२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

कोलम्बिया पहिलो पटक क्वार्टरफाइनलमा

कोलम्बियाविरुद्ध बल अगाडि बढाउँदै जमैकाकी खादिजा सअ । तस्बिरः एपी

क्याटलिना युस्मेको गोल प्रेरणाबाट कोलम्बियाले जमैकामाथि १–० को साँघुरो जित निकाल्दै पहिलो पटक महिला विश्वकपको क्वार्टरफाइनलको यात्रा तय गरेको छ।

दुवै टोलीले नकआउट चरणमा पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिए पनि कोलम्बियाले ऐतिहासिक रूपमा अन्तिम आठको यात्रा तय गरेको हो। सन् २०१९ को विश्वकपमा छनोटसमेत नभएको कोलम्बियाले यस पटक भने उत्कृष्ट नतिजा जारी राखेको छ। दक्षिण अमेरिकी टोलीको सफलतामा १८ वर्षीया लिन्डा काइसेडोले प्रभावशाली प्रदर्शन गरेकी छिन्। रियाल मड्रिडकी स्ट्राइकर काइसेडोले जमैकामाथि गोल गर्न नसके पनि केही अवसर भने सिर्जना गरिन्। समूहचरणमा एउटा पनि गोल नबेहोरेको जमैकाको नकआउटमा भने डिफेन्सको परीक्षा रह्यो।

अब कोलम्बियाले आगामी शनिबार सिड्नीको स्टेडियममा युरोपियन च्याम्पियन इङ्ल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ। इङ्ल्यान्डले पनि सोमबार अफ्रिकन टोली नाइजेरियामाथि पेनाल्टी सुटआउटमार्फत जित निकाल्दै अन्तिम आठको यात्रा तय गरेको हो। खेलको ५२औं मिनेटमा कोलम्बियाले अग्रता लिएको थियो। एना गुजमेनको लामो पास नियन्त्रणमा लिँदै उस्मेले गोल गरेकी थिइन्। तेस्रो विश्वकपको खेलेको कोलम्बिया सन्  

२०१५ मा पनि अन्तिम १६ मा पुगेको थियो। तर, अमेरिकासँग २–० ले स्तब्ध हुँदै त्यसभन्दा थप यात्रा अगाडि बढ्न सकेन।

उक्त खेलमा जमैकाकी स्टार खादिजा सअ र काइसेडोको खेल कस्तो होला भन्ने सबैको ध्यान तानेको थियो। उक्त खेलमा उस्मेको गोल भने निर्णायक बन्यो। यद्यपि, खेलमा भने जमैकाले शारीरिक र आक्रमणमा पनि राम्रो खेल प्रस्तुत गर्यो। तर, गोल गर्न नसक्दा ऐतिहासिक यात्रा भने जारी राख्न सकेन। जमैकाकी खादिजाले गत सिजन म्यानचेस्टर सिटीबाट लिगमा २२ खेलबाट २० गोल गरेकी थिइन्। यस विश्वकपमा भने उनी गोलविहीन रहँदै बाहिरिन बाध्य भइन्। ‘हाम्रो खेलबाट गर्व गर्ने र शिर उचो बनाउने ठाउँहरू छन्,’ सअले खेलपछि भनिन्।  

पानामासँगको खेलमा सअ रातो कार्डका कारण मैदानबाहिर थिइन्। उक्त खेलमा जमैकाले १–० को जित निकालेको थियो। यता, फिटनेस समस्यामा देखिएकी काइसेडोले भने समूहचरणका दुई खेलमा नै गोल गर्दै आफ्नो प्रभाव छाडेकी थिइन्। समूहको अन्तिम खेलमा भने उनी गोल गर्न असफल रहिन्। त्यो खेलमा कोलम्बिया मोरक्कोसँग १–० ले  

पराजित भएको थियो। जमैकाले समूहको पहिलो खेलमा उत्कृष्ट डिफेन्स प्रस्तुत गर्दै उपाधि दाबेदार फ्रान्सलाई बराबरीमा रोकेको थियो। समूह सोही किसिमको उत्कृष्ट डिफेन्स प्रस्तुत गरेको जमैकाले कोलम्बियाविरुद्ध भने सो लय कायम राख्न सकेन। त्यस्तै अर्काे खेलमा फ्रान्सले मोरक्कोलाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको छ। 

प्रकाशित: २४ श्रावण २०८० ०१:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App