१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

एएफसी कप क्वालिफायरको दोस्रो चरणमा पुग्ने मच्छिन्द्रको लक्ष्य, तयारी तीव्र

दोस्रो पटक एएफसी कप क्वालिफायरको प्रारम्भिक चरण खेल्ने तयारीमा रहेको नेपालको शीर्ष डिभिजन क्लब मच्छिन्द्र फुटबल क्लबले आफ्नो प्रशिक्षणमा तिब्र्रता दिइरहेको छ।  

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स मैदानमा मच्छिन्द्रले प्रशिक्षण शुरु गरेको छ। एएफसी कप क्वालिफायरको प्रारम्भिक चरणको पहिलो खेलमा मच्छिन्द्रले भुटानको लिग च्याम्पियन पारो एफसीबिरुद्ध चुनौती प्रस्तुत गर्नेछ।

उक्त खेल आगामी साउन २३ गते दशरथ रंगशालामा नै हुँदैछ। मच्छिन्द्रले भने लिग च्याम्पियन भएर उक्त प्रतियोगिता खेल्न लागेको होइन। डेब्यु सिजनमा चर्च ब्वाइज क्लब लिग च्याम्पियन भए पनि एएफसी क्लब लाइसेन्स नहुँदा दोस्रो स्थानको मच्छिन्द्रले त्यो अवसर पायो। त्यससँगै मच्छिन्द्रले लगातार दोस्रो पटक एएफसी कप क्वालिफायरको प्रारम्भिक चरणको खेल खेल्ने भएको हो।

पहिलो सहभागिता भने मच्छिन्द्रका लागि सुखद भएन। प्रारम्भिक चरणको खेलमा नै मच्छिन्द्र श्रीलङ्काको ब्लु स्टारसँग २–० ले पराजित हुन पुग्यो र उसको यात्रा थप अगाडि बढ्न सकेन। यस पटक भने मच्छिन्द्र सुखद नतिजा ल्याउने आशामा रहेको प्रशिक्षक किशोर केसीको भनाइ छ। सबैले राम्रो मेहनत गरिरहेको र राष्ट्रिय टोलीबाट पनि खेलाडी आएकाले राम्रो टोली बन्नेमा आफू विश्वस्त रहेको प्रशिक्षक केसी बताउँछन्।

अघिल्लो सिजन मच्छिन्द्रले ब्लु स्टार विरुद्ध सुखद नतिजा निकाल्न नसक्दा प्रारम्भिक चरण पार गर्न सकेन। उक्त खेलमा मच्छिन्द्रले बल पोजेसन पनि आफ्नो नियन्त्रणमा राखेको थियो। तर, हार बेहार्‍यो। यस पटक भने मच्छिन्द्रले खेलाडी अनुबन्धन र तयारी राम्रो गरेकाले दोस्रो चरणमा पुग्ने प्रशिक्षक किशोर केसी बताउँछन्।

मच्छिन्द्रको टोलीमा कुल २३ खेलाडी अनुबन्धित छन्। यीमध्ये ९ जना गत लिगमा विभिन्न क्लबबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई मच्छिन्द्रले एएफसी कप क्वालिफायर्सको यात्राका लागि अनुबन्धित गरेको छ। प्रशिक्षक केसी समय थोरै भए पनि जतिसक्दो राम्रो तयारी गर्ने योजनामा छन्।

एक हप्ता फिजिकल र त्यसपछि ट्याक्टिकल पक्षमा ध्यान दिने प्रशिक्षक केसीले बताए। भुटानले पछिल्लो समय फुटबलमा राम्रो गरिरहेको छ। उनीहरूको यूथ लेभलको फुटबल निकै राम्रो रहेको प्रशिक्षक केसीको धारणामा छ। त्यसैले पनि पारोसँग सचेत रहेर राम्रो फुटबल खेल्ने प्रशिक्षक केसीको विश्वास छ।

यस पटक भने मच्छिन्द्रले पहिलो चरणको खेल जित्ने लक्ष्यका साथ लिगका चर्चित विदेशी खेलाडी र राष्ट्रिय टोलीका खेलाडीलाई केही समयका लागि भित्राएको छ। तीमध्ये मेसुके ओलामोउ, लाकेन लिम्बु, सनिष श्रेष्ठ र आयुष घलान हुन्। यो खेल जितेमा मच्छिन्द्रले साउथ जोनको दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ।

मच्छिन्द्रका कप्तान तथा गोलकिपर विशाल श्रेष्ठले प्रशिक्षकको योजना अनुरूप आफूहरूले मेहनत गरिरहेकाले लिगको भन्दा बलियो टोली बन्नेमा विश्वस्त रहेको बताए। आफूहरूलाई चाहिने पोजिसनमा पनि खेलाडी थपिएको र केही युवा खेलाडीहरू निकै राम्रो रहेकाले पारोसँगको प्रतिस्पर्धा उत्कृष्ट हुने कप्तान श्रेष्ठको विश्वास छ।

मच्छिन्द्रले यो खेल पनि जिते प्लेअफ राउण्डमा बङ्गलादेशको ढाका अबाहानी र मालदिभ्सको क्लब इगल्सबीचको विजेतासँग खेल्न पाउनेछ। मच्छिन्द्र पनि दोस्रो चरणमा पुग्ने लक्ष्यमा छ। यद्यपि, त्योभन्दा पहिलो पारोसँग खेलमा आफूहरू केन्द्रित रहने योजनामा छ।

प्रकाशित: १३ श्रावण २०८० १३:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App