१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

छैटौं विश्वकप उपाधिको लक्ष्यमा अस्ट्रेलिया

अस्ट्रेलियाले आठौं पटक विश्वकप क्रिकेटको फाइनल खेल्दा रोहित शर्मा नेतृत्वमा रहेको भारतको चुनौती सामना गर्ने भएको छ।

बिहीबार सेमिफाइनलमा झीनो योगफलमा समेटिएको दक्षिण अफ्रिकाविरुद्ध जित निकाल्दै प्याट कमिन्सको नेतृत्वमा रहेको अस्ट्रेलियाले यो सफलता पाएको हो।

कप्तान कमिन्स र मिचेल स्टार्कको बलिङ प्रेरणामा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई २१२ रनको झीनो योगफलमा नै रोक्यो। जबाफमा ब्याटिङ गरेको अस्ट्रेलियाले पनि निकै संघर्ष गर्दै तीन विकेटको साँघुरो जित निकाल्यो र आठौं पटक विश्वकपको फाइनलमा स्थान बनायो।

‘केही समय हामीले पनि निकै संघर्ष गर्नुपर्‍यो। तर, सबैले राम्रो इफोर्ट लगायौं र खेलमा जित सम्भव भयो,’कमिन्सले भने। २९ बलमा उनी १४ रनमा अविजित पनि रहे। दक्षिण अफ्रिकाले खराब फिल्डिङ गरेपछि अस्ट्रेलियाले त्यसको फाइदा लियो र छैटौं पटक विश्वकप उचाल्ने लक्ष्य जारी राख्यो।

अस्ट्रेलियाले आइतबार आयोजक भारतसँग उपाधिका लागि अहमदाबादमा प्रतिस्पर्धा गर्नेछ। तर, राम्रो लयमा नरहेको अस्ट्रेलियाले अपराजित टोली भारतसँग खेल्न संघर्ष नै गर्नु पर्नेछ।

अस्ट्रेलियाले पहिलो दुई खेलमा हार बेहोरेपछि खराब सुरुआत गरेका थियो। यद्यपि, लगातार सात खेलमा जित निकालेपछि अस्ट्रेलियाले फाइनलमा स्थान बनाएको हो।

 सेमिफाइनलमा ट्राभिस हेडले ६२ रन र डेभिड वार्नरले १८ बलमा २९ रन बनाएपछि अस्ट्रेलियाको सहज जित अनुमान गरिएको थियो। पहिलो ६ ओभरमा नै यो जोडीले ६० रन जोड्दै दक्षिण अफ्रिकी बलरमाथि दबाब बनाए। तर, दक्षिण अफ्रिकी स्पिनरले अस्ट्रेलियाको शीर्ष क्रमलाई धरासयी बनाए।

अफ स्पिनर एडेन मार्क्रमले वार्नरलाई आफ्नो पहिलो बलमा नै बोल्ड गरे। केही समय अगाडि मात्र विश्व नम्बर एक केशव महाराजले हेडलाई पनि पभेलियन फर्काए। १५औं ओभरमा उनी बलिङमा आउनु अगाडि अस्ट्रेलिया सहज जिततर्फ अग्रसरतर्फ अग्रसर थियो। तर, त्यसपछि दक्षिण अफ्रिकी बलरले विकेट लिँदै दबाब बनाउन सुरु गरे। यद्यपि, यसबीच दक्षिण अफ्रिकाले क्याच छाड्यो र खेल पनि गुमायो। अस्ट्रेलिया र भारतबीचको फाइनल एक लाख क्षमता रहेको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा प्रतिस्पर्धा हुनेछ।

कमिन्सले फाइनल अगाडि खेलाडीहरू लयमा देखिनु राम्रो संकेत रहेको बताए। ‘फाइनल अगाडि केही खेलाडी लयमा आउनु हाम्रो लागि राम्रो पक्ष हो,’कमिन्सले भने, ‘यो स्टेडियम धेरै समर्थकले भरिपूर्ण हुनेछ। त्यहाँ पूर्ण एक पक्षीय नै देखिनेछ। तर, पनि त्यो सुन्दर नै हुनेछ। भारतको घरेलु मैदानमा हुने फाइनलका लागि हामी प्रतीक्षामा नै छौं।’

 समूहचरणमा भारतले अस्ट्रेलियालाई हराएको थियो। समूहमा ९ जित निकालेको भारत घरेलु मैदानमा अस्ट्रेलियाविरुद्ध पूर्ण हाबी पनि हुन सक्नेछ।

प्रकाशित: २ मंसिर २०८० ०३:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App