२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

१९औं एसियाली खेलकुद:कांस्यको प्रतिस्पर्धामा चुके विप्लवलाल

विपक्षीलाई प्रहार गर्दै करातेका विप्लवलाल श्रेष्ठ । तस्बिर: नागरिक

नेपालका विप्लवलाल श्रेष्ठ जारी १९औं एसियाली खेलकुदको करातेमा शुक्रबार कांस्य पदकको प्रतिस्पर्धामा चुकेका छन्।

लिनपिङ स्पोर्टस सेन्टरमा भएको कुमुतेको पुरुष ८४ केजी तौलसमूहमा विप्लवलाल कांस्यनजिक पुगेर चुकेका हुन्। विप्लवलाल रिपेचेजको कांस्य पदक भिडन्तमा साउदी अरेबियाका मोहम्मद अली तारेगी हामिदसँग ९–१ ले पराजित भए। विप्लवले पहिलो खेलमा ताजकिस्तानका उमेद साफारोभलाई १२–४ ले हराएका थिए। तर, क्वार्टरफाइनलमा भने उनी किर्गिस्तानका अदिलेत सादिकानोभसँग ५–१ ले पराजित भएका थिए। तर, अदिलेत फाइनलमा पुगेपछि विप्लवले कांस्य पदकको प्रतिस्पर्धा गर्ने अवसर पाए। विप्लवले रिपेचेजको पहिलो खेलमा बाई पाए।

त्यसपछि कांस्य पदकका लागि हामिदसँग प्रतिस्पर्धा तय भयो। तर, पदकको निकै आशा गरिएका उनी चुके र नेपालले जारी एसियाली खेलकुदमा दोस्रो कांस्य पदक प्राप्त गर्ने अवसर गुमायो। हारपछि विप्लवले पदक जित्ने लक्ष्यसहित खेले पनि अनुभवको कमीले गर्दा हार बेहोर्न बाध्य भएको बताए। ‘हामीले खेल्न पाउने एसियाली खेलकुद र च्याम्पियनसिप नै हो। अन्य ठूला प्रतिस्पर्धामा हामीले खेल्न पाउँदैनौं। उनी ओलम्पिकमा नै पदक विजेता हुन्। तर, कडा चुनौती दिने लक्ष्यका साथ खेले पनि सफल हुन सकिनँ,’ उनले भने, ‘खेलका निर्णायकले पनि नियमित खेलिरहेका खेलाडीको हितमा हुने खालका निर्णय गर्छन्। यसले गर्दा मलाई केही अफ्ठ्यारो पनि भयो।’

उनले आगामी लक्ष्य अब दक्षिण एसियाली कराते च्याम्पियनसिपमा पदक जित्ने रहेको पनि बताए। शुक्रबार नै भएको कुमुतेकै महिला ६१ केजीमुनि प्रतिस्पर्धामा नेपालकी निरूपा तामाङ दोङ अन्तिम १६ मा पराजित भइन्। उनी बंगलादेशकी हुमैरा अख्तर अन्तरासँग ५–१ ले पराजित हुन पुगिन्। शुक्रबार विप्लवलालको हारसँगै सन् २०१४ पछि एसियाली खेलकुदमा पदक जित्ने नेपाली करातेले अवसर गुमायो।

प्रकाशित: २० आश्विन २०८० ०१:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App