२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

नेपाल सुपर लिंग: दोस्रो जितबाट धनगढी शीर्षमा

लेबनानका अहमद हिजाजीको प्रहार रोक्दै बुटवल लुम्बिनीका गोलकिपर मोहमोडौ।

दुई विदेशी खेलाडी अहमद हिजाजी र ओलावाले आफिज चम्किँदा धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा लगातार दोस्रो जित निकाल्दै शीर्षता बनाएको छ।

गत संस्करणको उपविजेता धनगढी एफसीले बिहीबार बुटवल लुम्बिनीमाथि १–० को जित निकाल्न दुई विदेशी खेलाडी हिजाजी र आफिजको भूमिका महत्त्वपूर्ण रह्यो। पहिलो खेलमा धनगढीले दुई गोल गर्दा पनि यी दुईको नै भूमिका थियो।

पहिलो खेलमा आफिजकै एसिस्टमा धनगढीले अग्रता बनाउँदा हिजाजीको गोल निर्णायक बन्यो। यस पटक भने हिजाजीकै उत्कृष्ट क्रस बलमा आफिजले गोल गर्दै बराबरीको नतिजातर्फ उन्मुख खेलमा आफ्नो टोलीलाई महत्त्वपूर्ण तीन अंक दिलाए। नाइजेरियाका स्टार आफिजको निर्णायक गोलप्रेरित धनगढीसँग स्तब्ध भएसँगै बुटवलले लगातार दोस्रो हार सामना गर्नुपर्‍यो।

दशरथ रंगशालामा धनगढीको दुवै जित अन्तिम समयको गोलबाट सम्भव बन्यो। धनगढीले दुई खेलमा ६ अंक बटुल्दा समान खेलबाट बुटवल भने अंकविहीन छ। बुटवल लुम्बिनीका प्रशिक्षक विजय महर्जनले फिनिसिङमा चुक्नु नै हारको कारण रहेको प्रतिक्रिया दिए।

‘बल पोजिसन हाम्रो पक्षमा थियो। तर, अवसर सदुपयोग गर्न सकेनौं। रेफ्रीको निर्णय पनि चित्त बुझ्दो भएन। धनगढीको गोल क्लियर अफसाइड थियो,’ महर्जनले भने, ‘फिनिसिङमा चुक्नु नै हारको कारण हो।’ पहिलो खेलमा ललितपुर सिटी एफसीसँग पराजित बुटवलले अहिलेसम्म गोल गर्न सकेको छैन। ‘गोल निस्केको छैन,’ बुटवलका प्रशिक्षक महर्जनले भने, ‘अझै ६ खेल बाँकी छ र हामी सुधार गर्छौं।’

दोस्रो चरण सकिँदा धनगढीले अंकतालिकामा अग्रता बनाउने भएको छ। झापा एफसी र वीरगन्ज युनाइटेडले मात्र दोस्रो खेल खेल्न बाँकी छ। दुवैले पहिलो खेल गुमाएका थिए। शीर्ष चारका ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स र पोखरा थन्डर्सले समान एक जित र बराबरीको नतिजा सामना गरेका छन्। बुटवलले निकै चुनौती दिए पनि धनगढीले अन्तिम समयतिर गोल निकाल्दै सनीसनी पूर्ण जित निकाल्यो।

यद्यपि, दुवैले खेलअवधि धेरै अवसर सिर्जना गरे। १९औं मिनेटमा बुटवलका एरिक विष्टको फ्रिकिकलाई धनगढीका गोलकिपर मोहम्मद ताहाले जोगाए। धनगढीका आशिष चौधरीले जिलेस्पीजंग कार्कीलाई लडाएपछि बुटवलले अवसर पायो।

करिब २० यार्डबाट एरिकको प्रहार ताहाले जोगाए। २५औं मिनेटमा धनगढीका हिजाजीले गरेको प्रहार पोस्टमा लागेर फर्कियो। आशिष चौधरीले लेफ्ट साइटबाट दिएको पास नियन्त्रणमा लिँदै हिजाजीको प्रहार पोस्टमा लागेर बाहिरिएपछि धनगढी अग्रता लिनबाट चुक्यो।

३६औं मिनेटमा एरिकको कर्नरमा जिलेस्पीजंगको हेडर धनगढीका अभिषेक गुरुङले गोल लाइनबाट क्लियर गर्दै आफ्नो टोलीको संकट टारे। रिबाउन्डमा सेर्जे सङको प्रहार पनि धनगढीका कप्तान देवेन्द्र तामाङबाट डिफ्लेक्ट भयो। जबाफी काउन्टरमा धनगढीले मौका बनाए पनि अभिषेक गुरुङ फ्रि हेडरमा गोल गर्न असफल भए।

हिजाजीको क्रसमा पेनाल्टी बक्सभित्र अनमार्क अभिषेकले अवसर खेर फाले। बुटवलले ४०औं मिनेटमा अर्को गोल अवसर बनायो। तर, सङको प्रहार धनगढीका गोलकिपर ताहाले मुस्किलले जोगाउँदै संकट टारे। त्यससँगै पहिलो हाफ बराबरीमा नै सकियो।

५२औं मिनेटमा बुटवलको अग्रता लिने अवसरमा गोलकिपर ताहा नै बाधक बने। सरोज तामाङको क्रस नियन्त्रणमा लिँदै जिलेस्पीजंगले गरेको प्रहार ताहाले बाहिर पठाए। ७१औंं मिनेटमा बुटवलले अर्को अग्रता लिने मौका गुमायो।

आशिष लामाको काउन्टर प्रहार पेनाल्टी बक्सभित्र अनमार्क स्टेफन बिनोङ र नीराजन धामीले भेटाउन नसक्दा बुटवलको अवसर गुम्यो। ७४औं मिनेटमा धनगढीका आफिजले अवसर सदुपयोग गर्न सकेनन्। पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिँदा बुटवलको खतरा टर्‍यो।

खेलको अन्तिम समयमा बुटवलले अर्को अवसर खेर फाल्यो। पेनाल्टी बक्सभित्र आशिष लामाको प्रहार पोस्ट नजिकैबाट बाहिरिन पुग्यो। निशान लिम्बुले दिएको पासमा ओलावालेले अफसाइड बिट गर्दै गरेको प्रहार बुटवलका गोलकिपरले उत्कृष्ट बचाउ गरे। तर, इन्जुरी समयमा भने ओलावालेले कुनै गल्ती गरेनन्। उनले हिजाजको उत्कृष्ट क्रस बल नियन्त्रणमा लिँदै बुटवलका गोलकिपर मोहमडोको ‘खुट्टा मुनिबाट’ गोल गर्दै महत्त्वपूर्ण जित सुनिश्चित गराए।

जितपछि धनगढीका प्रशिक्षक युगलकिशोर राईले तीन अंक पाउँदा खुसी लागेको भए पनि सुधार गर्नुपर्ने धेरै ठाउँ रहेको बताए। ‘खेल गाह्रो थियो। तर, पनि तीन अंक आएको छ। दोस्रो हाफमा रणनीति परिवर्तन गर्दै सम्हालिएर खेल्याैं।

हाम्रा लागि सोचेअनुसारको खेल नभए पनि समर्थकका लागि भने राम्रो भयो,’ युगलकिशोर राईले भने, ‘फिटनेस र मनोवैज्ञानिक रूपमा टिम बलियो छ। धेरै अवसर खेल फाल्यौं। तर, पनि जितले खुसी छु। हरेक खेलमा राम्रो गर्दै जान्छौं।’

प्रकाशित: १५ मंसिर २०८० ०१:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App