७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

पौडी महासंघका अध्यक्ष नेपाल आउने

हुसेन अल मुसलम

अन्तर्राष्ट्रिय पौडी महासंघ (वर्ल्ड एक्वाटिक्स)का अध्यक्ष क्याप्टेन हुसेन अल मुसलम नेपाल भ्रमणमा आउने भएका छन्।

नेपाल पौडी संघको निमन्त्रणामा अल मुसलम आगामी मंगलबार नेपाल आउने भएका हुन्। पौडी खेलको विकास र विस्तार गर्ने क्रममा विभिन्न देशको भ्रमणमा रहेका अध्यक्ष हुसेनले नेपालमा पौडी तथा एक्वाटिक्स खेलको विकासका बारेमा जानकारी लिनेछन्।

पौडी तथा एक्वाटिक्स खेलको विकासलाई कसरी अझै अगाडि बढाउन सकिन्छ भन्नेबारे पौडी संघका पदाधिकारीहरू र सम्बन्धितसँग छलफल गर्ने कार्यक्रम रहेको छ।

अध्यक्ष हुसेन यही कात्तिक २१ गते मंगलबार बिहान ८ बजे काठमाडाैं अवतरण गर्ने कार्यक्रम रहेको नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले जानकारी गराएका छन्। अध्यक्ष हुसेनको भ्रमणले नेपालमा पौडी खेल तथा त्यससँग सम्बन्धित अन्य खेलको विकासमा सहयोग पुग्ने अध्यक्ष वज्राचार्यले बताए।

यसै क्रममा नेपालमा पौडी खेललगायत एक्वाटिक्स खेलको विकासका लागि महासंघका कोचिङ एडभाइजर जेम्स गिब्सन र मिस पर्निल ब्लुम (ओलम्पिक तथा वर्ल्ड च्याम्पियन) पनि भोलि सोमबार नेपाल आउँदै छन्।

उनीहरू सोमबार बिहान ८ बजे नेपाल आउने कार्यतालिका छ। उनीहरूले सोमबार र मंगलबार दुई दिन नेपालका पौडी प्रशिक्षकलाई प्रशिक्षण दिने कार्यक्रम छ।

उक्त अवसरमा नेपाली प्रशिक्षकहरूलाई कोचिङ स्किल डेभलपमेन्टसम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान गर्नेछन्। सो कार्यक्रममा नेपालका प्रमुख पौडीबाजहरूले पनि सहभागिता जनाउने पौडी संघका अध्यक्ष वज्राचार्यले जानकारी गराए।

प्रकाशित: २० कार्तिक २०८० ०२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App