२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

चितवनको पहिलो जित

वीरगन्ज युनाइटेडविरुद्ध गोल गरेपछि एफसी चितवनका विमल घर्तिमगर । तस्बिर सौजन्यः विशाल पन्थ

टोरिक जेब्रिनको निर्णायक गोलप्रेरित एफसी चितवनले नेपाल सुपर लिग(एनएसएल) कै पहिलो विजयरेखा कोर्दा शुक्रबार वीरगन्ज युनाइटेड एफसीलाई स्तब्ध बनाएको छ। 

एनएसएलको नवौं खेलमा चितवनको यो पहिलो जित हो। पहिलो सिजनका सबै (६) खेलमा जितविहीन चितवन यस सिजन पनि सुरुआती दुई खेलमा जितविहीन रह्यो। तर, तेस्रो खेलमा वीरगन्जमाथि २–१ को नतिजासँगै चितवनले एनएसएलमा आफ्नो पहिलो जित दर्ता गरेको छ। पहिलो संस्करणमा ६ मध्ये चार खेलमा हार बेहोरेको चितवनले दुई बराबरीको नतिजा सामना गरेको थियो। यसअघि पहिलो खेलमा पोखरा थन्डर्ससँग १–० को हार सामना गरेपछि यस सिजन पनि चितवनले सुखद सुरुआत गर्न सकेन।

त्यसपछि दोस्रो खेलमा पनि इन्जुरी समयमा अग्रता जोगाउन नसक्दा चितवन जितविमुख बन्यो। त्यो खेलमा चितवनले डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्ससँग १–१ को बराबरी खेल्दै अंक बाँड्न पुग्यो। शुक्रबार पनि सुरुआती अग्रता जोगाउन नसकेको चितवनले दोस्रो गोल गर्दै एनएसएलमा आफ्नो पहिलो जित आत्मसात् ग¥यो। पहिलो जित निकालेपछि चितवनका भारतीय प्रशिक्षक मेहराजुद्दिन वाडुले टोलीमा आत्मविश्वास बढेको बताएका छन्। ‘जित धेरै महŒवपूर्ण थियो। सबैले एक टिम भएर खेल्दा जित सम्भव भयो। जितलाई निरन्तरता दिन चाहन्छौं,’ वाडुले भने।

वीरगन्जले पनि कडा चुनौती दिएको उल्लेख गर्दै प्रशिक्षक वाडुले आफ्ना खेलाडीको गोल उत्कृष्ट भन्दै तारिफ गरे। ‘खेल सहज थिएन र वीरगन्जले राम्रो खेल्यो। काठमाडौं र पोखरासँगको भन्दा आज टोलीले राम्रो खेल्यो। यो जितले आत्मविश्वास बढेको छ। हामी अभैm उत्कृष्ट प्रदर्शन गर्नेछौं,’ प्रशिक्षक वाडुले भने, ‘दुवै गोल उत्कृष्ट पनि रह्यो।’ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चितवनको जितमा जेब्रिनसँगै विमल घर्तीमगरले गोल गरे। वीरगन्जका आइकिन्स बाफौरले एक गोल फर्काए पनि आफ्नो टोलीको हार टार्न सकेनन्। यससँगै वीरगन्जले दोस्रो हार सामना गर्‍यो।

पहिलो खेलमा वीरगन्ज धनगढी एफसीसँग २–१ ले पराजित भएको थियो। त्यो खेलमा पनि बराबरीमा फर्किएको वीरगन्जले अन्तिममा खेल सुम्पिएको हो। यद्यपि, दुवै टोलीबाट खासै धेरै गोल अवसर भने सिर्जना भएन। तर, थोरै अवसरमा पनि दुवैले गोल गरे। पहिलो गोल अवसर हेर्न करिब आधा घण्टा कुर्नुपर्‍यो। खेलको २८औं विमलले गोल गर्दै चितवनलाई अग्रता दिलाए। मध्यभागबाट रोशन रानामगर निकालेको उत्कृष्ट ‘थ्रु’ बल नियन्त्रणमा लिएका विमलले वीरगन्जका गोलकिपर दीप कार्कीलाई पनि बिट गर्दै खाली पोस्टमा गोल गरेका हुन्।

३२औं मिनेटमा राफिक अमिनुले चितवनको अग्रता दोब्बर बनाउने अवसर पाए। तर, उनको महŒवाकांक्षी प्रहार वीरगन्जका गोलकिपर कार्कीले सहजै नियन्त्रणमा लिए। वीरगन्जले पहिलो हाफमा कुनै आक्रमण बनाउन सकेन। त्यससँगै पहिलो हाफ सकिँदा चितवनले १–० को अग्रता लियो। तर, दोस्रो हाफमा गोल फर्काउँदै वीरगन्ज खेलमा फर्कियो। ५५औं मिनेटमा बाफौरले गोल गर्दै वीरगन्जलाई खेलमा फर्काए। विलियम ओपोकुको कर्नर बललाई बाफौरले हेडरमार्पmत जाली चुमाए। उनको हेडर बल चितवनका गोलकिपर विशाल श्रेष्ठले पत्तै पाएनन्।

त्यो गोलसँगै दुवै टोलीले खासै लोभलाग्दो मुभ बनाउन सकेनन्। तर, ६८औं मिनेटमा टोरिक जेब्रिनले गोल गर्दै चितवनलाई पुनः अग्रता दिलाए। विमलको पासलाई टोरिकले करिब २२ यार्ड टाढाबाट गरेको सशक्त प्रहार गोलमा परिणत भयो। उनले दोस्रो बार च्याप्दै गरेको प्रहारको वीरगन्जका गोलकिपर कार्कीसँग कुनै जबाफ नै थिएन। त्यसपछि दुवै टोलीबाट खासै राम्रो अवसर सिर्जना भएन। ९ मिनेट थप गरिए पनि वीरगन्ज खेलमा फर्किन असफल भयो र चिवतनले एनएसएलकै पहिलो जित प्राप्त गर्‍यो।  

जितसँगै तीन खेलबाट चार अंक जोडेको चितवन अंकतालिकाको पाँचौं स्थानमा उक्लियो। दुई खेलमा अंकविहीन वीरगन्ज भने पुछारमा छ। लगातार दोस्रो हारपछि वीरगन्ज युनाइटेडका प्रशिक्षक सनोज श्रेष्ठले हार बेहोरे पनि पहिलो खेलमा भन्दा सुधारिएको प्रदर्शन भएको धारणा राखे। ‘खेलमा सुधार गरेका थियौं। तर अन्तिममा डिफेन्सबाट गल्ती भयो। हाम्रा विदेशी खेलाडीले सोचेअनुसार प्रदर्शन गर्न सकेनन्। गोल निस्कन सकिरहेको छैन,’ श्रेष्ठले भने,‘दोस्रो हारले दबाब बढाएको छ। तर, आगामी खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्ने प्रयास गर्छौं।’

प्रकाशित: १६ मंसिर २०८० ०१:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App