१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

रोमाञ्चक खेलमा युएईलाई उपाधि

उपाधि हात पारेपछि युएईका खेलाडी ।तस्बिर सौजन्य:क्यान

 निकै रोमाञ्चक बनेको त्रिकोणात्मक ट्वान्टी–२० शृंखलाको फाइनलमा नेपाल शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) सँग चार विकेटले स्तब्ध भएको छ।

युएई फाइनलमा नेपालमाथि बलिङ र ब्याटिङमा हाबी भएपछि नेपालले शृंखलाको उपाधि गुमाएको हो। त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा एक सय ६३ रनको लक्ष्य युएईले निर्धारित २० ओभर सकिन एक बल बाँकी छँदा नै ६ विकेट गुमाएर पूरा गर्‍यो। लक्ष्य पछ्याउने क्रममा युएईले निकै उत्कृष्ट सुरुआत गरेको थियो। युएईका ओपनरद्वय मोहम्मद वासिम र आर्यन्स शर्माले उत्कृष्ट ब्याटिङ गर्दै आफ्नो टोलीलाई जितको आधार बनाएका थिए। यो जोडीले पहिलो विकेटका लागि ४१ बलमा ७१ रनको साझेदारी गर्‍यो।

वासिम ४५ रन र शर्मा २५ रनमा आउट भए। वासिम नेपालका तीव्र गतिका बलरसामु आक्रामक रहे। यस क्रममा नेपालको इनिङ सुरु गरेका सोमपाल कामीले पहिलो ओभरमा नै १७ रन खर्चिए। त्यसपछि नेपाली बलरले निकै दबाब सामना गर्नुप¥यो र पावर प्लेमा युएईले बिनाविकेट ६७ रन बटुल्यो। तर, सातौं ओभरमा वासिम आउट भएसँगै नेपाल लयमा फर्कियो। गुल्सन झाद्वारा आउट हुनुअघि वासिमले २२ बलमा सात चौका र दुई छक्का प्रहार गरे।

१०औं ओभरमा कुशल मल्लले दोस्रो विकेट लिए। उनले आर्यन्सलाई सन्दीप जोराबाट क्याच गराए। लगत्तै ११औं ओभरमा गुल्सनले आक्रामक ब्याटर आसिफ खानलाई ७ रनमै पवेलियन फर्किए। तेस्रो विकेटसँगै नेपाली बलरले युएईका ब्याटरको रन गतिलाई कस्ने प्रयास गरे। यद्यपि, युएईका ब्याटरले समालिएर खेल्दै घरेलु टोलीको योजना सफल हुन दिएनन्। युएईका युवा ब्याटर भृत्य अरविन्दले २६ रन र बसिल हामिदले अविजित २२ रन बनाउँदै जित दिलाए। अन्तिम ओभरमा युएईलाई जितका लागि सात रन आवश्यक थियो।

युएईविरुद्ध ब्याटिङ गर्ने क्रममा नेपालका ओपनर कुशल भुर्तेल ।तस्बिर सौजन्य: क्यान

डेथ ओभर करणले सुरुआतमा कसिलो बलिङ गरे। तर, बसिलले पाँचौं बलमा छक्का प्रहार गर्दै एक बलअगावै सफलता दिलाए। नेपालको बलिङमा गुल्सन र अविनाश बोहोराले दुई विकेट तथा कुशल मल्लले एक विकेट लिए। अनुभवी बलर सोमपाल कामी र करण निकै महँगा साबित भए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ६२ रनको योगफल तयार पारेको थियो। नेपालका ओपनर कुशल भुर्तेलले ५० रनको अर्धशतकीय योगदान गरे।

उनले २८ बलमा ६ चौका र तीन छक्का प्रहार गरे। करण २३ रनमा नटआउट रहँदा दीपेन्द्रसिंह ऐरीले २० रन, कप्तान रोहितकुमार पौडेलले १८, सोमपालले १३ र सन्दीपले १० रन बनाए। नेपालले राम्रो सुरुआत गरे पनि विशाल योगफल भने बनाउन सकेन। कुशल भुर्तेल र आसिफ शेखले ४३ रनको साझेदारी गरेका थिए। यद्यपि, आसिफ सात रन र कुशल मल्ल १ रनमा नै आउट भए। युएईका आयन अफजल खानले चार विकेटसँगै किफायती बलिङ गर्दै नेपाललाई दबाब बनाए। चार ओभरमा १९ रन खर्चिएका उनी म्यान अफ दी म्याच पनि भए।

जाहुर खान र अली नासिरले समान दुई तथा जुनैद शिद्दिकीले एक विकेट लिए। जाहुरले २०औं ओभरमा दुई रन मात्र दिँदै नेपालको इनिङलाई विशाल लक्ष्यतर्पm अग्रसर हुनबाट रोके। करण केसीले उनको ओभरको अन्तिम बलमा मात्र दुई रन लिए। आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको एसियाली क्वालिफायरको तयारीस्वरूप खेलिएको शृंखलामा नेपालले समूूहका चारै खेलमा जित निकाले पनि फाइनलमा भने पराजित हुन पुग्यो। हङकङ र युएई सम्मिलित शृंखलामा नेपालले समूहका कुल चार खेलमा पनि जित निकालेको थियो।

यस क्रममा नेपालले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्‍यो। यसअघि समूहमा दुई खेलमा नै पराजित भएको युएई फाइनलमा भने नेपालमाथि हाबी भयो। यससँगै त्रिकोणात्मक शृंखलामा नेपालको अपराजित यात्रा पाँचौं खेलमा टुङ्गियो। शृंखलाको लिगमा राम्रो प्रदर्शन गरेको नेपाल आगामी सोमबारदेखि सुरु हुने छनोटमा पनि सोही लय जारी राख्ने लक्ष्यमा हुनेछ। आठ राष्ट्र सम्मिलित छनोटमा नेपालले सिंगापुरसँग खेल्दै घरेलु मैदानमा आफ्नो यात्रा सुरु गर्नेछ।  

प्रकाशित: ११ कार्तिक २०८० ००:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App