१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

नेपालको अंकविहीन यात्रा कायमै

नेपाली टोली। फाइल तस्बिर

नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले किर्गिस्तानमा जारी काभा पुरुष भलिबल नेसन्स लिगमा लगातार चौथो पराजय भोगेको छ।

किर्गिस्तानको विस्केकस्थित चोलपोन एटिए कभर्डहलमा बिहीबार नेपाली टोली तुर्कमिनिस्तानसँग ३–१ को सेटमा पराजित भएको हो। यसअघि पहिलो खेलमा मंगोलिया र दोस्रो खेलमा किर्गिस्तानसँग समान ३–१ को सेटमा पराजित भएको नेपालले मंगलबार तेस्रो खेलमा इरानलाई ३–० को सोझो सेटमा नतिजा सुम्पिएको थियो।

पहिलो सेटमा १८–२५ को सहज नतिजा सुम्पिएको नेपालले त्यसपछिका सेटमा भने प्रतिस्पर्धात्मक खेल देखाए पनि खेल पक्षमा पार्न सकेन। प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट २५–२३ ले जित्दै खेलमा फर्किने संकेत देखाएको थियो।

तेस्रो सेटमा ६–१० ले पछि परेको नेपालले लगातार ५ अंक बटुल्दै ११–१० को अग्रता लिन सफल भए पनि त्यसपछि भने सम्हालिएको प्रदर्शन गर्न सकेन।२४–२३ ले अग्रता लिए पनि लगातार ३ अंक गुमाउँदा नेपालले तेस्रो सेट २६–२४ ले गुमाउन पुगेको थियो। १०–१० को बराबरीको स्थितिबाट लय गुमाएको नेपालले त्यसपछि खेलमा फर्कने प्रयास गरे पनि तुर्कमिनिस्तानलाई २०–२४ ले नतिजा सुम्पन बाध्य हुँदा जारी प्रतियोगितामा नेपालले लगातार चौथो हार भोग्न बाध्य बनेको हो। यससँगै नेसन्स लिगमा नेपाल अंकविहीन यात्रा कायमै रहेको छ।

यस्तै तुर्कमिनिस्तानले भने जारी प्रतियोगितामा पहिलो सुखद नतिजा निकालेको छ। पहिलो जितसँगै तुर्कमिनिस्तानले चार खेलबाट ३ अंक बटुलेको छ। यसअघि तुर्कमिनिस्तान, किर्गिस्तानको दोस्रो टोली, मंगोलिया र किर्गिस्तानसँग समान ३–१ को सेटमा पराजित भएको थियो। प्रतियोगितामा अब नेपालले शुक्रबार किर्गिस्तानको दोस्रो टोली तथा आइतबार उज्बेकिस्तानसँग अन्तिम खेल खेल्नेछ।

प्रकाशित: ८ असार २०८० ०२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App