२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

अभिलाषा र प्रदीपलाई उपाधि

जुनियरमा दोहोरो स्वर्ण विजेता विश्वविशेष डल्लाकोटी (बायाँ) र सरा पन्त पदकसाथ।

अभिलाषा विष्ट र प्रदीप खड्काले शनिबार तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको सिंगल्सतर्फको उपाधि जितेका छन्।

सातदोबाटोस्थित टेनिस कोर्टमा सम्पन्न प्रतियोगिताको पुरुषतर्फ प्रदीप र महिलामा अभिलाषा च्याम्पियन बनेका हुन्। पुरुष फाइनलमा प्रदीपले ऋतिक राणालाई ७-५, ४-६ र ६-३ को सेटमा पराजित गरे। महिलाको उपाधि भिडन्तमा अभिलाषाले प्रकृति श्रेष्ठलाई ६-० र ६-० ले सहजै हराइन्। पुरुष/महिला दुवैमा पहिलो हुनेले १ लाख तथा दोस्रोले ५० हजारका दरले नगद पुरस्कार हात पारे। प्रदीप र अभिलाषाले प्रतियोगितामा दोहोरो स्वर्ण जिते। दुवैले डबल्समा पनि स्वर्ण जिते।

प्रदीपले निहालजंगबहादुर थापा तथा अभिलाषाले माहिका राणासँग मिलेर स्वर्ण हात पारेका हुन्। भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा राष्ट्रिय पूर्वच्याम्पियन जितेन्द्र परियार पहिलो भए। उनले फाइनलमा कमलबहादुर भण्डारीको चुनौती ६-२, १-६ र १०-८ ले पन्छाए। जितेन्द्रले ५० हजार तथा कमलले २५ हजार नगद पुरस्कार पाए।

वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा संयुक्त आयोजित प्रतियोगिताको सिनियर, भेट्रान र जुनियरमा गरी कुल २३ स्पर्धामा प्रतिस्पर्धा भएको थियो।

यसअघि भेट्रान ३५ वर्षमाथि पुरुष डबलसमा सुभाष बस्नेत र सन्तोष खत्री, ४५ वर्षमाथि पुरुष सिंगल्समा महेश श्रेष्ठ, ४५ वर्षमाथि पुरुष डबल्समा रोहित सुनुवार र यज्ञबहादुर भण्डारी, ५५ वर्षमाथि पुरुष सिंगल्समा विमलकुमार गुरुङ, ५५ वर्षमाथि पुरुष डबल्समा सुदर्शन विष्ट र जीवन घिमिरे तथा ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापा पहिलो भए।

जुनियरमा शिभाली गुरुङ, विश्वविशेष डल्लाकोटी, सरा पन्त र वृजेश अर्यालले पनि दोहोरे स्वर्ण जित्न सफल भए। शिभालीले यु–१२ र यु–१४ गर्ल्स सिंगल्समा स्वर्ण जितिन्। विश्वले यु–१० र यु–१२ ब्वाइज सिंगल्सको फाइनलमा बाजी मारे। सरा यु–९ र यु–१० गल्र्स सिंगल्समा अब्बल बनिन्। यु–१४ ब्वाइज सिंगल्समा स्वर्ण जितेका वृजेशले डबल्समा शाश्वत वज्राचार्यसँग मिलेर पहिलो बने।

त्यस्तै यु–८ सिंगल्सको ब्वाइजमा भिरल अग्रवाल र गल्र्समा निम्ति कुँवर, यु–९ ब्वाइज सिंगल्समा निश्चल ज्ञवाली तथा गर्ल्स डबल्समा स्वस्तिका विष्ट र मेरिशा थापाले शीर्ष स्थान हात पारे।

विजेतालाई पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह, प्रतियोगिता संयोजक भाष्करमान सिंह र आयोजक कमिटीका अध्यक्ष सञ्जीव तुलाधरलगायतले पुरस्कार वितरण गरे। आठदिने प्रतियोगितामा करिब २ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए। जुनियरका पदक विजेतालाई भने गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो।

प्रकाशित: २६ कार्तिक २०८० ०३:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App