२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

बालन डी’अर सूचीमा मेस्सी अटाउँदा रोनाल्डो बाहिर

सात पटकका बालन डी’अर विजेता लियोनल मेस्सी यसपल्ट पनि मनोनयनमा समावेश हुँदा उनका लामो समयदेखिका प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डो भने उक्त सूचीमा अटाएनन्।

गत डिसेम्बरमा अर्जेन्टिनालाई विश्वकप दिलाएका इन्टर मियामीका स्टार मेस्सी यस पटकको बालन डी’अरमा ३० जनाको सूचीमा परेका हुन्। यो सूचीमा इर्लिङ हालान्ड र किलियन एमबाप्पे पनि छन्। साउदी अरेबियाको अल नासर क्लबबाट खेल्दै आएका रोनाल्डो पाँच पटकका बालन डी’अर विजेता हुन्। तर, उनी सन् २००३ पछि पहिलो पटक यो सूचीमा अटाएका छैनन्। आगामी अक्टोबरमा यसको विजेता घोषणा गरिनेछ। फ्रान्सको फुटबल म्यागेजिनले सन् १९५६ देखि पुरुष खेलाडी र सन् २०१८ देखि महिला खेलाडीलाई यो अवार्ड प्रदान गर्न थालेको हो। नर्वेकी एडा हजरबर्ग महिलातर्फ यो अवार्ड जित्ने पहिलो महिला खेलाडी हुन्।

यो वर्षको युइएफए महिला खेलाडी आइटाना बोनमतीसँगै ६ स्पेनिस खेलाडी यस पटकको बालन डी’अर अवार्डको मनोनयनमा परेका छन्। बोनमतीकै नेतृत्वमा स्पेनले गत महिना महिला विश्वकपको उपाधि पनि जितेको थियो। ‘उत्कृष्ट खेलाडीहरूको सूचीमा समावेश हुँदा निकै खुसी भएकी छु,’ बोनमतीले भनेकी छन्। एसिएल इन्जुरीका कारण पछिल्लो समय निकै संघर्ष गरेकी दुई पटककी विजेता एलेक्सिया पुतैयास भने यस पटक मनोनयनमा अटाइनन्। इर्लिङ हालान्डले गत सिजन म्यानचेस्टर सिटीलाई तीनवटा उपाधि दिलाएका थिए। यस क्रममा उनको नाममा ५२ गोल पनि रह्यो।  

हालान्डसँगै म्यानचेस्टर सिटीका जुलियन अल्भारेज, रुबेन डियास, जस्को भार्डिओल, केभिन डी ब्रुएना, रोड्री र बर्नान्डो सिल्भा पनि यस वर्षको बालन डी’अरको उत्कृष्ट ३० को सूचीमा अटाएका छन्। बायर्न म्युनिखका ह्यारी केन, जमाल मुसियाला, किम मिन जाई र रियल मड्रिडका भिनिसियस जुनियर, जुड बेलिङ्घम र लुका मोड्रिच पनि अन्तिम ३० को सूचीमा परे। यसपल्ट १५ फुटबलर पहिलो पटक यो अवार्डको मनोनयनमा परेका छन्। गत वर्षको विजेता करिम बेन्जिमा पनि मनोनयनमा समावेश छन्। इङ्ल्यान्डको महिला टोली विश्वकप फाइनलमा स्पेनसँग १–० ले पराजित हुँदा पहिलो पटक महिला विश्वकप उचाल्ने अवसर गुमाएका थिए।

सोही टोलीका रचेल डाले, जर्जिया स्टानवे, मिली ब्राइट र म्यारी इयप्र्स गरी चार इङ्लिस खेलाडी उत्कृष्ट ३० को सूचीमा समावेश छन्। उक्त विश्वकपको फाइनलमा निर्णायक गोल गरेकी ओल्गा कार्मोना पनि यो सूचीमा अटाएकी छन्। चर्चित महिला फुटबलर साम केर, वेन्डी रेनार्ड, एलेक्सजान्ड्रा पोप, लिन्डा काइसेडो, फ्राडोलिना रोल्फ, खादिजा सअ र एसिसात ओसोएला पनि मनोनयनमा समावेश छन्। महिला फुटबलको पावरहाउस अमेरिकी टोलीबाट सोफिया स्मिथ बालोन डी’अर सूचीमा परेकी छन्।

प्रकाशित: २२ भाद्र २०८० ००:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App