२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

आशिषको डेब्यु गोलमा नेपाललाई सफलता

पाकिस्तानविरुद्ध बल अघि बढाउँदै नेपालका आशिष चौधरी। तस्बिर: साफ

आशिष चौधरीले राष्ट्रिय टोलीका लागि पहिलो गोल गरेको दिन मंगलबार नेपालले पाकिस्तानमाथि १–० को संघर्ष पूर्ण जित निकाल्दै भारतमा जारी साफ च्याम्पियनसिप २०२३ मा सुखद अन्त्य गरेको छ।

कान्तिरभा रंगशालामा अपेक्षाभन्दा केही फितलो प्रदर्शन भएको खेलमा नेपालका लागि आशिषले खेल सकिन १० मिनेट बाँकी रहँदा गरेको गोल निर्णायक बन्दा नेपालले १४औं संस्करणको साफअन्तर्गत समूहचरणको अन्तिम खेलमा सान्त्वना जित निकालेको हो।

यसअघि पहिलो खेलमा नेपाल कुवेतसँग ३–१ तथा दोस्रो खेलमा घरेलु टोली भारतसँग २–० गोलअन्तरले पराजित भएको थियो। सुरुआती दुई हारसँगै नेपालको अघिल्लो चरणको यात्रा समाप्त भएको थियो। सँगै लगातार दुई खेलमा पराजित भएको पाकिस्तान पनि समूहचरणमा सीमित भएको थियो। जारी प्रतियोगिताअन्तर्गत नेपालले तीन खेल खेल्दा दुई गोल गर्न सफल भयो भने पाँच गोल खान पुग्यो। नेपालसँगै बाहिरिएको पाकिस्तानले भने कुनै पनि विपक्षीको पोस्टमा एक गोल पनि गर्न सकेन।

आशिष चौधरीले राष्ट्रिय टोलीका लागि पहिलो गोल गरेको दिन मंगलबार नेपालले पाकिस्तानमाथि १–० को संघर्ष पूर्ण जित निकाल्दै भारतमा जारी साफ च्याम्पियनसिप २०२३ मा सुखद अन्त्य गरेको छ।

नेपालका लागि सान्त्वना जित दिलाउन आशिषले ८०औं मिनेटमा गोल गरेका थिए। उनले लकेन लिम्बुले उपलब्ध गराएको पासलाई पेनाल्टी क्षेत्रको बाहिरबाट प्रहार गर्दा बलले गोलको दिशा लिएको थियो। यो आशिषले नेपालका लागि गरेको पहिलो गोल हो। नेपालमा नै आयोजना भएको मैत्रीपूर्ण खेलमा उनले डेब्यू गरेका थिए।

जितका बावजुद समूह ‘ए’ को खेलमा नेपालको प्रदर्शन बिर्सनलायक रह्यो। सहिद स्मारक ‘ए’ डिभिजन सकिएलगत्तै बनेको टोलीको तयारी छोटो भएका कारण नेपालले अघिल्ला संस्करणभन्दा खराब नतिजाबाट गुज्रिन पुग्यो। मंगलबार पाकिस्तानमाथिको संघर्षपूर्ण जितबाट नेपालको तालिकामा तीन अंक भएको छ भने पाकिस्तान शून्य अंकमा रह्यो।

पाकिस्तानको यो लगातार १२औं हार हो। पाकिस्तान पछिल्लो पाँच वर्षयता लगातार पराजित रहेको छ। अन्तिम खेलअगाडि नै नेपाल र पाकिस्तान दुवै सेमिफाइनल पुग्ने सम्भावनाबाट वञ्चित भइसकेको अवस्थामा मंगलबार प्रतिष्ठाका लागि लडेका थिए।

तुलनात्मक हिसाबमा नेपालले खेल अवधिभर केही राम्रा अवसर बनाए पनि सदुपयोग गर्न सकेन। पहिलो हाफको ४१औं मिनेटमा मनीष डाँगीले उपलब्ध गराएको बललाई अनमार्क रहेका विमल घर्तीमगरले सदुपयोग गर्न सकेनन्। पाकिस्तानका गोलकिपर युसुफ बटले विमलले गरेको प्रहारलाई उत्कृष्ट बचाउ गरेका थिए।

यस्तै नवयुग श्रेष्ठले ५१औं मिनेटमा नजिकको दूरीबाट गरेको हेडर प्रयास खेर गएको थियो। ६८औं मिनेटमा देवेन्द्र तामाङले गरेको फ्रिकिक प्रहार पोस्टमा लागेर फर्किएको थियो। यस्तै एरिक विष्टले ७२औं मिनेटमा गरेको अर्को फ्रि–किक गोलपोस्टको दायाँ भागमा लागेर बाहिरिँदा नेपालको अर्को अवसर खेर गएको थियो।

नेपालका लागि सान्त्वना जित दिलाउन आशिषले ८०औं मिनेटमा गोल गरेका थिए। उनले लकेन लिम्बुले उपलब्ध गराएको पासलाई पेनाल्टी क्षेत्रको बाहिरबाट प्रहार गर्दा बलले गोलको दिशा लिएको थियो। यो आशिषले नेपालका लागि गरेको पहिलो गोल हो।

अन्तिमतिर पाकिस्तानी गोलकिपर युसुफ अगाडि बढेको अवस्थामा पनि नेपालले खाली पोस्टमा गोल गर्न सकेन। उता पाकिस्तान पनि केही अवसर सदुपयोग गर्न असफल भएको थियो। यससँगै समूह ‘ए’ बाट कुवेत समूहविजेता र आयोजक भारत उपविजेताका रूपमा अन्तिम चारमा प्रवेश गरेका छन्।

प्रतियोगितामा शनिबार सेमिफाइनल खेल हुनेछन् भने मंगलबार फाइनल खेल हुनेछ। जारी प्रतियोगितामा कुवेत र लेबनान आमन्त्रित टोलीका रूपमा सहभागी छन्।

प्रकाशित: १३ असार २०८० ०३:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App