टोलीका सदस्यसमेत रहेका गुल्सन झाले छिट्टै पाकिस्तानको दुई विकेट लिँदै राम्रो सुरुआत दिलाएका थिए। यस क्रममा उनले पाकिस्तानका ओपनरद्वय सामिल हुसेनलाई शून्यमा र साहजैब खानलाई १५ रनमा पवेलियन फर्काए।

यससँगै ६.४ ओभरमा पाकिस्तान २३÷२ को अवस्थामा पुग्यो। तर, त्यसपछि भने नेपाली बलर चम्किन सकेनन् र पाकिस्तानले १४२ बलअगावै जित सुरक्षित ग¥यो। तेस्रो विकेटका लागि अजान अवेइस र कप्तान साद बेगले एक सय ८ रनको शतकीय साझेदारी गर्दै जित दिलाएका हुन्।  

६२ बल खेलेका अजान आठ चौकासहित ५६ रनमा नटआउट रहे। कप्तान साद ५६ बलमा पाँच चौकाको मद्दतमा ५० रनमा आउट भए। २५औं ओभरमा साद आकाश त्रिपाठीद्वारा क्याच आउट भएका हुन्। 

तेस्रो विकेट पतन भए पनि पाकिस्तान जितनजिक पुगेको थियो। मोहम्मद जिसन २० रनमा अविजित रहँदै अजानलाई साथ दिए। त्यसअघि हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४७.२ ओभरमा एक सय ५२ रनमै समेटियो। खराब सुरुआत गरेको नेपाल १६.६ ओभरमा ४६÷५ को नाजुक अवस्थामा थियो।  

तर, छैटौं विकेटका लागि उत्तम थापामगर र दीपेश कँडेलले ६८ रनको साझेदारी गर्दै नेपालको इनिङलाई सम्मानजनक योगफलमा अग्रसर गराए। उत्तमले ५० र दीपेशले ३१ रनको योगदान दिए। उत्तमले ७४ बलमा तीन चौका र दुई छक्का प्रहार गरे। ओपनर अर्जुन कुमालले २१ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। पाकिस्तानका मोहम्मद जिसनसामु नेपालका ब्याटर चल्नै सकेनन्।

उनले ६ विकेट लिँदै नेपालको इनिङ धराशयी बनाए। मध्यम गतिका बलर जिसनले ९.२ ओभरमा एक मेडनसहित १९ रन मात्र खर्चिए। अमिर हसनले दुई विकेट तथा उबेद शाह र अली असफन्दले समान एक विकेट लिए। नेपालले अब आइतबार अफगानिस्तानको सामना गर्नेछ।

प्रकाशित: २३ मंसिर २०८० ००:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App