२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको झाडी फाड्ने काम सुरु

चितवनमा अलपत्र बनेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको झाडी फाड्ने काम सुरु गरिएको छ।बागमती प्रदेश सरकारले रंगशाला निर्माणका लागि बजेट विनियोजन गरेपछि भरतपुर महानगरपालिकाको नेतृत्वमा झाडी फाड्न सुरु गरिएको हो।

सरसफाई अभियानको सुरुवात गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अलपत्र बनेको रंगशाला निर्माणलाई छिट्टै निरन्तरता दिने बताएकी छिन्।

‘बागमती प्रदेश सरकारको सहयोगमा रंगशाला निर्माणका लागि ७५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ। यसमा महानगरपालिकाले ३० प्रतिशत राख्ने निर्णय छ’उनले भनिन् ‘अब छिट्टै टेण्डर आह्वान गरेर काम अगाडि बढाइन्छ ।’ उनले डिपिआरको काम अगाडि बढिसकेको बताइन् ।

बजेट अभावका कारण निर्माण कार्य अलपत्र नपर्ने समेत उनले दाबी गरेकी छिन्। ‘बागमती प्रदेशको बजेट छ । संघले यस रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा घोषणा गरिसेको छ।केन्द्रले बजेट हाल्ने कुरामा दुविधा छैन,’ उनले भनिन् ‘प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय र खेलकुद मन्त्रालयसंग पनि कुरा भएको छ काम अगाडि बढ्छ।’ सरसफाइपछि प्रदेश स्तरिय क्रिकेट प्रतियोगिता गर्ने योजना रहेको उनले बताईन्।

यो परियोजना तीन अर्ब ५५ करोड रुपैयाँको हो।अन्य रकम थप गर्दै जाने प्रमुख दाहालले बताईन्।‘एकै पटक बजेट विनियोजन गरेर जान हाम्रो आर्थिक संकटका कारण नसकेको हो,’ उनले भनिन् ‘अहिले खेल्न मिल्ने मैदान निर्माण गर्न लागेका हौँ। आगामी बर्षमा संघ र प्रदेश सरकारले पनि बजेट विनियोजन गर्दै जानेछन्।यसअघि बागमती प्रदेश सरकारले बजेट विनियोजन गरेको थियो।काम नभएर बजेट फिर्ता भएको थियो।’

सहयोग जुटाएर निर्माण गर्न लागेको रंगशाला धुर्मुश सुन्तली फाउन्डेसनले बजेट अभाव भएपछि काम रोकेको थियो।अहिले पनि रंगशालाको ऋण १२ करोड रहेको बताइएको छ । कानुनी प्रकृया पुरा गरेर ऋण तिर्ने दाहालले बताईन् । ‘ऋणलाई पार लगाएर निर्माण कार्यलाई अगाडि बढौँ भन्ने सोच थियो । त्यतिखेर बजेट आएर पनि काम अगाडि बढ्न सकेन’ उनले भनिन् ‘अन्तिम प्रयास के छ भने काम अगाडि बढाउँदै जाने र ऋण तिर्ने बारेमा व्यवस्थापनका पनि आगडि बढाउने सहमती भएको छ ।’ यसअघि संघिय सरकारले ऋण तिर्नको लागि १२ करोड विनियोजन गरेको बताइएपनि अहिलेसम्म तिरिएको छैन।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको प्यारापिटको पहिलो चरणको काम सकिएको छ । तीन हजार दर्शक क्षमता भएको प्यारापिटका २ सय ८६ वटा पिलर उठाइएको छ। तीन अर्ब ५५ करोड लागत अनुमान गरिएको रंगशालाको ३५ प्रतिशत काम सकिँदा ५४ करोड खर्च भएको छ । ऋण नै १२ करोड पुगेपछि अब नसक्ने भन्दै धुर्मुस–सुन्तलीले रोके काम रोकेका थिए । २०७५ माघ १६ मा राज्यको सहभागितामा चितवनको रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परियोजना घोषणा भएको थियो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस महामन्त्री शशांक कोइराला, त्रिभुवन विश्वविद्यालयका उपकुलपति, कृषि वन विश्वविद्यालयका उपकुलपति लगायत मन्त्री, सांसद, खेलाडीको उपस्थितिमा घोषित परियोजना अगाडि बढेको थियो।सर्वसाधारणबाट पैसा संकलन हुन छाडेपछि दुई बर्षदेखि नै रंगशाला निर्माणको काम अलपत्र छ।त्यहाँ उठाइएका पिल्लरका रडमा खिया लागेको छ। घाँस रोपिएको खेल मैदान अहिले झाडीले भरिएको छ।  

रंगशाला निर्माणका काम आगडि बढेपनि अझै जग्गा रंगशालाको नाममा छैन । त्रिभूवन विश्वविद्यालयको नाममा रहेको छ।भरतपुर महानगरपालिका वडा नम्बर १५मा रहेको कृषि क्याम्पसको जग्गामा रंगशाला निर्माण हुन लागेको हो। जग्गा प्राप्तिको काम पनि अगाडि बढ्दै जाने उनले दाबी गरिन्।‘जग्गाका लागि कृषि क्याम्पस भरतपुर महानगरपालिका र नेपाल सरकार बिच त्रिपक्षिय सहमति भएको हो। सट्टा भर्नाभन्दा अर्को प्रकृया गरौँ भन्ने थियो,’ उनले भनिन् ‘कानुनी प्रकृया मिलाएर समाधान होला।’उनले अर्को प्रकृया के भन्ने विषय भने स्पष्ट पारिनन्। 

प्रकाशित: ८ मंसिर २०८० १०:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App