१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

स्टोक्सले बंगलादेशविरुद्धको खेल गुमाउने सम्भावना

इङ्ल्यान्डका कप्तान बेन स्टोक्सले आइसिसी क्रिकेट विश्वकप २०२३ अन्तर्गत मंगलबार बंगलादेशविरुद्धको खेल गुमाउने सम्भावना प्रबल बनेको छ ।  

चोटका कारण स्टोक्सले बिहीबार न्युजिल्यान्डविरुद्धको खेल गुमाएका थिए । सो खेलमा न्युजिल्यान्डविरुद्ध इङ्ल्यान्डले ९ विकेटको लज्जास्पद हार व्यहोरेको थियो । सन् २०१९ मा घरेलु मैदानमा सम्पन्न विश्वकप फाइनलमा न्युजिल्यान्डलाई नै हराउँदै विश्वकप जितेको इङ्ल्यान्ड यस संस्करणको पहिलो खेलमा भने सो लय कायम राख्न असफल भएको थियो ।  

आइतबार धर्मशालामा टोलीसँग सामान्य अभ्यासमा सहभागी भए पनि स्टोक्स पूर्ण रूपमा फिट भने भइसकेका छैनन् । पछिल्लो १० दिनमा उनी पहिलो पटक प्रशिक्षणमा सहभागी भएका हुन् ।

बंगलादेशले भने पहिलो खेलमा अफगानिस्तानलाई हराएको थियो । बंगलादेशविरुद्धको हारपछि अफगानिस्तानका प्रशिक्षक जोनाथन ट्रोटले धर्मशालाको मैदान खेल्न लायक नभएको भन्दै आलोचना गरेका थिए । सो खेलमा अफगानिस्तानका मुजिब रहमानको घुँडामा चोट लागेको थियो ।  ‘हामी भाग्यमानी रह्यांै, मुजिबको चोट गम्भीर रहेन,’ इङ्ल्यान्डका पूर्वब्याटर समेत रहेका ट्रोटले भने ।

धर्मशाला क्रिकेट मैदान खेल्न लायक नभएको भन्दै यसअघि पनि आलोचना भएको थियो । फेब्रुअरीमा भारत र अस्ट्रेलियाबीचको तेस्रो टेस्ट पनि मैदान खेल्न लायक नभएको भन्दै इन्दोरमा सारिएको थियो । लगातारको आलोचनापछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का इभेन्ट प्रमुख क्रिस टिट र प्राबिधिक एन्डी एट्किन्सनले सो मैदानको अवलोकन गरेका थिए । इङ्ल्यान्डको टोलीले पनि सो मैदानमा अभ्यास गरेको थिएन ।  

‘कुनै पनि मैदानमा खेल खेलाउने वा नखोउने भन्ने निर्णय सम्बन्धित खेलका लागि तोकिएको खेल पदाधिकारी र प्राविधिकले गर्ने हो,’ आइसिसीका प्रवक्ताले भने, ‘बंगलादेश र अफगानिस्तानबीचको खेलपछि धर्मशालाको अवस्था औसत रहेको उल्लेख गरिएको थियो । आइसिसीका प्राविधिकले पनि सो मैदानको निरीक्षण गरेका थिए । इङ्ल्यान्ड र बंगलादेशविरुद्धको खेल जबगाल श्रीनाथले खेलाउँदै छन् र उनले पनि सो मैदान खेल्न योग्य रहेको बताएका छन् ।’

‘हामी मैदान र खेलस्थितिको बारेमा जानकार छौँ,’ इङ्ल्यान्डका ब्याटर जोनी बेयरस्टोले भने, ‘पछिल्लो खेलमा यही मैदानमा दुई खेलाडी घुँडाको चोटका कारण बाहिरिएका थिए ।’

पहिलो खेलमा न्युजिल्यान्डलाई नतिजा सुम्पिएको इङ्ल्यान्ड बंगलादेशविरुद्ध जितको दबाबमा हुनेछ । इङ्ल्यान्डले आइतबार अफगानिस्तानको सामना गर्दै छ । १० टोली सहभागी रहेको प्रतियोगितामा राउन्ड रोबिनपछि शीर्ष ४ मा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन् । इङ्ल्यान्डले अभ्यास खेलमा बंगलादेशलाई ४ विकेटले हराएको थियो ।

प्रकाशित: २३ आश्विन २०८० ०२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App