१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
खेल

नेपोलीको उत्कृष्ट पनरागमन

रोम(एएफपी)– घरेलु मैदानमा १—० ले पछि परेको नेपोलीले शनिबार उत्कृष्ट पुनरागमन गर्दै लगातार छैटौं पटक इटालियन सिरी ‘ए’ को उपाधि जित्ने लक्ष्यमा रहेको युभेन्ट्सलाई १–१ को बराबरीमा रोकेको छ।

गोन्जालो हिग्विनको पूर्वक्लब भ्रमणमा रहेको मासिमिलियानो एलेग्रीको युभेन्ट्सले बराबरीका बावजुद दोस्रो स्थानको एएस रोमासँग ६ अंकको स्पष्ट अग्रता कायम राखेको छ। लिगमा आठ खेल बाँकी रहँदा युभेन्ट्सलाई भेट्टाउने रोमा एक मात्र सम्भावित टोली हो।

युभेन्ट्सले आफ्नो लयअनुसारको प्रदर्शन गर्न सकेन । प्रशिक्षक एलेग्रीले इटालियन कपको सेमिफाइनलमा नेपोली र च्याम्पियन्स लिगमा बार्सिलोनासँग प्रतिस्पर्धा गर्न खेलाडीले मिहिनेत गर्नुपर्ने बताए।

‘हामी कस्तो परिस्थितिबाट गुज्रिरहेका छौं यो टोलीले बुझ्नु जरुरी छ । मेसम्म हामी शीर्ष स्थानमा रहनुपर्छ । त्यसपछि हामीले नेपोलीमा गरेको खराब प्रदर्शन सबैले बिर्सनेछन्,’ युभेन्ट्सका प्रशिक्षक एलेग्रीले भने ।

युभेन्ट्सभन्दा १० अंकले पछि रहेको नेपोली तेस्रो स्थानमा छ र सीधै च्याम्पियन्स लिग खेल्नका लागि लाजियोसँग प्रतिस्पर्धा गरिरहेको छ । लाजियो ६० अंकका साथ चौथो स्थानमा छ । शीर्ष तीन टोलीले सीधै च्याम्पियन्स लिगमा स्थान बनाउनेछन् भने चौथो स्थानको टोली प्लेअफबाट गुज्रिनुपर्नेछ ।

नेपोलीका प्रशिक्षक माउरिजियो सारीले तीन अंक लिने राम्रो अवसर गुमाएको बताए । उनले थपे, ‘जित्न नसक्नु लज्जास्पद हो । हामीसँग जित्ने मौका पनि थियो ।’

युभेन्ट्सको जर्सीमा हिग्विन पहिलो पटक पूर्वक्लब फर्किएका थिए । दुई क्लबबीच सधैँ शत्रुतापूर्ण सम्बन्ध छ त्यसैले अर्जेन्टिनाका फरवार्ड मैदान प्रवेश गर्दा समर्थकले उनीविरुद्ध केही मिनेटसम्म निरन्तर ‘हुटिङ’ गरिरहे । 

तर, भ्रमणकारी टोलीले सन पाउलोको गुन्जाहटलाई शान्त बनाइदियो । सातौं मिनेटमा नेपोलीका रक्षकहरूले आफ्नो पोस्ट जोगाउन सकेनन् । कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै मिरालेम पिजानिकसँगको तालमेलमा जर्मनीका मिडफिल्डर सामी खेदिराले साबिक विजेता युभेन्ट्सलाई अग्रता दिलाए ।

त्यसपछि नेपोलीले खेल नियन्त्रणमा राखे पनि गोलका लागि ६० मिनेटसम्म कुर्नुप¥यो । बेल्जियमका विंगर ड्रिससँगको तालमेलमा कप्तान मारे हामसिकले विपक्षी गोलकिपर जियानलुइगी बुफोनलाई कुनै मौका नदिई बराबरी गोल फर्काए ।

गत सिजन ३६ गोल गरेका हिग्विन त्यही समर्थकमाझ खेल्दै थिए, जसले उनी युभेन्ट्ससँग ९ करोड ६० लाख अमेरिकी डलरमा अनुबन्धित भएपछि ‘जुडास’ को उपमा दिएका थिए । सुटुक्क मेडिकल जाँच गराउँदै हिग्विन युभेन्ट्ससँग अनुबन्धित भएका थिए ।

‘पूरा रंगशाला आफूविरुद्ध हुँदा खेल्न गाह्रो हुन्छ,’ युभेन्ट्सका प्रशिक्षक एलेग्रीले भने, ‘हिग्विनका लागि आजको राज सहज थिएन । तर, उनले राम्रो प्रदर्शन गरे ।’

एसी मिलान पनि १—० ले पछि परेको स्थिति उल्टाउँदै पेसकारासँग १–१ को बराबरी खेलेपछि युरोपियन लिग खेल्ने सम्भावना कायम राखेको छ । अंक गुमाएपछि भिसेन्जो मोन्टेलाको मिलान ३० खेलबाट ५४ अंकका साथ सातौं स्थानमा छ जुन युरोपियन लिग खेल्ने पाँचांै स्थानको टोलीभन्दा ४ अंकले मात्र पछि हो । प्रशिक्षक मोन्टेलाले भने, ‘हाम्रो लागि यो कठिन छ तर ढोका बन्दै भएको छैन ।’

जारी सिजन अविश्वसनीय टोलीका रूपमा रहेको एटलान्टाले जिनोवालाई ५–० ले हराउँदै पाँचांै स्थानमा उक्लिएको छ । भ्रमणकारी टोलीको जितमा पुनः एलेसान्द्रो गोमेज नायक बने । ह्याट्रिक पूरा गरेका गोमेजले १४ लिग गोल गरिसकेका छन् । ६०औं मिनेटमा माउरिको पिनिलाले रातो कार्डको सामना गरेपछि १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको जिनोवाविरुद्ध गोमेजबाहेक आन्द्रेय कोन्टे र माटिया कालाडाराले गोल गरेका थिए ।

 

               

प्रकाशित: २२ चैत्र २०७३ ०१:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App