८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

पोखरा रंगशालाभित्रको क्रिकेट मैदान स्तरोन्नति गर्न प्रदेश सरकारको चासो

पोखरा रंगशालास्थित क्रिकेट मैदान। फाईल तस्बिरः नागरिक

अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने अभियानले फेरी बजेट मार्फत प्राथमिकता पाएको छ। बजेट मार्फत सम्बोधन भएसँगै पोखरा रंगशालाभित्रको क्रिकेट मैदानलाई स्तरोन्नति गर्ने चासो गण्डकी प्रदेश सरकारले देखाएको छ।

प्रदेश सरकारले अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत ५० लाख रुपैयाँ छुट्टाएको छ। छुट्टाइएको बजेटले नयाँ अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन आवश्यक सम्भाव्य अध्ययन गर्ने प्रदेश खेलकुद परिषद् गण्डकीले जनाएको छ। तर परिषद्ले पोखरा रंगशालाभित्रकै क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियकरण बनाउने तर्फ छलफल अगाडि बढाएको छ।

खेलकुद ऐन २०७५ बनेसँगै जिल्ला खेलकुद विकास समितिलाई प्रदेश खेलकुद परिषद् मातहतमा ल्याउने निर्णय भइसकेको छ। निर्णयसँगैे जिल्ला खेलकुद विकास समितिको कार्यालय सञ्चालनको लागि प्रदेश सरकारले ५० लाख ५५ हजार रुपैयाँको बजेट छुट्टाएको छ। जिल्ला खेलकुद विकास समिति प्रदेशको मातहतमा आइसकेपछि रंगशालाभित्रको खेलकुद पूर्वाधारको संरक्षण र सम्बद्र्धन गर्ने प्रदेश खेलकुद परिषद्ले उल्लेख गरेको छ।

‘पोखरा रंगशालाभित्रको क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियकरण बनाउन राष्ट्रिय खेलकुद परिषद्सँग आवश्यक छलफल भइरहेको छ,’ प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले भने, ‘भइरहेको मैदानलाई स्तरोन्नति गर्न सहज हुन्छ। अन्तर्राष्ट्रियकरण मैदान बनाए अन्य जिल्लामा वैकल्पिक मैदान बनाउन सकिन्थ्यो।’ उनका अनुसार जिल्ला खेलकुद प्रदेश मातहतमा आउने भएपछि रंगशालाको पूर्वाधारको संरक्षण र सम्बद्र्धन गर्दै स्तरोन्नति गर्ने तर्फ प्रदेश सरकार र प्रदेश खेलकुद परिषद् गण्डकीले चासो दिएको हो।

प्रदेश खेलकुद परिषद्ले  प्रदेशस्तरीय क्रिकेट मैदान बनाउनुपर्ने खाँचो औल्याउँदै आएको छ। प्रदेशस्तरीय क्रिकेट मैदानको लागि ४० लाख रुपैयाँ छुट्टाएको छ। प्रदेश सरकारले पोखरा–३३ पशुपति घाटमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन डिपिआर समेत बनाइसकेको थियो। तर सेती नदीको कटान रोक्न मैदान निर्माण लागत भन्दा बढी खर्चिलो हुने देखिएपछि त्यसलाई फेज आउट गरिएको थियो। पशुपतिघाटको १७६ रोपनी क्षेत्रफलको जग्गा प्रदेश सरकारलाई भोगाधिकार प्राप्त भइसकेको थियो।

प्रदेशस्तरीय क्रिकेट मैदान बनाउन प्रदेश खेलकुद परिषद्ले शुक्ला गण्डकी नगरपालिका तनहुँमा आवश्यक जग्गा समेत हेरिएको जनाएको छ। ‘तनहुँमा पनि क्रिकेट मैदान बनाउन सकिने सम्भावना देखिएको छ,’ सदस्य सचिव शर्माले भने–‘सम्भावनाका ठाँउहरु हेरिसकेपछि आवश्यक प्रक्रिया अगाडि बढाउँछौं।’ प्रदेश सरकारले वैकल्पिक क्रिकेट मैदानको लागि पोखरा–१४ छिनेडाडाँस्थित बाच्छेबुडुवामा आवश्यक अध्ययन गर्न क्रिकेट संघले आग्रहसहितको ज्ञापनपत्र बुझाईसकेको छ। ज्ञापन पत्रमा पोखरा रंगशालाभित्रको क्रिकेट मैदानको स्तरोन्नति गर्नुपर्ने उल्लेख गरिएको छ।

पोखरा रंगशाला क्रिकेट मैदान बाहेक अन्य ठाउँमा थप दुई वटा क्रिकेट मैदान बनाउनुपर्ने सुझाव प्रादेशिक क्रिकेट संघ गण्डकीले दिएको छ। ‘पोखरा रंगशालाको क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियकरण स्तरोन्नति गर्ने र बाच्छेवुडुवाको सार्वजनिक जग्गामा वैकल्पिक क्रिकेट मैदान बनाउन सरकारको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाईसकेका छौं,’ प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष देवेनसन प्रजूले भने–‘पोखरामा अन्तर्राष्ट्रियकरण क्रिकेट मैदान भए पनि क्रिकेट खेलकै माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुग्छ।’

पोखरा रंगशालाभित्रको क्रिकेट मैदान स्तरोन्नति गर्न राष्ट्रिय खेलकुद परिषद्बाट बजेट छुट्टिएपनि कार्यान्वयनमा आएन। आवश्यक टेण्डर प्रक्रियामा लैजान राखेपको ढिलासुस्तीले पोखरा रंगशाला क्रिकेट मैदानको स्तरोन्नति हुनै नसकेको गुनासो रहँदै आएको छ।

प्रकाशित: १२ असार २०८० ०९:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App