१९ असार २०८१ बुधबार
image/svg+xml
कला

झलमल्ल धर्ती आहा कति राम्रो रैछ!

गजल

१) गजल

मिठोमिठो कुरा भयो छोटो हाम्रो बसाइमा,

न्यानोन्यानो माया बाँडियो अँगालोको कसाइमा।

हराभरा सौन्दर्यको अघि बसीबसी,

स्वच्छताको आभास भयो हाम्रो माया गँसाइमा।

नछुट्टिनै बोलूँबोलूँ हाँसूँहाँसूँ लागिरहन्थ्यो,

आकाश खुल्यो जून झुल्कियो तिम्रो मेरो हसाइमा।

मिठासपूर्ण शब्दभाव मनभित्र छल्किरहे,

मन मेरो झस्किदिन्छ मायाको त्यो खसाइमा।

पानी बर्सेझैं बर्से सम्झनाका तरेलीमा,

मनै चञ्चल बनिदिन्छ सम्झनाको रसाइमा।

२) गजल

मन्द मुस्कान मुहारमा अति राम्रो रैछ,

लगातार रहने चालमा गति राम्रो रैछ।

तिमी चाँप,चिमल र लालीगुराँस भएर फुल्दा,

सौन्दर्यको के कुरा मनै हर्ने अति राम्रो रैछ।

छाँगा,झरना र नदी बनेर कलकल बहँदा,

ऐनाझैं टल्किने तिम्रो मति राम्रो रैछ।

तिमी जून बनेर आकाशमा खुल्दाखेरि,

झलमल्ल धर्ती आहा कति राम्रो रैछ।

आफ्नो देश र प्यारा मान्छेहरूका लागि

जीउज्यान दिने तिम्रो मति राम्रो रैछ।

३) गजल

फूलको माला गलाभरि नबेरिदेऊ  चेली,

आँखाभरि आँसु बनाई नहेरिदेऊ चेली।

दशैंतिहार रंगीच‌ंगी बिर्सिएर जाँदैछु म,

यो मनको बहावलाई नफेरिदेऊ चेली।

आँखाभरि आँसु बनाई नहेरिदेऊ चेली।

सप्तरंगी सपना सजाएर अघि बढ्दैछु,

मनका मेरा सपनालाई नसेरिदेऊ चेली।

विवशताको घडीमा जादैछु म विदेश

किन विदेश जान्छौ भनी नकेरिदेऊ चेली।

देशभरि बेरोजगारको चाङ लागेको छ,

यात्रा अघि बढाउछु दुःख मान्दै नहेरिदेऊ चेली।  

प्रकाशित: १७ असार २०८१ ०८:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App