१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

अभिलाषा र माहिकाको जोडीलाई स्वर्ण

अभिलाषा विष्ट र माहिका राणाको जोडीले तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको महिला डबल्सतर्फ बिहीबार स्वर्ण जितेको छ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा अभिलाषा र माहिकाको जोडीले प्रकृति श्रेष्ठ र रायना शाहको जोडीलाई ६–३ र ६–१ को सोझो सेटमा पराजित गर्‍यो। भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा विमलकुमार गुरुङ पहिलो भए। उनले फाइनलमा जीवन घिमिरेलाई सीधा सेटमा ६–३ र ६–४ ले हराए।

वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा संयुक्त आयोजित प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा सन्तोष खत्री र सुवास बस्नेतको जोडीले जितेन्द्र परियार र इलम दीक्षितको जोडीलाई ६–४ र ६–३ तथा महेश श्रेष्ठ र अनिल साईको जोडीले सीमान्त गुरुङ र कमलबहादुर भण्डारीको जोडीलाई ६–४ र ६–१ को सोझो सेटमा पाखा लगाउँदै फाइनल यात्रा तय गरे।

प्रतियोगिताअन्तर्गत जुनियरको ब्वाइज डबल्समा वृजेश अर्याल र शाश्वत वज्राचार्यको जोडी पहिलो भयो। उक्त जोडीले फाइनलमा अद्रिन थापा र दीर्घायु लामाको जोडीलाई ६–० र ६–१ को सेटमा पाखा लगायो। सो स्पर्धाको गल्र्समा स्वस्तिका विष्ट र मेरिशा थापाको जोडीले फाइनलमा रोज राई र प्रज्ञा वज्राचार्यको जोडीलाई ६–० र ६–० ले सहजै पन्छाउँदै पहिलो स्थान हात पार्‍यो। यु–१४ गल्र्स सिंगल्समा शिभाली गुरुङ र स्वस्तिका विष्ट फाइनलमा भिड्ने भएका छन्। शिभालीले प्राज्ना मानन्धरलाई ६–४ र ६–१ तथा स्वस्तिकाले कर्मिष्ठा नुगाह श्रेष्ठलाई ६–२ र ६–१ ले पराजित गरे।

प्रकाशित: २४ कार्तिक २०८० ००:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App