१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

दशौं राष्ट्रिय खेलकुद तयारीलाई दुई करोड रुपैयाँ

गण्डकी प्रदेश सरकारले आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै जिल्ला तथा प्रदेशस्तरीय खेलकुद प्रतियोगिताको लागि दुई करोड रुपैयाँ विनियोजन गरेको छ। 

आगामी २०८१ को मंसिरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका सुर्खेतमा आयोजना हुनेछ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशमै गण्डकी शीर्षस्थानमा रहँदै दशौंको लागि कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिएको थियो। तीन विभागीय क्लब पछि सात प्रदेशमा गण्डकी शीर्षस्थानमा उक्लिदैं इतिहास कोरेको थियो। त्यो इतिहासलाई कायमै राख्न प्रदेश सरकारले दशौं राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै दुई करोड रुपैयाँ छुट्टाएको हो।

प्रदेश खेलकुद परिषद्ले चालु आर्थिक वर्ष सकिनै लाग्दा विभिन्न प्रतियोगिता आयोजना गरेको छ। पछिल्लो तीन महिनालाई मात्रै हेर्ने हो भने खेलकुदका गतिविधि निकै धेरै भएका छन्। 

एथलेटिक्स प्रतियोगिता नवलपुरमा आयोजना गरियो। तेक्वान्दो पर्वतमा आयोजना गरिएको थियो। महिला भलिबल प्रतियोगिता पोखरा रंगशालामा सञ्चालित छ। त्यसैगरी स्क्वासको प्रदेशस्तरीय प्रतियोगिता समेत आयोजना गरियो।

निरन्तर प्रतियोगिताले खेलाडीलाई खेलमा ‘टच’ गराईराखेको छ। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्ने योजनासहित जिल्ला तथा प्रदेशस्तरीय खेलकुद प्रतियोगितालाई आवश्यक बजेट छुट्टाएपछि खेल सामाग्रीको लागि भने न्यून बजेट छ।

‘आर्थिक वर्ष २०८०/८१ को लागि दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्न आवश्यक प्रतियोगितात्मक कार्यक्रम गर्न दुई करोड बजेट हो,’ प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले भने, ‘आवश्यक बजेट अभाव भए सरकारसँग माग गर्छौ।’

दुई करोड रुपैयाँबाटै प्रतियोगितासँगै सम्बन्धित खेलको आवश्यक सामाग्री खरिद गर्ने उनको भनाई थियो। ‘छुट्टै सामान खरिद गर्नुभन्दा प्रतियोगिताकै समयका सामान ल्याउनु उचित देखिन्छ। बरु बजेट नपुगे सरकारसँग फेरी माग्छौँ,’ उनको भनाई थियो। पोखरा रंगशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिता सुरु गरिएको छ। भलिबलको इण्डोर हलभित्र गरिएको प्रतियोगिता पहिलो भएको दाबी समेत उनको छ।

प्रदेशस्तरीय जुनियर रनिङ शिल्ड प्रतियोगितासँगै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समेत आयोजना गर्ने उल्लेख गरेको छ। राष्ट्रपति रनिङशिल्ड गण्डकी प्रदेश तयारीको लागि २५ लाख रुपैयाँ छुट्टाइएको छ। जुनियर रनिङ शिल्डको लागि ७ लाख ५० हजार रुपैयाँ छ।  

प्रकाशित: १४ असार २०८० ०९:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App