१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

राखेप सदस्य सचिव घिसिङ भन्छन्: बक्सिङमा पदकको इतिहास दोहोर्‍याउन पहल गरौं

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले बक्सिङमा इतिहास दोहोर्‍याउने भए क्रमभंगता आवश्यक रहेको बताएका छन्। 

नेपाल बक्सिङ संघको छैटौं साधारण सभा तथा अधिवेशनलाई बुधबार पोखरामा सम्बोधन गर्दै उनले बक्सिङको इतिहास दोहोर्‍याउन निरन्तरताले मात्र नपुग्ने भन्दै क्रमभंगता आवश्यक रहेको बताएका हुन्।

नेपालले ओलम्पिकमा बक्सिङबाट रजत पदक जितेर एउटा गर्विलो इतिहास बनाईसकेको छ। तर पछिल्लो समय त्यो इतिहास दोहोर्‍याउन सकिएको छैन। अब त्यही पदक जितेको इतिहास दोहोर्‍याउनुपर्ने उनले बताए। 

‘त्यो निरन्तरताले मात्र सम्भव छैन, त्यसैले बक्सिङमा क्रमभंगता आवश्यक छ,’ उनले भने।

सदस्य सचिव घिसिङले अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि बजेटको अभाव हुन नदिने तर आफूलाई परिणाम भने चाहिने बताए। 

अहिलेदेखि नै ओलम्पिकको तयारी थाल्न निर्देशन दिँदै उनले भने, ‘बजेटका हिसाबले तपाईँहरू ढुक्क हुनुस्। जति खर्च लागे पनि सरकारले बेहोर्छ तर रिजल्ट चाहिन्छ।’ 

उनले बक्सिङ संघको नेतृत्वलाई आफूले बक्सिङ खेलको सुधारका लागि बारम्बार दबाब दिएको र त्यस अनुरूप केही सुधारको प्रयास भइरहेको बताए।

‘मैले पहिलेदेखि नै खेलाडीका लागि अन्तर्राष्ट्रियकरण कोच र अन्तर्राष्ट्रिय एक्सपोजर चाहियो भन्दै आएको छु,’ उनले भने, ‘त्यसलाई केही हदसम्म सम्बोधन गरेर अन्तर्राष्ट्रिय कोच आईसक्नु भएको छ। अब अन्तर्राष्ट्रिय एक्सपोजर पनि चाहियो।’ 

सदस्य सचिव घिसिङले बक्सिङको विकासका लागि नेतृत्वमा हानथाप मात्र नगरी कार्ययोजना सहित छलफल गर्न आग्रह गरे। ‘बक्सिङको विकासको योजना के? खेलाडी उत्पादन कसरी गर्ने हो? त्यसबारे कार्ययोजना बनाएर अभ्यासमा लैजानुस्,’ उनले भने। उनले बक्सिङलाई तल्लो स्तरबाटै लैजानुपर्ने भन्दै त्यसका लागि १२–१४ वर्षको उमेर समूहलाई केन्द्रित गरेर प्रशिक्षण सुरु गराउनुपर्नेमा जोड दिए। त्यस्तै प्रत्येक प्रदेशमा बक्सिङ एकेडेमी सञ्चालन गर्न पनि उनले सुझाव दिए।

नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङले खेलाडी उत्पादनका लागि खेल संघहरुमा स्थायित्व हुन जरुरी रहेको बताए। उनले खेलकुदमा राज्यको लगानी न्यून रहेको बताउँदै भने, ‘नेपालको खेलकुद बचाएको खेलाडी र उनीहरुको परिवारले हो।’

नेपाल ओलम्पिक कमिटीका सह महासचिव पिताम्बर तिमिल्सिनाले पहिलेको चार्मिङ फर्काउनुपर्ने चुनौतीपूर्ण अवस्थामा बक्सिङ संघ रहेको बताए। 

‘बक्सिङमा पहिलेको जस्तो चार्मिङ अहिले छैन। त्यो चार्मिङ फर्काउन अबको कार्यसमिति सक्षम हुनेछ भन्ने विश्वास गर्दछु,’ उनले भने।

नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले बक्सिङलाई नयाँ उचाइमा पुर्‍याउन आफू नेतृत्वको समिति दिनरात नभनी खटिईरहेको बताए। कार्यक्रममा पुराना बक्सर पुष्करराज पन्तले ‘नेपालमा बक्सिङ हिजो, आज र भोलि’ विषयमा प्रस्तुति राखेका थिए।पोखरामा बुधबार सम्पन्न हुने नेपाल बक्सिङ संघको अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ। वर्तमान अध्यक्ष अवालेकै नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्ने प्रयास भइरहेको छ।

प्रकाशित: ३ श्रावण २०८० ०८:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App