१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

राजनीतिक दल कहिल्यै स्वतन्त्र हुँदैनन्: महामन्त्री शर्मा

.

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुनै पनि राजनीतिक दल कहिल्यै स्वतन्त्र हुन नसक्ने स्पष्ट पारेका छन्। बिहीबार कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै दलको नाम ‘स्वतन्त्र’ राखेर जनताको असन्तुष्टिलाई ‘क्याच’ गर्ने प्रयास ठगी भएको टिप्पणी गरे।

शर्माले २०७९ सालको निर्वाचनपछि केही मानिसहरूले पुराना दलको दिन गएको भन्दै दलहरूको औचित्यमाथि प्रश्न उठाएको चर्चा गरे। उनले भने, ‘पुराना दलको दिन गए भन्नु अहिले दलहरूको दिनै गए भन्नु हो। तर दलको विकल्प फेरि पनि दल नै हो। लोकतन्त्रको विकल्प पनि लोकतन्त्र नै हो।’

उनले कुनै पनि दल जन्ममितिको आधारमा पुरानो नहुने उल्लेख गर्दै दलहरूको नविनतम विचार, प्रवृत्ति र संस्कारमा आधारित हुनुपर्नेमा जोड दिए। ‘पुरानो भन्दैमा खराब र नयाँ भन्दैमा असल हुँदैन। राजनीतिका दर्शन, आर्थिक नीति, र सामाजिक दृष्टिकोण पुरानै बोकेर निर्वाचन आयोगमा नयाँ नाम दर्ता गर्नुले दललाई नयाँ बनाउँदैन,’ उनले थपे।

महामन्त्री शर्माले नेपाली कांग्रेसले देशलाई राणाशाहीबाट मुक्त गराउँदै नेपाली नागरिकलाई स्वतन्त्रता दिएको ऐतिहासिक तथ्य स्मरण गराए। ‘लेख्न, बोल्न, र दल खोल्न पाउने स्वतन्त्रता कांग्रेसकै योगदान हो,’ उनले भने। कुनै दललाई नरोज भन्ने अभिव्यक्ति जनतामाथि हुकुम भएको उनको तर्क थियो।

उनले भने, ‘कुनै दलमा लाग्न वा नलाग्न पाउने स्वतन्त्रता नेपाली नागरिकलाई कांग्रेसले दिलाएको हो। त्यसैले दलको पद्धतिको विरोध गर्ने मनोविज्ञानसँग हामी सहमत छैनौं।’

शर्माले उपनिर्वाचनमा कांग्रेसलाई मतदान गरेर सरकारलाई बलियो बनाउन आग्रह गरे। उनले कांग्रेस सरकारमा सहभागी मन्त्रीहरूको आत्मबल उच्च बनाउन र संविधानलाई सुदृढ गर्न कांग्रेसको जित आवश्यक भएको बताए।

सहकारी ठगी समस्याको विषयमा पनि उनले कांग्रेसको अडानले मजदुर र किसानहरूलाई न्याय दिलाएको उल्लेख गर्दै यसलाई निरन्तरता दिन कांग्रेसलाई सहयोग गर्न जनतालाई अपिल गरे।

प्रकाशित: १३ मंसिर २०८१ १९:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App