लिग्स कप २०२३ को उपाधी अर्जेन्टिनी स्टार लिओनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मायमीले जितेको छ। अत्यन्त रोमान्चक बनेको फाइनल खेलको निर्धारित समयमा १-१ को बराबरीमा गोल हुँदा खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। तर पहिलो ५ खेलाडीले ट्राइब्रेकर हानेपनि पुनः बराबरी भएपछि सडन डेथबाट खेलको छिनोफानो भएको थियो। जसमा इन्टर मायमी १०-९ गोलले विजयी भयाे।
सुरूकाे टाइब्रेकरमा नाशभिलका लागि रान्दाल लिएलले गरेको दोस्रो प्रहार गोलरक्षक ट्रेन्ट क्यालेन्डले बचाएका थिए। यता मायमीका भिक्टर उजोआले गरेको पाँचौ प्रहार नाशभिलका गोलरक्षक एलिएट पानिचोले बचाउँदा खेलको निर्णय सडन डेथमा लिनुपरेको थियो ।
त्यसपछि सबै खेलाडीले गाेल गर्दै गए। ११ औं प्रहारमा दुवै टोलीका गोलरक्षकले पेनाल्टी प्रहार गरेका थिए। मायमीका गोल रक्षक क्यालेन्डरले गोल गर्दा गोलकिपर इलियट पिकाउटको प्रयासलाई रोकेका थिए। र सोही प्रहार रोक्दा मायमीको जित सम्भव भएको थियो।
त्यसअघि खेलको २३ औं मिनेटमा मेस्सीले उत्कृष्ट गोल गर्दै मायमीलाई अग्रता दिलाएका थिए। तर नाशभिलका लागि ५७ औं मिनेटमा फाफा पिकाल्टले बराबरी गोल फर्काए ।
मेस्सीले कप्तानी गरेको इन्टर मायमीले इतिहासकै पहिलो उपाधि जितेको हो।
प्रकाशित: ३ भाद्र २०८० ०३:५५ आइतबार





