१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

असम्भव नतिजाको आशामा पाकिस्तान

अभ्यासका क्रममा पाकिस्तानी क्रिकेट टोली। तस्बिर: एजेन्सी

पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजमले शुक्रबार आफ्ना आलोचकको आलोचना गर्दै टेलिभिजनमा बसेर सल्लाह दिन सहज हुने बताएका छन्।

विश्वकपको सपना अझै रहेको उल्लेख गर्दै पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबरले टेलिभिजनबाट सल्लाह दिन सहज नै रहेको भन्दै आफ्ना आलोचकको आलोचना गरेका हुन्। नेट रनरेटका आधारमा न्युजिल्यान्डलाई पछि पार्दै सेमिफाइनलमा स्थान बनाउन पाकिस्तानले समूहको अन्तिम खेलमा शनिबार डिफेन्डिङ च्याम्पियन इङ्ल्यान्डलाई कम्तीमा २८७ रनले हराउनुपर्नेछ।

पाकिस्तानको सेमिफाइनल यात्रा निकै कठिन रहेपछि उनको कप्तानीमाथि धेरै प्रश्नसमेत उठिरहेका छन्। पछिल्ला तीन वर्षदेखि कप्तानी गरेका बाबरले लगातार आलोचना सामना गरिरहँदा उनको यो भनाइ आएको हो।

‘यो विश्वकपमा जसरी प्रदर्शन गर्न चाहेका हौं, त्यो हुन सकिरहेको छैन। त्यसैले मानिसहरू म दबाबमा छु भनिरहेका छन्। तर, म कुनै पनि किसिमको दबाबमा छैन,’ २९ वर्षे बाबरले भने, ‘सबैको आआफ्ना धारणा र विचार छन्। सबै केही फरक चाहन्छन्। बाबरले यो गर्नुपर्छ त्यो गर्नुपर्छ भन्छन्।’

बाबरले आफूलाई सल्लाह दिइरहेका धेरै जनासँग आफ्नो नम्बर रहेको र सीधै म्यासेज गर्न आग्रह गरेका छन्। ‘टेलिभिजनबाट सल्लाह दिन सहज छ। तर, उहाँहरू मलाई सल्लाह दिन चाहनुहुन्छ भने सीधै मलाई म्यासेज गर्दा हुन्छ,’ बाबरले भनेका छन्। बाबरले जारी विश्वकपमा ४० को औसतले कुल दुई सय ८२ रन जोडेका छन्। यस क्रममा उनको चारवटा अर्धशतक पनि छ।

तथापि, जारी विश्वकपमा कप्तानका रूपमा भने उनको नतिजा निकै खराब छ। आठ खेलमा उनको नेतृत्वमा पाकिस्तानले चार हार सामना गरेको छ। यस क्रममा पाकिस्तानले अफगानिस्तानसँग अप्रत्याशित हार पनि सामना गर्नुपर्‍यो भने दक्षिण अफ्रिकासँग एक विकेटको साँघुरो अन्तरले स्तब्ध भयो। तथापि, वर्षाले प्रभावित भएको खेलमा पाकिस्तानले न्युजिल्यान्डमाथि नाटकीय जित निकाल्दा पाकिस्तानको अन्तिम चारको सम्भावना अझै जीवन्त रह्यो। त्यति बेला न्युजिल्यान्डले ४०१/६ को बलियो योगफल खडा गरेको थियो।

तर, खेल वर्षाले प्रभावित भएपछि फखर जमानको ८१ बलमा अविजित १२६ रनको इनिङले पाकिस्तानलाई जित दिलायो। बाबरले इङ्ल्यान्डविरुद्ध असम्भव देखिने जितको आवश्यकता भए पनि सफलता आशा गरेको बताएका छन्।

‘हामी त्यो अंकगणीततर्फ ध्यान नै दिएका छैनौं। मेरो मस्तिष्कमा पनि त्यसबारे केही छैन। तर, हामी त्यो नतिजाका लागि प्रयास गर्छौं,’ आजमले भने, ‘हामीलाई राम्रो सुरुआतको आवश्यकता छ। त्यसका लागि राम्रो योजना आवश्यक हुनेछ। सुरुमा हामी पहिलो १० ओभर र त्यसपछि २० ओभरमा कसरी त्यो लक्ष्य भेट्टाउन सक्छौं भनेर काम गर्नेछौं।’

त्यो खेलमा जितभन्दा पनि अन्य धेरै पक्ष महत्वपूर्ण रहेको बाबरले उल्लेख गरेका छन्।

‘त्यो खेलमा धेरै पक्ष महत्वपूर्ण छ। कुन खेलाडी पिचमा लामो समय रहन्छ? फखर जमान २० या ३० ओभरसम्म खेल्न सक्छन् भने हामी त्यस किसिमको लक्ष्य पनि पूरा गर्न सक्छौं। हामी त्यो असम्भव कुरा गर्न सक्छौं। तर, त्यसका लागि पर्याप्त योजना आवश्यक छ,’ कप्तान बाबरले भनेका छन्। पाकिस्तानले अहिलेसम्म इङ्ल्यान्डविरुद्ध ३६१ रनभन्दा ठूलो योगफल बनाउन सकेको छैन। त्यो योगफल पाकिस्तानले सन् २०१९ मा साउथह्याम्पटनमा बनाएको हो। सोही योगफलका कारण पाकिस्तान २२ वर्षपछि इङ्ल्यान्डमाथि १०२ रनले विजयी पनि भएको थियो।

सन् १९९२ को विश्वविजेता पाकिस्तानले पनि सुरुआती दुई खेलमा नेदरल्यान्ड्स र श्रीलंकालाई हराउँदै यस विश्वकपमा सुखद सुरुआत गरेको थियो। तर, त्यसपछि लगातार भारत र अस्ट्रेलियासँग हार सामना गर्‍यो।

त्यसपछि अफगानिस्तान र दक्षिण अफ्रिकासँग पनि स्तब्ध भएपछि पाकिस्तानको सेमिफाइनल सम्भावना कमजोर बन्न पुगेको हो। तर, बंगलादेश र न्युजिल्यान्डमाथिको जितले पाकिस्तानको सेमिफाइन पुग्ने झीनो आशा अझै बाँकी छ। तथापि, पाकिस्तानका कप्तान बाबरले दक्षिण अफ्रिकासँगको हार नै टोलीका लागि सबैभन्दा अफ्ठ्यारो परिस्थिति बनेको धारणा राखे।

‘हामी दक्षिण अफ्रिकासँग स्तब्ध भयौं। अफगानिस्तानसँग जित्नुपर्ने खेलमा सफल भएनौं। त्यो नै हाम्रा लागि घातक बन्यो,’ बाबरले भनेका छन्। बाबरले यदि शनिबारको खेलबाट असफल भए पनि पाकिस्तानको विश्वविजेता बन्ने सपना अझै रहने विश्वास व्यक्त गरेका छन्।

‘हामीले सन् १९९९ यता सबै विश्वकप गुमाएका छौं?,’बाबरले प्रश्न गरे्,‘हामीले सन् सन् २०२२ को ट्वान्टी–२० विश्वकपको फाइनल खेल्यौं। एसिया कप फाइनल पनि खेल्यौं। त्यसैले अहिले नै हाम्रो विश्वकप सपना सकिएको छैन। हामीले विश्वकपमा नराम्रो खेलेका पनि होइनौं। तर, हाम्रोसँग फिनिस गर्न सकेनौं। सन् १९९९ देखि हामीले नराम्रो गरेका पनि होइनौं। हामी विश्व नम्बर एक हौं। तर, पनि फिनिस गर्न चुक्यौं।’  

प्रकाशित: २५ कार्तिक २०८० ०३:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App