१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

‘धेरैभन्दा धेरै म्याच एक्सपोजर आवश्यक’

बंगलादेशविरुद्ध मैत्रीपूर्ण फुटबल सिरिज जित्दै स्वदेश फर्किएको नेपाली महिला फुटबल टोलीका प्रशिक्षक अनन्त थापाले १९औं एसियाडको राम्रो तयारी गर्न धेरैभन्दा धेरै म्याच एक्सपोजर आवश्यक रहेको धारणा राखेका छन्।

घरेलु टोली बंगलादेशसँग मैत्रीपूर्ण फुटबल सिरिज जितेर सोमबार स्वदेश फर्किएको नेपाली टोलीका प्रशिक्षक थापाले चीनमा आयोजना हुने एसियाडमा राम्रो प्रभाव छाड्न माथिल्लो स्तरका राष्ट्रसँग धेरैभन्दा धेरै म्याच एक्सपोजर आवश्यक रहेको औंल्याएका हुन्। एसियाडको तयारीस्वरूप नेपालले दक्षिण एसियाकै बलियो टोली बंगलादेशसँग दुईवटा मैत्रीपूर्ण खेल खेलेको थियो। सो क्रममा नेपालले पहिलो खेलमा १–१ को बराबरी नतिजा सामना गर्दा आइतबारको दोस्रो खेल भने टाइब्रेकरमा ४–२ गोलले जित्दै बंगलादेशविरुद्ध सिरिजको ट्रफी उचाल्यो।

दोस्रो खेलमा वैकल्पिक गोलकिपरका रूपमा मैदान प्रवेश गरेकी अञ्जना रानामगरले दुई पेनाल्टी बचाएपछि नेपालले रोमाञ्चक जित निकालेको हो। सोमबार स्वदेश फर्किएको नेपाली टोलीका प्रशिक्षक थापाले पर्याप्त म्याच एक्सपोजर पाउन सकेमा एसियाडका लागि राम्रो तयारी हुने धारणा राखे। थापाले साफको च्याम्पियन टोली बंगलादेशविरुद्ध आफ्नो टोलीले गरेको जुझारु प्रदर्शनले आगामी खेलमा नेपाली खेलाडीको आत्मबल बढाउने विश्वास व्यक्त गरे।  

‘यो प्रतियोगिताका लागि उनीहरू करिब एक महिनादेखि तयारी गरिरहेका रहेछन्। हामीले करिब तीन दिन मात्र अभ्यास गरेका थियौं। त्यसका बावजुद हामीले राम्रै नतिजा प्राप्त गरेका छौं। हाम्रा खेलाडीले जुझारु रूपमा प्रदर्शन गरे। यो सबैभन्दा सकारात्मक पक्ष हो,’ प्रशिक्षक थापाले भने, ‘यस किसिमका नतिजाले टोलीलाई आगामी दिनमा समग्र टोलीकोे हौसला बढाउँछ।’ तुलनात्मक रूपमा नेपाली टोलीमा केही सुधार भएको उल्लेख गर्दै प्रशिक्षक थापाले फिटनेसमा केही समस्या देखिएको बताए। ‘टोलीमा केही सुधार भने भएको छ। तर पनि हामीले कम्बिनेसन र फिटनेसमा केही काम गर्नुपर्ने देखिएको छ,’ उनले भने।

प्रशिक्षक थापाले भने, ‘एसियाडमा खेल्ने टोलीको स्तर धेरै माथि हुनेछ। त्यसैले हामीले पनि सोहीअनुसारको तयारी गर्नुपर्छ। थाइल्यान्डजस्ता टोलीहरूसँग म्याच एक्सपोजर पाए यो टोलीले राम्रो प्रदर्शन गर्न सक्छ भन्नेमा म विश्वस्त छु।’ नेपाली महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बा एसियन गेम्समा बंगलादेशभन्दा कठिन प्रतिद्वन्द्वीहरू सामना गर्नुपर्ने भएकाले टोलीमा धेरै सुधार गर्नुपर्ने आश्यकता रहेको बताउँछिन्।

उनले पनि अझ माथिल्लो स्तरको टोलीविरुद्ध म्याच एक्सपोजर पाएमा एसियाडको तयारी राम्रो हुने विश्वाव व्यक्त गरिन्। ‘बंगलादेश राम्रो टोली हो। उनीहरूविरुद्धको जितले टोलीमा आत्मविश्वास बढ्नेछ। यद्यपि, एसियाडका लागि यो प्रदर्शनले पुग्दैन। त्यहाँ बंगलादेशभन्दा कठिन प्रतिद्वन्द्वहरू आउँछन्। त्यसैले हामीले धेरै पक्ष सुधार गर्नुपर्ने देखिन्छ,’ कप्तान सुब्बाले भनिन्। उनले पनि आफ्नो टोलीलाई म्याच एक्सपोजर दिन सके आगामी दिनमा सकारात्मक दिन आउने विश्वास व्यक्त गरिन्।  

नेपाली टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले पछिल्ला साफमा भएका गल्तीहरू कम गर्दा बंगलादेशविरुद्ध जित सम्भव भएको बताइन्। ‘हाम्रो प्रतिद्वन्द्वीको राम्रो पक्षभन्दा पनि हाम्रो राम्रो पक्षलाई ध्यान दिएर खेल्यौं। उनीहरू सबै एकैनासका युवा टोली थिए र जो ९० मिनेट नै नथाकी खेले। यद्यपि, हामीले हाम्रो योजनाअनुरूप खेल्यौं र सफल पनि भयौं,’ सावित्राले भने, ‘हामी एसियाड खेल्दै छौं। यो स्तरको खेल खेल्न पाउनु ठूलो अवसर हो। चीनमा हामीले आफूलाई परीक्षण गर्नेछौं। त्यहाँबाट सिकेर अगाडि बढ्न सके नेपाली महिला फुटबल अर्को स्तरमा पुग्नेछ।’

उनले एसियन गेम्स खेल्न पाउनु नै आफूहरूका लागि ठूलो अवसर भए पनि त्यो प्रतिस्पर्धाले गर्दा नेपालको वास्तविक खेलस्तर कस्तो रहेछ भन्ने प्रमाणित गर्ने धारणा राखिन्। नेपाली टोलीकी स्ट्राइकर सावित्राले पुरुषको जस्तै युथ र सिनियर लेभलको लिग गरेमा महिला फुटबलको भविष्य राम्रो रहेको संकेत गरेकी छन्। साथै सिनियर टोलीको म्याच एक्सपोजर पनि उत्तिकै आवश्यक रहेको सावित्राले औंल्याइन्।  

प्रकाशित: २ श्रावण २०८० ०१:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App