४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

पोखराको हिमालयन गल्फ कोर्ष विश्वकै उत्कृष्ट पाँचभित्र

विश्वमा धेरै गल्फ कोर्ष छन्। नेपालमा मात्र चारवटा व्यावसायिक गल्फ कोर्ष छन्। पोखरामा हिमालयन गल्फ कोर्ष, काठमाडौंको गोकर्ण रिसोर्ट गल्फ कोर्ष, रोयल नेपाल गल्फ कोर्ष र धरानको निर्वाण गल्फ कोर्ष। ती कोर्षका आफ्नै विशेषता छन्।  

पोखराको हिमालयन गल्फ कोर्ष विश्वकै उत्कृष्ट पाचौं स्थानको युनिक(नमूना) गल्फ कोर्षमा समेटिएको छ। गल्फ ड्राइभ्स डटकम वेवसाईटले विश्वका उत्कृष्ट नमूना गल्फ कोर्षलाई सूचीकृत गर्दै आएको छ। पहिलो नम्बरमा दक्षिण अफ्रिकाको लेजेण्ड गल्फ एण्ड सफारी रिर्सोट भित्रको कोर्ष परेको छ। दोस्रोमा ग्रिन ल्याण्डको उमान्नाक ग्रिनल्याण्ड कोर्ष परेको छ। तेस्रो स्थानमा अमेरिकाको प्रिजन भ्यु गल्फ कोर्ष, चौथो स्थानमा इन्डोनेसियाको मेरापी गल्फ कोर्ष परेको छ। पाँचौस्थानमा नेपालको हिमालयन गल्फ कोर्ष(पोखरा) परेको छ। छैटौं स्थानमा दक्षिण अफ्रिकाको स्कुकुजा गल्फ कोर्ष, सातौं स्थानमा मेक्सिकको एल क्यामेलन मायाकोबा गल्फ कोर्ष, आठौंस्थानमा अष्ट्रेलियाको नुलरबोर लिङ्स गल्फ कोर्ष छन्।  

केही महिना अघि मात्रै पोखराको हिमालयन गल्फ कोर्ष एशिया प्यासफिकको उत्कृष्ट १०० कोर्षभित्र परेको थियो। एशिया प्यासफिकले ‘द बेष्ट गल्फ कोर्ष’ मा हिमालयन गल्फ कोर्ष विश्वकै २३ औं स्थानमा रहेको उल्लेख गरेको थियो। पोखरा–१४ छिनेडाडाँमा रहेको हिमालयन गल्फ कोर्ष १८ होलको छ। पार ६९ को कोर्षलाई विजयपुर खोला वारी र पारी गर्दै खेल्नुपर्छ। खोलाकै बीचमा आइल्याण्ड होल छ। जहाँबाट उत्तरी क्षेत्रका सबैजसो हिमाल देख्न सकिन्छ।  

‘विश्वकै युनिकमा पाँचौ र एशिया प्यासफिकले वर्गिकरण गर्ने कोर्षमा हिमालयन गल्फ कोर्ष २३ औं स्थानमा छ’ हिमालयन गल्फ कोर्षका व्यवस्थापक एवं नेपालका व्यावसायिक गल्फर भूवहादुर गुरुङ(भुवन)ले भने, ‘वर्गिकरणले विदेशी गल्फर पोखरामा गल्फ खेल्न र हेर्न पनि गल्फरले बिदा मिलाएर आउने गरेका छन्।’  

गल्फरलाई पोखराको कोर्षमा खेल्न दक्षता, क्षमता र धैर्यता चाहिन्छ। छैठौं नम्बरको होल पार ५ को छ। छैठौं होल आईल्याण्डमा पर्छ। जहाँ १० वटा बंकर छन्  छैठौं होलको बंकरले स्कटल्याण्डको पुरानो कोर्षमा भएको बंकर झल्को दिन्छ। जहाँ रुखहरु छन्। खोलाको पानी बेगले बगिरहेको देखिन्छ। तेस्रो सटमा मात्रै ग्रिनमा पुर्याउनुपर्छ। क्लब हाउसबाट बंकरसहितको होल प्रष्ट देखिन्छ।  

सातौं नम्बरको होल भने पार ३ हो। जुन १५० यार्डको छ। खोला पारी हिर्काउँदै होल ईन वानको सम्भावना छ। ‘यो सातौं होल कठिनाई पनि छ। तर होल ईन वानको सम्भावना बढी हुन्छ। गल्फरहरुले सातौं नम्बरमा बढी होल ईन वान गरेका छन्’ उनले भने। कोर्षको ५ वटा होल माथिल्लो भागमा छन्।  बाँकी १३ वटा होल भने विजयपुर खोलाको वारिपारी छन्। १८ होलको पार ६९ को कोर्ष पुरा गर्दा गल्फरले उकाली र ओराली गर्दै ११ किलोमिटर हिड्नुपर्छ।  

प्रकाशित: २२ कार्तिक २०८० १०:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App