२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मैत्रीपूर्ण खेल जित्नेमा प्रशिक्षक विश्वस्त

नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा जित निकाल्नेमा विश्वस्त रहेको बताएका छन्।

असोज ६ बाट चीनमा हुने १९औं एसियाली खेलकुदको तयारीमा रहेको नेपालले फिफा ब्रेकमा बंगलादेशमा दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो। जसअन्तर्गत नेपालले पहिलो खेल असार २८ र दोस्रो खेल असार ३१ गते खेल्ने तालिका छ। प्रशिक्षक थापाले शुक्रबार एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेका थिए। यस पटक टोलीमा गीता राना, प्रीति राई र अञ्जली वाइबाले पुनरागमन गरेका छन्।  

‘हामीले राम्रो तयारी गरेका छौं,’ थापाले भने, ‘हामी पछिल्लो समय लगातार अन्तर्राष्ट्रिय खेल खेलिरहेका छौं। हामीले भारतविरुद्ध मैत्रीपूर्ण खेल खेल्यौं। त्यसपछि आफूभन्दा धरै माथिको टोली भियतनाविरुद्ध पेरिस ओलम्पिक छनोट २०२४ खेल्यौं। लगातारको खेलका कारण खेलाडीहरू लयमा छन्। केही प्र्रमुुख खेलाडीले चोटपछि पुनरागमन गरेका छन्। जुन निकै सुखद पक्ष हो। यो खेल एसियन गेम्सको तयारी गर्न हाम्रा लागि राम्रो अवसर हो।’

नेपालले गत असोजमा नेपालमै सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशको सामना गरेको थियो। जहाँ बंगलादेशलाई ३–१ को नतिजा सुम्पिँदा नेपाल उपविजेतामा सीमित भएको थियो।

‘बंगलादेश निकै राम्रो टोली हो,’ थापाले भने,‘बंगलादेशले पछिल्लो समय आफूलार्ई दक्षिण एसियाली फुटबलमा दाबेदार टोलीका रूपमा प्रस्तुत गरिरहेको छ। उनीहरूले उमेरसमूहमा पनि राम्रो प्रदर्शन गरिरहेका छन्। तर अहिले नेपाली टोलीमा धेरै सुधार आइसकेको छ। हामीले धेरै खेल खेलिसकेका छौं र माथिल्लो स्तरको टोलविरुद्ध अनुभव बटुलिसकेका छौं। अब त्यो अनुभवलाई नतिजामा उतार्ने अवसर आएको छ।’  

यद्यपि विभागीय क्लब एपिएएफले अखिल नेपाल फुटबल संघ (एन्फा) आफूहरूको मागमा मौन बसेको भन्दै महिला खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी हुन नदिने निर्णय गरेको थियो। जसले महिला टोलीको प्रशिक्षण प्रभावित बनेको थियो। गत मंगलबार मात्र एपिएफ आफ्ना खेलाडीलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पठाउन सहमत भएको थियो।  

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बालगोपाल महर्जनलाई प्रशिक्षणको जिम्मा दिन तयारी गरे पनि एन्फाले अनन्तलाई नै निरन्तरता दिएको थियो। जसले प्रशिक्षण नै अन्योलमा परेको थियो। महर्जनले गत वर्ष पहिलो चरण दौरान टोलीको प्रशिक्षण सम्हालेका थिए। 

‘मलाई एन्फाले सम्बन्धित खेलका लागि महिला टोलीको प्रशिक्षकमा नियुक्त गरेको हो,’ थापाले भने, ‘राखेपले कसलाई नियुक्त गर्यो त्यो मलाई जानकारी भएन। खेल संघले नै प्रशिक्षक नियुक्त गर्ने हो। मलाई एन्फाले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलपछि प्रशिक्षकबाट हट्नुस भनेको खण्डमा म टोलीमा हुनेछैन।’ 

प्रकाशित: २६ असार २०८० ०१:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App