चोटको चिन्ताले सताएको झापा एफसीले सोमबार बलियो टोलीका रूपमा हेरिएको काठमाडौं रेजर्सलाई रोक्दै नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनमा दोस्रो बराबरी गरेको छ।
यसै सिजनबाट डेब्यु गरेको झापा एफसीले प्रतियोगिता सुरु हुनुभन्दा अगाडि महत्वपूर्ण खेलाडी लाकेन लिम्बूलाई गुमाएको थियो। लाकेन राष्ट्रिय टोलीको ड्युटीमा रहने क्रममा घाइते भएका थिए।
मिडफिल्डमा राम्रोसँग बल खेलाउन सक्ने क्षमता रहेका लाकेनको चोटले झापालाई ठूलो क्षति भयो। झापाले सुरुआत पनि राम्रो गर्न सकेन। सोहीअनुरूप झापाले एनएसएलमा डेब्यु खेलमा हार सामना गर्नुपर्यो। त्यसपछिका दुई खेलमा पनि झापाले जित निकाल्न सकेको छैन।
तर, नेपाली राष्ट्रिय टोलीका सदस्य अञ्जन विष्टको कप्तानीमा रहेको झापाले यस क्रममा दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी पोखरा थन्डर्सलाई बराबरीमा रोकेका थियो। राष्ट्रिय टोलीका महत्वपूर्ण मिडफिल्डर अञ्जन देशका लागि सर्वाधिक गोलकर्ता पनि हुन्। उनको उपस्थितिमा झापाका लागि विशेष थियो। तर, पोखरालाई १–१ को बराबरीमा रोक्दा झापाले चोटका कारण अञ्जनलाई गुमाउन पुग्यो। चोटलगत्तै मैदानमै सामान्य उपचारपछि खेलमा फर्किए पनि अञ्जन केही समयमा नै बाहिरिन बाध्य भएका थिए।
चोटका कारण अञ्जन तेस्रो खेलमा पनि उपस्थितिमा हुन पाएनन्। उनी करिब दुई हप्ता मैदानबाहिर रहन सक्ने झापाका टेक्निकल डाइरेक्टर मनोज बुर्लाकोटीले जानकारी दिएका छन्।
इलामसँगको खेलमा पनि भरत खवाससँग ठोकिँदा झापाका धीरज थताली मगरको नाकमा गहिरो चोट लागेपछि उनी मैदान फर्किएका छैनन्। अञ्जन पनि चोट बोकेपछि झापालाई थप झड्का लाग्न पुग्यो। यद्यपि, उनीबिना पनि झापाले अर्को बलियो टोली काठमाडौं रेजर्सलाई गोलरहित बराबरी रोक्यो।
खेलका रेफ्री नवीन्द्र महर्जनले खेल सकिएको अन्तिम सिटी फुकेलगत्तै झापाका अर्का मिडफिल्डर आवास लामिछाने पनि मैदानमा घाइते भए। उनलाई एम्बुलेन्समा लागिएको थियो। तर, उनी फिट नै रहेको झापाका टेक्निकल डाइरेक्टर बुर्लाकोटीले जनाए।
आवासको चोटले कुनै समस्या नभएकाले झापा अर्को क्षति हुनबाट जोगिएको छ। तर, लाकेन र अञ्जनजस्ता उत्कृष्ट मिडफिल्डरको अनुपस्थितिले भने झापाका लागि आगामी खेलमा चुनौती बन्न सक्नेछ। तर, झापाका प्रशिक्षक ओरिओल सेगुराले भने टोलीमा खेलाडीको अभाव नहुने विश्वास व्यक्त गरेका छन्।
सोमबार दशरथ रंगशालामा जारी सिजन अपराजित टोली काठमाडाैं रेजर्ससँग खेल्दा झापाले बलियो रक्षापंक्ति प्रस्तुत गर्दै महत्वपूर्ण एक अंक चोर्यो। यस क्रमका झापाका डिफेन्डर समान्डर ओचिलोभ म्यान अफ दी म्याच घोषित भए।
उनले केही उत्कृष्ट आक्रमण पनि बुनेका थिए। यसअघि काठमाडौंले भने पहिलो खेलमा स्पोर्टिङ इलामलाई १–० ले हराउँदै सुखद सुरुआत गरेको थियो। तर, त्यसपछि एफसी चितवनसँग १–१ को बराबरी खेलेको काठमाडौंले तेस्रो खेलमा पनि बराबरीको नतिजा सामना गर्यो।
यससँगै काठमाडौं तीन खेलबाट पाँच अंकसहित चौथो स्थानमा यथावत् छ। झापा भने तीन खेलबाट दुई अंकसहित आठौं स्थानमा छ। त्यसअघि खेलमा राम्रो अवसर सिर्जना हुन १४औं मिनेटसम्म कुर्नुपर्यो। काठमाडौंका कुलदीप कार्कीको लामो पास नियन्त्रणमा लिँदै हिसुब थपलियाको वान टच प्रहार झापाका गोलकिपर स्टेफन सुपिचले सहजै रोके।
२७औं मिनेटमा झापाले पहिलो अवसर बनायो। प्रदीप लामाको थ्रु बललाई जर्ज सान्चेजले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार काठमाडौंका गोलकिपरले रोके। ३१औं मिनेटमा सोखरुख महर्जनको फ्रिकिक प्रहार माथिल्लो बार हुँदै बाहिरिँदा काठमाडौं फेरि चुक्यो।
त्यसको तीन मिनेटपछि नै झापाका समिराज थोकरले पेनाल्टी क्षेत्रको लेफ्ट साइडबाट गरेको फितलो प्रहार काठमाडौंका गोलकिपर अभिषेक बरालले सहजै नियन्त्रणमा लिए। पहिलो हाफको थप समयमा सान्चेजले गोल गर्ने सुन्दर अवसर सदुपयोग गर्न सकेनन्।
प्रदीप लामासँग वान टु पासमा खेल्दै सान्चेजले पेनाल्टी क्षेत्रभित्रबाट गरेको फितलो प्रहार काठमाडौंका गोलकिपर बरालले सहजै रोके। त्यससँगै पहिलो हाफ गोलरहित बराबरीमै सकियो। दोस्रो हाफको सुरुआतमा नै झापाका सान्चेजले अग्रता बनाउने अवसर खेर फाले।
अन्तिम डिफेन्डर छक्याउँदै गरेको उनको फितलो प्रहार काठमाडौंका गोलकिपर बरालले सहजै रोके।
६४औं मिनेट झापाका ओचिलोभको प्रहार पनि बरालले उत्कृष्ट पन्च गर्दै बाहिर पठाए। ओचिलोभको सशक्त प्रहार काठमाडौंका अन्जन राईसँग डिफ्लेक्ट भएर दिशा परिवर्तन गरे पनि बरालले उत्कृष्ट बचाउ गरेका हुन्।
लगत्तै ओचिलोभको सशक्त प्रहार पनि काठमाडौंका खेलाडीलाई ठोकिएर बाहिरिन पुग्यो। काठमाडौंका तोजिडिनोभ कोमिवानले पेनाल्टी क्षेत्रभन्दा केही बाहिरबाट गरेको फ्रिकिक प्रहार माथिल्लो बारभन्दा केही माथिबाट बाहिरियो। ८६औं मिनेटमा एनकेङ्ग्यु जुनियरले काठमाडौंको अग्रता लिने अवसर गुमाए।
राजीव लोप्चनले दिएको पासमा नियन्त्रण गर्दै अगाडि बढेका जुनियरको पेनाल्टी क्षेत्रबाट गरेको प्रहार झापाका गोलकिपर सुपिचले उत्कृष्ट बचाउ गर्दै आफ्नो टोलीको संकट टारे। त्यसपछि बाँकी समयमा पनि गोल हुन सकेन र खेल बराबरीमै टुङ्गियो।
काठमाडौं रेजर्सका प्रशिक्षक बालगोपाल महर्जनले लक्ष्यअनुरूप खेलाडीले खेल्न नसक्दा बराबरीमै चित्त बुझाउनुपरेको बताए। ‘लक्ष्यअनुरूप प्रदर्शन हुन सकेन। बल पोजिसन पनि हाम्रो पक्षमा राख्न सकेनौं। हाम्रा विदेशी र स्वदेशी खेलाडीहरूले पनि राम्रो खेल्न सकेनन्। अंकतालिकाको शीर्ष स्थानमा रहने अवसर गुमायौं,’महर्जनले भने, ‘तर तीन अंक नपाए पनि एक अंकमा पनि खुसी छु।’
प्रकाशित: १९ मंसिर २०८० ००:५१ मंगलबार





