२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मालिकादेवी कपमा चार टोलीलाई सफलता

जिल्लाकै चर्चित फुटबल प्रतियोगिता तेस्रो संस्करणको मालिकादेवी कपको पहिलो दिन विभिन्न चार टोलीले विजयी यात्रा सुरु गरेका छन्।

चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित दरबारडाँडा मैदानमा शनिबार भएको खेलमा जित निकाल्दै आयोजक मेलचौर युवा जागरण समाज बी, इन्द्रध्वज गण, फाइभ स्टार युवा क्लब र थुम्कीडाँडा युवा क्लबले सुखद सुरुवात गरेका हुन्।

उद्घाटन खेलमा आयोजक जागरण समाज बीले सहिद स्मृति युवा क्लब बीले लाई ३–१ हरायो। ३–० ले पछि परेको धार्पा युवा क्लबले खेलको बीचमै वाकओभर दिँदा इन्द्रध्वज गण अघि बढ्यो।

त्यस्तै फाइभ स्टारले धोबिखोला युवा क्लब ८–३ तथा, थुम्कीडाँडा युवा क्लबले भीमेश्वरी सेवा समाजलाई १–० गोलले पराजित गर्‍यो। आयोजकका बिविन गिरी, फाइभ स्टारका रोशन मगर, थुम्कीडाँडाका आकाश सापकोटा खेलको म्यान अफ द म्याच भए। उनीहरुले ट्रफी पुरस्कार पाए।

स्थानीय मेलचौर युवा जागरण समाजको आयोजनामा सुरु खुला ७ ए साइड नगर कप प्रतियोगिताको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले उद्घाटन गरे। एक साता चल्ने प्रतियोगितामा बाह्य जिल्लासहित २९ टोलीले भाग लिएका छन्।

कात्तिक ३ गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने छ। नकआउटको आधारमा खेलाइने प्रतियोगिताको उपविजेताले ६६ हजार ६ सय ६६ रुपैयाँ हात पार्ने छ। प्रत्येक खेलको म्यान अफ द म्याच र प्रतियोगिताकै उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको जागरण समाजका सचिव सविन दङ्गालले जानकारी दिए। 

चौतारा साँगाचोकगढी नगरपालिका, नगरका वडा नंं ७ र ८ कार्यालय तथा नेपाल हिल्फे बाइलिङग्रिसको सहयोग रहेको प्रतियोगितामा जिल्ला फुटबल संघको प्राविधिक सघाउ रहेको उनले बताए। झण्डै १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको ठूलो आर्थिक स्रोत स्थानीयको चन्दा सहयोगबाट जुट्ने छ।

जागरण समाजले विगत तीन वर्षदेखि विजया दशमी तथा शुभदिपावलीको अवसरमा वर्षेनी यो प्रतियोगिता गर्दै आएको छ। आयोजकले वर्षेनी पुरस्कार राशी र सहभागी टोली संख्या बढाउँदै प्रतियोगितालाई भव्य र रोमाञ्चक बनाउँदै आएका छन्। प्रत्येक प्रतियोगितामा जनस्तरबाट धेरै मात्रामा आर्थिक स्रोत संकलन हुँदै आएको र त्यसकै बलमा प्रतियोगितालाई निरन्तर दिन सफल भएको उनी बताउँछन्।

‘स्थानीयकै सहयोगमा प्रतियोगितालाई अझै दिगो बनाउँदै लैजाने छौँ,’ दङ्गालले भने। आइतबार विभिन्न पाँच खेल सञ्चालन हुने छन्।

प्रकाशित: २७ आश्विन २०८० १४:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App