११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

भदौमा तीन मैत्रीपूर्ण भलिबल

काठमाडौं- नेपाली राष्ट्रिय टोली पुरुष टोलीले भदौभित्र तीन अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तयारी गरिरहेको छ। नेपालले घरेलु मैदानमा डेनमार्कको हाभिडोर्भे भलिबल क्लबसँग भदौ १० गते खेल्नेछ। यसै गरी बंगलादेशसँग नेपालले घरेलु मैदानमै भदौ १३ र १४ गते दुई मैत्रीपूर्ण खेल खेल्ने तयारी भइरहेको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले बताए।

यसै वर्ष मात्र नेपाल सरकारले भलिबललाई राष्ट्रिय खेलको रूपमा मान्यता दिएको थियो। गत जुनमा नेपालले डेनमार्कमा गई मैत्रीपूर्ण खेल खेेलेर फर्किएको थियो। 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हल अन्तर्राष्ट्रिय खेल खेलाउनका लागि तयार नभएका कारण लगनखेलस्थित आर्मीको कभर्डहलमा तीनै मैत्रीपूर्ण खेल हुने महासचिव चन्दले बताए।

भलिबल संघका अनुसार डेनमार्कसँगको मैत्रीपूर्ण खेलको समन्वय राखेपले गरेको हो। राखेपले दिएको जानकारीअनुसार ८ तारिखमा डेनमार्क क्लब नेपाल आउने चन्दले बताए।

पछिल्लो एक महिना नेपाली टोलीलाई डेनमार्कका प्रशिक्षक म्याट भान विजलले प्रशिक्षण गराउँदै आएका थिए। नेपाल रहँदा उनले राष्ट्रिय टोलीका खेलाडीसँग विभिन्न विद्यालय र क्लबका खेलाडीलाई विशेष प्रशिक्षण दिएका थिए। म्याट सोमबार डेनमार्क फर्किएका छन्।

राष्ट्रिय टोलीलाई प्रशिक्षण गराउने कार्यमा नेपाली प्रशिक्षक जगदीश भट्ट, भीम डाँगी, भरत यादव, प्रज्वलबहादुर सिंह र महेश महर्जनले सहयोग गरेका थिए।

डेनमार्कविरुद्धको मैत्रीपूर्ण खेलका लागि भट्टले प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने चन्दले बताए। मैत्रीपूर्ण खेलका लागि नेपालले साउन १३ देखि बन्द प्रशिक्षण सुरु गरेेको थियो। खेलका लागि १९ खेलाडीले प्रशिक्षण गरिरहेका थिए।

मैत्रीपूर्ण खेलका लागि १४ खेलाडी छनोट गरिने नेपाल भलिबल संघले बताएको छ। वैकल्पिक ५ खेलाडी पनि घरेलु मैदानमा हुने मैत्रीपूर्ण खेलमा सँगै बस्ने चन्दले बताए।

प्रकाशित: ८ भाद्र २०७४ ०४:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App