२ असार २०८१ आइतबार
image/svg+xml
खेल

खेल्न होइन जित्न जान्छौंं

आइसिसी ट्वान्टी–२० विश्वकप

सन् २०१४ को विश्वकप खेलेका नेपालका तीव्र गतिका बलर सोमपाल कामीले दोस्रो पटक विश्वकपमा खेल्ने मात्र नभई जित्नका लागि पनि जाने विश्वास व्यक्त गरेका छन्।

हाल टोलीमा रहेका सोमपालसँगै विनोद भण्डारीले नेपालबाट सन् २०१४ को बंगलादेशमा सम्पन्न आइसिसी ट्वान्टी-२० विश्वकप खेलेका थिए। दोस्रो पटक ट्वान्टी-२० विश्वकपमा छनोट भएपछि सोमपालले सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना गर्ने ट्वान्टी-२० विश्वकपलाई यादगार बनाउने लक्ष्य रहेको बताएका हुन्।

‘विश्वकप नखेलेको धेरै समय भइसकेको थियो। २०२३ ले हामीलाई धेरै थोक दिएको छ। त्यसैले हामीलाई भाग्यमानी ठानेका छौं,’ सोमपालले भने, ‘आज बिहान उठ्नेबित्तिकै भगवान्लाई पुकारेको थिएँ। आज सफल पनि भएकोमा खुसी छौं। हामी खेल्न मात्र होइन जित्न पनि जानेछौं।’

देशलाई ठूला प्रतियोगितामा पुर्‍याउने लक्ष्य जहिल्यै पनि रहँदै आएको र आज ती लक्ष्यमध्ये एकमा सफल पनि भएको सोमपालको भनाइ थियो। ‘जसरी पनि यसपटक ट्वान्टी–२० विश्वकप खेल्नुपर्छ भन्ने अविनाश बोहोरा र करण केसीसँग कुरा भइरहन्थ्यो। आज त्यो लक्ष्य पूरा भएको छ,’ सोमपालले भने।

नेपालका कप्तान रोहित पौडेलले भने देशले सन् २०१४ को ट्वान्टी-२० विश्वकप खेलेको हेर्दै हुर्किएकाले यस पटक विश्वकप यात्रा गर्न पाउँदा आफूलाई भाग्यमानी महसुस गरेको धारणा राखे।

‘सोमपाल र विनोद दाइबाहेक हामी सबै सन् २०१४ को विश्वकप हेरेर नै हुर्किएका हौं। यस पटक आफैं विश्वकप खेल्न पाउनु भाग्यमानी महसुस गरेको छु,’ कप्तान रोहितले भने, पारस दाइ (खड्का) ले पनि टस हारेपछि बधाई भनेर जिस्काउनुभयो। त्यसपछि केही डर लागेको थियो। तर, बलिङमा सबैले राम्रो योगदान रह्यो र युएईलाई सस्तोमा रोक्न सफल भयौं।’

रोहितले युएईको महत्वपूर्ण ब्याटर तथा कप्तान मोहम्मद वासिमलाई छिट्टै आउट गर्ने योजना रहेको पनि बताए।

‘वासिमलाई छिट्टै आउट गर्ने योजना थियो। त्यो योजनाअनुरूप सोमपाल दाइले वासिमलाई पवेलियन फर्काउनुभयो,’ उनले भने, ‘त्यो विकेटपछि राम्रो मोमेन्टम बन्यो। त्यसपछि सन्दीप दाइ (लामिछाने), कुशल मल्ल र गुल्सन झाले बलिङमा राम्रो योगदान दिए र युएईलाई कम योगफलमा रोक्न सफल भयौं।’

ब्याटिङमा पनि कुशल भुर्तेलले राम्रो सुरुआत दिलाउनु र आसिफ शेखले लामो इनिङसम्म खेल्नु जितको आधार बनेको पनि कप्तान रोहित बताउँछन्। ओपनर आसिफ शेखले विश्वकप खेल्ने लक्ष्य पूरा भएको बताए।

उनले ठूला खेलमा केही गर्छु भन्ने रहेको र त्यसैले अन्तिमसम्म इनिङ खेल्छु भन्ने योजनाअनुरूप सफल भएको बताए। साथै नेपालका बलरले युएईलाई थोरै योगफलमा रोक्नु पनि जितको महत्वपूर्ण पक्ष रहेको उल्लेख गरेका छन्। प्रशिक्षक मोन्टी देसाईले टिमलाई एक बनाएर अगाडि बढाएको उल्लेख गरेका आसिफले यो सफलताको श्रेय प्रशिक्षकलाई दिन चाहे।  

प्रकाशित: १८ कार्तिक २०८० ०३:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App