१६ असार २०८१ आइतबार
image/svg+xml
खेल

नेपाल राष्ट्रिय क्रिकेट टिमलाई क्रिकेट सामग्री हस्तान्तरण

नेपालस्थित भारतीय राजदूतावासले नेपाल राष्ट्रिय क्रिकेट टिमलाई क्रिकेट सामाग्री हस्तान्तरण गरेको छ। कप्तान रोहित पौडेल नेतृत्वको नेपाल राष्ट्रिय क्रिकेट टोली र नेपाल क्रिकेट सङ्घका कार्यकारी सदस्यहरुको उपस्थितिमा दूूतावासमा बिहीबार आयोजित समारोहमा उक्त सामाग्री हस्तान्तरण गरिएको हो।

उक्त कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सरिन स्र्पोट्सबाट खरिद गरिएका २० वटा क्रिकेटब्याट सहितका व्यावसायिक क्रिकेट सामग्री नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द र सङ्घका सचिव पारस खड्काको उपस्थितिमा नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई हस्तान्तरण गरेका हुन।

ती सामग्री बिपी कोइराला भारत–नेपाल फाउन्डेशन र भारत सरकारको स्वामित्व रहेको सतलज जलविद्युत् निगम (एसजेभीएन) का तर्फबाट भारतीय दूतावासले प्रदान गरेको हो। नेपाली क्रिकेट टोलीले पनि भारतीय राजदूत श्रीवास्तवलाई टोलीले हस्ताक्षर गरेको जर्सी उपहारस्वरुप प्रदान गरेको थियोे।

राजदूत श्रीवास्तवले हालै सम्पन्न एशिया कप र एशियाली खेलकुदमा नेपाली क्रिकेट टोलीको बेजोड प्रदर्शनको प्रशंसा गरेका थिए। उनले क्रिकेट सामग्रीको हस्तान्तरणले भारत र नेपालबीचको जनता–जनताबीचको सम्बन्धमा नयाँ आयाम थप्ने बताए। उनले आगामी त्रिदेशीय टी–२० कप फाइनल र यसै महिनाको अन्त्यदेखि सुरु हुने आइसिसी टी–२० विश्वकप छनोटका लागि क्रिकेट टोलीलाई शुभकामना दिए।

नेपाल क्रिकेट सङ्घका अध्यक्ष चन्द, सङ्घका सचिव खड्का र नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाइले भारतीय दूतावास, बिपी कोइराला भारत–नेपाल फाउन्डेसन र एसजेभीएनलाई धन्यवाद व्यक्त गरेका थिए।  उनीहरुले  क्रिकेट सामग्रीको हस्तान्तरणसँगै भारतीय दूतावास र नेपाल क्रिकेट सङ्घबीच सहकार्य यात्राको सुरुवात भएको बताए।

भारतीय दूतावासले यसअघि सन् २०१३ मा नेपाल क्रिकेट सङ्घलाई बस उपलब्ध गराउनुका साथै  बिपी कोइराला भारत–नेपाल फाउण्डेशनमार्फत नेपाल बहिरा क्रिकेट टोलीलाई सन् २०२३ को अप्रिलदेखि मेसम्म कोलकातामा भएको त्रिदेशीय क्रिकेट टुर्नामेन्टमा सहभागी हुन सहयोग गरेको थियो।

प्रकाशित: १० कार्तिक २०८० १४:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App