७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

नासिरले सुधारे राष्ट्रिय कीर्तिमान

नासिर याह्या हुसेनले जापानको फुकुओकामा सम्पन्न विश्व पौडी च्याम्पियनसिपमा आफ्नो नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका छन्।

नेपाली टोलीसँगै फुकुओकामा रहेका नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले चार सय मिटर फ्रिस्टायलमा नासिरले राष्ट्रिय कीर्तिमान सुधार गरेको जानकारी दिए। नासिरले चार सय मिटर फ्रिस्टायलमा चार मिनेट ८.२३ सेकेन्ड समयका साथ नयाँ कीर्तिमान बनाएका हुन्। यसअघि नासिरको नाममा चार मिनेट १२.१७ सेकेन्ड समयको राष्ट्रिय कीर्तिमान कायम थियो। नासिरले उक्त कीर्तिमान गत असारमा आयोजना भएको ११औं एनएसए कप पौडी प्रतियोगितामा राखेका हुन्।

हिटमा नै छैटौं स्थानमा रहेका नासिर समग्रमा भने ४६औं स्थानमा रहे। कुल ५५ खेलाडीले प्रतिस्पर्धा गरेको प्रतिस्पर्धामा अस्ट्रेलियाका सामुल सर्ट फाइनलमा तीन मिनेट ४०.६८ सेकेन्ड समयका साथ स्वर्ण पदक जित्न सफल भए। ट्युनिसियाका अहमद हाफनाओयुईले रजत र जर्मनीका लुकास मार्टेन्सले कांस्य पदक जिते। अहमदले तीन मिनेट ४०.७० सेकेन्ड र लुकासले तीन मिनेटमा ४२.२० सेकेन्ड समय लगाए। यस च्याम्पियनसिपमा नेपालका चार खेलाडीले प्रतिस्पर्धा गर्दै छन्।

ओलम्पिकको छनोट प्रतियोगितासमेत रहेको च्याम्पियनसिपमा नासिरसँगै ओलम्पियन गौरिका सिंह, एलेक्जेन्डर शाह र डुवाना लामाले चुनौती प्रस्तुत गर्दै छन्। गत १४ जुलाई देखि सुरु भएको च्याम्पियनसिप आगामी जुलाई ३० सम्म सञ्चालन हुनेछ। नेपाली टोलीको प्रशिक्षकमा ओलम्पियन नयना शाक्य, टिम व्यवस्थापकमा नरेश वैद्य र अफिसियलमा सञ्जय शाह छन्। गौरिकाले भने २४ जुलाईमा एक सय मिटर ब्याक स्ट्रोक र नासिरले २ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन्।

त्यस्तै जुलाइ २५ मा डुवानाले २०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछिन्। गौरिकाले अर्को विधा ५० मिटर ब्याक स्ट्रोक जुलाई २६ मा खेल्नेछिन्। सोही दिन एलेक्जेन्डरले एक सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन्। २७ तारिख डुवानाले १०० मिटर फ्रिस्टायलमा र २८ तारिख एलेक्जेन्डरले ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: ८ श्रावण २०८० ०३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App