२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

एरिकालाई दुई लाखसहित सम्मान

एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक रजत पदक विजेता करातेकी एरिका गुरुङ नगद दुई लाख रूपैयाँसहित सम्मानित भएकी छन् ।  

एरिकाले यसै महिना चीनको हानझाउमा सम्पन्न १९औं एसियाली खेलकुदमा करातेको कुमुते विधातर्फ नेपाललाई रजत पदक दिलाएकी थिइन् । सोही एसियाली खेलकुदमा कराते टोलीका व्यवस्थापकसमेत रहेका गोपालनिवास वैद्यले हाङझाउ एसियाडमा कराते खेलाडीले पदक जिते व्यक्तिगत नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेका थिए । पूर्वघोषणा बमोजिम वैद्यले एरिकालाई पाटनस्थित अशोक हलमा आयोजित कार्यक्रमबीच नगद पुरस्कार प्रदान गरेका हुन् । एरिकाले सम्मानस्वरूप दुई लाख रूपैयाँसहित सम्मानपत्र प्राप्त गरिन् ।  

बागमती प्रदेश सभा सदस्य मीनकृष्ण महर्जन, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाको उपस्थितिमा एरिकासहित हानझाउ एसियाली खेलकुदमा सहभागी सबै खेलाडीलाई सम्मान गरिएका थियो । एरिकाको पदक नेपाली खेलकुदमा अहिलेसम्मकै ठूलो सफलतामध्ये एक हो । यसअघि तेक्वान्दोकी सबिता राजभण्डारीले सन् १९९८ मा र नेपालको पुरुष पाराग्लाइडिङ टोलीले सन् २०१८ को एसियाली खेलकुदमा रजत पदक जितेका छन् ।  

त्यसपछि यसै महिना एरिकाले त्यो सफलता दोहोर्याइन्। उनले कुमुतेमा महिला ६८ केजीमुनि तौलसमूहमा नेपाललाई रजत पदक दिलाएकी हुन् । सेमिफाइनलमा एरिकाले हङकङकी यानकाई होलाई ८–४ अंकले हराउँदै स्वर्ण भिडन्त पक्का गरेकी थिइन् । तर, फाइनलमा भने एरिका कजाखस्तानकी सोफिया बेरुल्तसेभासँग ३–० अंकले पराजित भएपछि नेपालका लागि पहिलो स्वर्ण पदक जित्ने अवसरबाट वञ्चित भइन् । त्यसअघि क्वार्टरफाइनलमा एरिकाले जापानकी एजुकी सबाईलाई सेन्सुको आधारमा हराएकी थिइन् ।

१९ वर्षीया एरिकाले आफूलाई गरेको सम्मानले आगामी दिनका लागि हौसला मिलेको प्रतिक्रिया दिइन् । ‘मैलै जितेको पदक मेरोभन्दा पनि पहिले राष्ट्रको हो । राष्ट्रिय खेलकुद परिषद्को हो । नेपाल कराते महासंघको हो । सारा नेपालीको हो । मेरो टिमको हो,’ एरिकाले भनिन्,‘अनि त्यसपछि मात्र मेरो पदक हो । सहयोगका लागि राष्ट्रिय खेलकुद परिषद् र कराते महासंघलाई धन्यवाद । सम्मानले थप खुसी बनाएको छ । आगामी दिनमा अझ सफलता हात पार्न प्रेरित गरेको छ ।’

राखेप सदस्यसचिव घिसिङले खेलकुद नियमावलीमा नै उल्लेख गरिएको पुरस्कार रकम एरिकाले छिट्टै पाउने बताए । सदस्यसचिव घिसिङले यो सम्मान सुरुआत मात्र भएको उल्लेख गर्दै सरकारले दिने नगद पुरस्कार पनि छिट्टै प्रदान गर्ने प्रतिबद्धता जनाए । ‘आजको यो सम्मान सुरुआत मात्र हो । व्यवस्थापकबाटै सुरुआत भएको छ । यसलाई शुभ मान्नुपर्छ,’ सदस्यसचिव घिसिङले भने, ‘एसियाडमा रजत जित्ने खेलाडीलाई कानुनमा व्यवस्था भए बमोजिमको १९ लाख ५० हजार नगद पुरस्कार पनि सरकारबाट छिट्टै एरिकाले पाउनुहुनेछ ।’  

सदस्यसचिव घिसिङले यस किसिमको पुरस्कारले खेलाडीमा थप ऊर्जा उत्पन्न हुने धारणा राखे । ‘पुरस्कारले खेलाडीलाई ऊर्जा त थप्छ नै । खेलाडीले पुरस्कारलाई ऊर्जाका साथै जिम्मेवारी पनि थपिएको छ भन्ने महसुस गर्नुपर्छ,’ उनले भने । सांसद महर्जनले एरिकाले हासिल गरेको सफलताले सिंगो राष्ट्रलाई खुसी तुल्याएको धारणा व्यक्त गरे । कराते महासंघका अध्यक्ष लामाले यदि थप सफलता हासिल गर्ने हो भने २०औं एसियाली खेलकुदको तयारीका लागि अहिलेदेखि तयारीमा जुट्नुपर्नेमा जोड दिए ।

प्रकाशित: ३० आश्विन २०८० ००:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App