६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

उत्तर कोरिया कोभिडपछि ठूला प्रतिस्पर्धामा

उत्तर कोरियाले कोभिड–१९ को महामारीपछि पहिलो ठूला अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुँदा मंगलबार पुरुष फुटबलमा ताइवानमाथि २–० को जितसहित १९औं एसियन गेम्समा सुखद सुरुआत गरेको छ।

कोभिडको महामारी फैलिएसँगै उत्तर कोरियाले सन् २०२० को सुरुआतमा नै आफ्ना बोर्डरहरू बन्द गरेको थियो। त्यससँगै उत्तर कोरियाले महामारीकै कारणले सन् २०२१ मा धकेलिएको टोकियो ओलम्पिक २०२० मा पनि सहभागी भएन। टोकियो ओलम्पिकमा सहभागी नभएपछि उत्तर कोरियालाई सन् २०२२ को बेइजिङ विन्टर ओलम्पिकमा पनि प्रतिबन्धित गरिएको थियो। यद्यपि, उत्तर कोरिया यस पटक चीनको हानझाउको सहरमा भएको एसियन गेम्समार्फ ठूला अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा फर्किएको छ। उत्तर कोरियाले एथलेटिक्स, जिम्न्यास्टिक, बास्केटबल, फुटबल, बक्सिङ र भारोत्तोलनमा मात्र प्रतिस्पर्धा गरेको छ।

१९औं एसियाडको औपचारिक उद्घाटन आगामी शनिबार हुने भए पनि खेलका प्रतिस्पर्धा भने मंगलबारदेखि नै सुरु भएका छन्। पुरुष भलिबल र फुटबलको मंगलबार प्रतिस्पर्धा सुरु भएको हो।

पुरुष फुटबलमा उत्तर कोरियाले सुखद सुरुआत गर्दा ताइवानमाथि सहज जित निकाल्यो। उत्तर कोरियाका लागि पहिलो हाफमा नै किम कुक जिन र री जो गुकले गोल गरेका थिए। त्यो गोल नै उत्तर कोरियाको जितका लागि पर्याप्त बन्यो। उत्तर कोरियाकै कट्टर प्रतिद्वन्द्वी दक्षिण कोरियाले एसियन गेम्समा पुरुष फुटबलतर्फ तेस्रो स्वर्ण जित्ने लक्ष्यसहित कुवेतसँग प्रतिस्पर्धा सुरु गर्दै छ। एसियन गेम्समा पुरुष फुटबलको टोलीमा यु–२३ उमेरसमूहले मात्र प्रतिस्पर्धा गर्न पाउनेछ। यद्यपि, तीन जना खेलाडी भने सिनियर टोलीबाट राख्न पाउने प्रावधान छ। 

प्रकाशित: ३ आश्विन २०८० ०२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App