५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

नेपालको लज्जास्पद हार

ब्याटिङ र बलिङमा निराशाजनक प्रदर्शन गरेपछि जारी एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारत ‘ए’विरुद्ध लज्जास्पद हार सामना गरेको छ।  

श्रीलंकाको कोलम्बोमा सोमबार भएको समूह ‘बी’ को आफ्नो दोस्रो खेलमा ब्याटिङ र बलिङ दुवैमा खराब प्रदर्शन गरेपछि नेपालले भारत ‘ए’सँग ९ विकेटको लज्जास्पद हार बेहोरेको हो। यो हारसँगै जारी प्रतियोगितामा नेपालको यात्रा समूहचरणमा नै समाप्त भएको छ। पहिलो खेलमा पाकिस्तानसँग पराजित रोहित पौडेलको कप्तानीमा रहेको नेपालले दोस्रो खेल पनि हार बेहोर्यो। चार राष्ट्र सम्मिलित यो समूहबाट भारत र पाकिस्तान शीर्ष दुईमा रहँदै सेमिफाइनलमा पुगेका छन्।  

पाकिस्तानले पनि सोमबार संयुक्त अरब इमिरेट्स (युएई) को ‘ए’ टोलीलाई १ सय ८४ रनले हराउँदै दोस्रो चरणको यात्रा तय गरेको हो। लगातार दोस्रो हारसँगै युएईको यात्रा पनि समूहचरणमा नै समाप्त भएको छ। अब समूहविजेताका लागि भारत र पाकिस्तानका ‘ए’टोलीले आगामी बुधबार खेल्नेछन्। यता, नेपालले पनि बुधबार नै सान्त्वना जितका लागि युएई ‘ए’विरुद्ध चुनौती प्रस्तुत गर्नेछ। सोमबार कोलोम्बोको खेट्टारमा स्टेडियममा टस जितेर पहिले ब्याटिङ गर्ने नेपालको निर्णय सही साबित हुन सकेन।

निकै खराब सुरुआत गरेको नेपाल ३९.३ ओभरमा १ सय ६७ रनमै समेटियो। जबाफी लक्ष्य पछ्याएको भारतले सुरुआतदेखि नै आक्रामक ब्याटिङ गर्दै २२.१ ओभरमा नै मात्र एक विकेटको क्षतिमा १ सय ७२ रन जोड्यो। ओपनरद्वय साई सुदर्शन र अभिषेक शर्माले १ सय ३९ रनको साझेदारी गर्दै भारतलाई जितनजिक पुर्याए। सुदर्शन ५८ रनमा अविजित रहँदा अभिषेक ८७ रनमा आउट हुन पुगे। कप्तान रोहितले १८.६ ओभरमा अभिषेकलाई कुशल मल्लद्वारा क्याच गराएका हुन्। अभिषेक र सुदर्शनले सुरुआतदेखि नै लगातार आक्रामक ब्याटिङ गर्दै नेपालका बलरमाथि दबाब बनाएका थिए।

यस क्रममा यो जोडीले ८६ बलमा नै सय रनको आँकडा पार गर्यो। सुदर्शनले ५२ बलमा एक छक्का र ८ चौका हिर्काए। ६९ बल खेलेका अभिषेकको इनिङमा १२ चौका र दुई छक्का रह्यो। पहिलो विकेट पतनपछि क्रिजमा आएका ध्रुव जुरेलले १२ बलमा २१ रन जोडे। सन् २०२२ को यु–१९ विश्वकप विजेता भारतीय टोलीका कप्तान यश धुलको नेतृत्वमा रहेको भारत ‘ए’टोलीमा रणजी ट्रफी र इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेका युवा खेलाडीको बाहुल्य छ।  

अनुभवी युवा टोलीले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्यो। नेपालले खाता नखोल्दै पहिलो ओभरको दोस्रो बलमा नै ओपनर कुशल भुर्तेललाई गुमाउन पुग्यो। त्यसपछि नेपाल समालिन नै सकेन र एकपछि अर्को विकेट गुमायो। ९.६ ओभरमा मात्र ३७ रन जोड्दा नेपाल पाँच ब्याटर पवेलियन फर्किसकेका थिए। यद्यपि, एक छेउबाट कप्तान रोहितले इनिङ समाल्दै नेपाललाई १ सय ५० रनको आँकडा पार गराए। सातौं विकेटका रूपमा पतन भएका रोहितले ६५ रन जोड्दा सात चौका हिर्काए। आठौं नम्बरका ब्याटर गुल्सन झाले ३८ रन जोड्दै रोहितलाई साथ दिए।

दुई विकेट पतनपछि क्रिजमा आएका रोहितले छैटौं विकेटका लागि सोमपाल कामीसँग ५३ रन र सातौं विकेटका लागि गुल्सनसँग ५४ रनको साझेदारी गरेका थिए। रोहित र गुल्सन क्रमशः सातौं र आठौं विकेटका रूपमा आउट भए। गुल्सनले ३० बलमा समान दुई छक्का र चौका प्रहार गरे। रोहित र गुल्सन आउट हुँदा ३५.१ ओभरमा नेपालको खातामा १ सय ६२ रन थियो। खातामा थप पाँच रन जोड्दा नेपालले बाँकी दुई विकेट पनि गुमाउन पुग्यो।

भारतको बलिङमा निशान्त सिद्दुले चार विकेट तथा राजवर्धन हङ्गरगेकरले तीन विकेट र हर्षित रानाले दुई विकेट लिँदै नेपालको इनिङ धराशयी बनाए। मानव सुथरको नाममा एक विकेट रह्यो। निशान्त र राजवर्धन चेन्नाई सुपर किङ्सका खेलाडी हुन् भने हर्षित कोलकाता नाइट राइडर्सबाट खेल्दै आएका छन्।  

प्रकाशित: २ श्रावण २०८० ०१:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App