५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

उपाधि जित्दै आत्मविश्वास बटुल्यो नेपालले

आइसिसी ट्वान्टी–२० महिला विश्वकपअन्तर्गत एसिया क्वालिफायरको तयारीमा रहेको नेपालले शनिबार चारदेशीय शृंखलाको उपाधि उचाल्दै आत्मविश्वास बटुलेको छ।

शनिबार मलेसियाको क्वालालम्पुरमा सम्पन्न फाइनलमा हङकङमाथि डकवर्थ लेविस (डिएल) नियमका आधारमा १३ रनको जित निकाल्दै नेपालले उपाधि उचालेको थियो। आइसिसी ट्वान्टी–२० विश्वकपको एसिया क्वालिफायर खेल्न लागेको नेपाललाई यो उपाधिले आत्मविश्वास प्रदान गर्नेछ। नेपालले आगामी बिहीबारदेखि मलेसियामा नै एसिया क्वालिफायर खेल्दै छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले १ सय २ रनको लक्ष्य प्रस्तुत गर्यो।  

पछिल्लो समय खराब ब्याटिङ गरिरहेको नेपाललाई यो लक्ष्य चुनौतीपूर्ण बन्न सक्थ्यो। जबाफी ब्याटिङमा उत्रिएको नेपालको सुरुआत पनि राम्रो हुन सकेन। लगातार दुई वाडइबाट खाता खोलेको नेपालले पहिलो बलमा नै ओपनर काजोल श्रेष्ठलाई शून्यमा नै गुमायो। इक्रा साहारले उनलाई एलबिडब्लु सिकार बनाएकी हुन्। यद्यपि, त्यसपछि इन्दु बर्मा र सीता रानामगरले इनिङ समाले। इन्दु १९ र सीता १३ रनमा क्रिजमा रहँदा लगातार वर्षा भयो। यससँगै खेल अगाडि बढ्न सकेन। डिएल नियमका आधारमा नेपालले २५ रन पायो र यो स्थिति नेपालको जितका लागि पर्याप्त बन्यो।

त्यसअघि ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभर नै खेल्दै ६ विकेटको क्षतिमा १ सय १ रनको मध्यम योगफल बनायो। यद्यपि, अन्तर्राष्ट्रिय क्रिकेटमा सय रनको आँकडा पार गर्न संघर्ष गर्दै आइरहेको नेपालका लागि यो चुनौतीपूर्ण थियो। हङकङको पनि सुरुआत राम्रो हुन सकेन र उसले सस्तैमा दुई विकेट गुमाउन पुग्यो। यस क्रममा ओपनरद्वय नतासा माइल्स ६ रन र मारिको टाबिथा खाता नखोल्दै पवेलियन फर्किए। यद्यपि, त्यसपछिका चार ब्याटरले ससानो योगदान दिँदै हङकङको इनिङ उकासे। यास्मिनी दश्वामीले ११ रन जोड्दा का चानले २९ रन जोडिन्।  

मरिना एन्टोनिया १९ रनमा पवेलियन फर्किंदा शानजिन सहजाद १४ रनमा नटआउट रहिन्। तल्लो क्रमकी इक्राले ८ बलमा एक चौकासहित नटआउट १० रन बनाइन्। यससँगै हङकङले सय रनको आँकडा पार गर्यो। एक समय हङकङले समालिएर खेल्दै इनिङ अगाडि बढाउँदा नेपालकी बलर खुसी डंगोलले विकेट लिँदै दबाब कम गराइन्। खुसीले १६औं ओभरमा मरिनालाई बोल्ड गरिन्। दुई ओभरपछि नै खुसीले लयमा देखिएकी का चानलाई बोल्ड गर्दै दोस्रो विकेट निकालिन्।  

यही ओभरमा उनले बिबी मर्यमलाई १ रनमा विकेटकिपर काजोलबाट क्याच आउट गराउँदै नेपाललाई खेलमा फर्काइन्। नेपालको बलिङमा तीन ओभरमा तीन विकेट लिएकी खुसीले आठ रन मात्र खर्चिइन्। कविता जोशी र अस्मिना कर्माचार्यको नाममा समान एक विकेट रहँदा अन्य विकेटविहीन रहे। जारी शृंखलामा पहिलो पटक अवसर पाएकी अस्मिना पनि किफायती रहिन्। उनले तीन ओभरमा आठ रन मात्र खर्चिइन्। फाइनलमा तुलनात्मक रूपमा बलिङमा मध्यम प्रदर्शन गरेको नेपालको ब्याटिङ भने वर्षाका कारण राम्रोसँग परीक्षण हुन पाएन।  

नेपालले अब अन्तिम अभ्यास खेल सोमबार थाइल्यान्डसँग खेल्ने क्यानले जनाएको छ। त्यससँगै नेपाल ट्वान्टी–२० महिला विश्वकपमा छनोट हुने आशासहित एसियाली क्वालिफायरमा होमिनेछ। एसिया क्वालिफायरमा रहेका १० टोलीमध्ये शीर्ष दुई राष्ट्रले ग्लोबल छनोटमा स्थान बनाउनेछन्। एसिया क्वालिफायरमा ट्वान्टी–२० विश्वकप खेलिसकेको थाइल्यान्डसँगै पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेका संयुक्त अरब इमिरेट्स (युएई) र मलेसिया छन्।  

यता, नेपालले भने पहिलो पटक विदेशी प्रशिक्षक भित्र्याए पनि ब्याटिङमा सुधार गर्न सकेको छैन। विश्वकप छनोटको तयारीका लागि नेपालले भारतीय प्रशिक्षक देविका पल्सिकरलाई नियुक्त गरेको थियो। एसिया क्वालिफायरमा नेपालको समूहमा युएई, आयोजक मलेसिया, कतार, भुटान र बहराइन छन्। समूह ‘बी’ मा भने चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन्। शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन्। फाइनलमा पुग्ने टोलीले भने दोस्रो चरणमा स्थान बनाउनेछन्।  

प्रकाशित: १० भाद्र २०८० ०१:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App