२७ मंसिर २०८१ बिहीबार
image/svg+xml
खेल

महिला क्रिकेट विकासमा बागमती खेलकुद परिषद्

प्रदेश खेलकुद विकास परिषद्, बागमतीले बाग्मती प्रदेश क्रिकेट संघसँगको सहकार्यमा प्रधानमन्त्री कप महिला क्रिकेट छनोट प्रतियोगिता गर्ने भएको छ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रदेश खेलकुद विकास परिषद्, बागमतीले प्रदेश क्रिकेट संघसँग मिलेर तीनवटा प्रतियोगिता गर्न लागिएको जनाएको हो।

सम्झौताअनुरूप हुने बागमती प्रदेश प्रधानमन्त्री कप महिला क्रिकेट छनोट प्रतियोगिता, बागमती प्रदेश एलिट ट्रफी तथा बाग्मती प्रदेश द्विपक्षीय सिरिजको सम्पूर्ण तयारी पूरा भएको प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारीले जानकारी दिए। आगामी मंसिर १५ देखि २९ गतेसम्म विभिन्न चरणको प्रतियोगितामा विभिन्न जिल्लाका ८४ खेलाडीको सहभागिता रहनेछ।

प्रतियोगिताबाट छनोट भएका खेलाडीलाई आगामी पुस १ गतेदेखि हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा र बागमती प्रदेशले फागुन २५ गतेदेखि आयोजना गर्ने प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुदमा सहभागी गराइने विज्ञप्तिमा उल्लेख छ।

छनोट भएको टोलीले एपिएफ क्लबसँग मैत्रीपूर्ण खेल पनि खेल्ने भएको छ। उक्त खेल आगामी मंसिर २७, २८ र २१ गते तीन दिनसम्म हुनेछ। पुरुष टोलीको सफलतासँगै महिला क्रिकेटको पनि विकास गर्नुपर्छ भन्ने उद्देश्यअनुरूप यस किसिमको कार्यक्रम अगाडि बढाइएको बागमती प्रदेश खेलकुद परिषद्का सदस्यसचिव भण्डारीले जानकारी दिए।

छनोट प्रतियोगिताको उद्घाटनसँगै १० वटा खेल चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालामा र ६ वटा खेल मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन्।

बाग्मती प्रदेश खेलकुद परिषद्ले क्रिकेट रंगशाला लगायतका भौतिक पूर्वाधार निर्माणसँगै खेलाडीको क्षमता विकासका लागि विभिन्न किसिमका तालिम तथा प्रतियोगिता सञ्चालन गर्ने योजनाअनुरूप यी प्रतियोगिता अगाडि बढाएको उल्लेख गरेको छ।

प्रतियोगिताको सम्पूर्ण प्राविधिक व्यवस्थापन बागमती प्रदेश क्रिकेट संघले गर्ने भएको छ। यस प्रतियोगिताका लागि प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले २५ लाख रूपैयाँ बजेट प्रदान गर्नेछ।

प्रकाशित: १५ मंसिर २०८० ०१:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App